2021 March 05/ 10:25: 35pm

— कौशल गोपालवंशी
    अहिलेको समयमा मधेश र गुलामी एक अर्काको पर्यावाची शब्द हो । गुलामीको जन्जिरमा बाँधिएको मधेशलाई स्वतन्त्रताको अनुभूति गराउन गरिएको सबै प्रयासहरु खेर गएको देखिन्छ । स्वतन्त्रता सेनानीहरुको प्रयास किन बिफल भए त ? आखिर कारण के होला ?
एउटा उदाहरणसँग तुलना गर्दै यसको कारण पत्ता लगाउन सजिलो हुन्छ । एक सय जनाको परिवारलाई कुनै शासकले कैदी बनाएर जेलमा हालियो । समय बित्दै गयो, त्यहा कैदीहरुको पनि सन्तान जन्मियो । सन्तानलाई विगतको घटित घटनाको भनक पनि नलाग्न दिन शासकले उनीहरुको पूर्वजलाई हत्या गरिदियो । जस्तो कि शासकले प्रायः शासन गर्दै गरेको ठाउँको ईतिहास मिटाइदिन्छ । अब नयाँ सन्ततिलाई शुरुदेखि नै गुलामीको जन्जिरले बाँध्यो । उनीहरुको बरिपरि सबै जनाको हाथमा जन्जिर थियो । जसले गर्दा नयाँ सन्ततिहरुलाई जीवनमा स्वतन्त्रताको आभाष नै भएन । तर समय बित्दै जाँदा जन्जिरमा खिया लाग्न थाल्यो । शासकले खिया लगेको देखेर जन्जिर टुटन सक्ला भनेर सबैलाई सरसफाइ भई सफा बस्न भन्यो । यी कदमले ती कैदीहरुले आफ्नो हाथमा लागेको जन्जिर समेत सफा गरि जन्जिर टल्काउन थाले । जसको जन्जिर जति टल्किन्थ्यो त्यसलाई शासकले त्यति नै राम्रो व्यक्ति हो भन्ने गर्दथ्यो । जस्तो कि जसले जति शासकको चाकरी गर्छन् त्यति नै उसले स्यावश पाउँछन् । चाकरी नगर्नेलाई अटेरी गरेको, संस्कार नभेको व्यक्ति भन्छन् । जसको जन्जिरमा खिया लगेको त्यसलाई फोहरी, फटाहा, संकोचित मान्छेको संज्ञा दिने गर्दथ्यो । 
अब उनीहरुको विकास भनेको नै जन्जिरलाई टल्काउने भयो । उनीहरु पनि यसमै खुसी थिए । किनकि वरिपरिको सबै यस्तै थियो । पिढीमाथि पिढी आउँदै गर्यो । कसैले जिवनमा स्वतन्त्रताको अर्थ बुझेन, बुझे त केवल जन्जिर (चाकरी, गुलामीपन) लाई कसरी टल्काउने । जताततै चाकरीबाजको वातावरणमा हुर्केकालाई चाकरी नै धर्म हो, संस्कार हो लाग्न थाल्यो ।
अब यी पुस्तालाई कसरी स्वतन्त्रताको महत्व बुझाउने ? यो तरिकाले त यिनीहरु सधै गुलाम हुने हो । तिमी गुलाम छौं भन्ने कुरा बुझाउनलाई उसले आफ्नो जीवनलाई अर्कासँग तुलना गर्नु एकदम आवश्यक छ । म कति अगाडि पछाडि छु भन्ने बुझ्नलाई म आफूलाई अरु भिन्न ठाउँमा बसेकोसँग तुलना नगरी त थाहा हुन्न नि । तर दैवको खेल यहा सबै गुलाम छन्, चाकरीबाज छन्, कोसँग तुलना गर्ने नि ? गुलामी हटाउनलाई अर्का ठाउँको मान्छेसित तुलना गराउनै छ । जस्तो कि मधेशमा भएको गुलामी हटाउन तराई बहेकका जनतासँगको तुलना जरुरी छ । 
एक गाउँ एक देशको हैसियत राखेको मधेशको जनतालाई अन्त्य जानु पर्ने आवश्यकता पर्दैन । जसले गर्दा अधिकांश जनताले आफ्नो जीवनलाई अरुसंग दाँज्न पाएको छैन । हो म मान्न तयार छु कि कृषिलाई धारासायी बनाएपछि मधेशका युवाहरु विदेशिन गए । त्यहाँ जस्तो विकसित देशमा गएसि त विकसित नागरिकसँग आफ्नो जीवन तुलना गर्न मैका त पाएका छन् । हो यतिसम्म त ठिक हो तर, मधेशको गुलामी मनस्थितिबाट विदेश गएका युवाले त्यहाँ पनि कम्पनीको जन्जिरमै कैद भएका छन् । महिनामा मात्र एक चोटि कम्पनीको आवास स्थानभन्दा बाहिर निस्किन्छन् । समय तालिका यति कडा हुन्छन् कि घरपरिवारलाई पनि सधै फोनमा कुरा गर्न भ्याउँदैनन् । गएर त्यहाँको व्यक्तिसँग नजिक हुन पनि समय हुँदैन । अनि जीवनको तुलना त परको कुरा हो । 
फेरि कोही भन्ला कि भारतको सीमा नजिकै छ, त्यहाँबाट तुलना गरी दास मनस्थिति परिवर्तन हुन्छ । हो तर एउटा कुरा के छ भने मधेशसँग जोडिएको भारतीय क्षेत्र मधेशभन्दा पनि पिछडिएको छ, अनि त्यहाँबाट के तुलना गर्न सकिन्छ । कोही–कोही जो पढाइको सिलसिलामा बहिर गयो त्यो  यो दास मनस्थितिबाट माथी उठ्न खोज्दा उनीमाथी सबै किसिमको प्रहार गरेको देखियो । जसले गर्दा अरुले आँट्न नै सकेन । कसै कसैकोमा व्यक्तिगत परिवर्तन भयो । कसैले समाज परिवर्तन गर्न खोजेका पनि हुन् तर पूर्ण सफल भएनन् । कोही–कोही त परिवर्तन गर्छु भनेर आएकाहरु झन् कारागारको सिपाही बनेर आफ्नैमाथी शासन गर्न थालेका पनि छन् । 
दुःखद कुरा के छ भने यहाँ यस्ता कारागारको सिपाही बनेर आफ्नै माथि शासन गर्नेहरुको जमात ठूलो छ । यिनीहरु कुनै कांग्रेस, कुनै राप्रपा, कुनै समाजबदी, कुनै एमाले, कुनै जनमत त कुनै कोही त कोही जस्ता ब्राण्ड भएका कम्पनीको कारागारको सिपाही भएर मधेशी जनतालाई लगातार गुलामीको जन्जिरमा बस्न बाध्य तुल्याएका छन् । त्यहीं भएर अब मधेशी जनताले जन्जिर (चाकरी) लाई टलकाउने होइन तोडनु पर्छ ।
के किसान कृषिको जन्जिरमा बाँधिएका छन् त ?
जन्जिरले मान्छेलाई मार्दैन, जन्जिरले मान्छेलाई जिउँदो लास बनाउँछ । न त जिउन दिन्छ न त मर्न दिन्छ । केवल तडपाएर बाँच्न दिन्छ । हुन त किसान सबै अन्नदाता हुन् । तर नेपालमा यो लागू हुन्न । मैले आफ्नो खेतको हिसाब गर्दा औसत प्रति बिघा ८० मन धान (३२ क्विन्टल) उत्पादन हुन्छ भने खर्च चाहिँ ३० क्विन्टल जतिको लाग्छ । यहाँबाट यो साफ छ कि अहिलेको कृषिले किसानलाई न त जिउन दिन्छ न त मर्न दिन्छ । न त भोकै मर्छ न त हातमा नगद नै हुन्छ । न त बिना कपडाको हुन्छ न त राम्रो कपडा लगाउन सक्छ । न त सन्तानलाई मुर्ख बनाउँछन् न त राम्रो शिक्षा नै दिन सक्छ । 
यी सबै कुराले गर्दा यो भन्न सकिन्छ कि आधुनिकता बिनाको कृषि जीवन बरदान होइन अभिसाप हो । कृषिले किसानलाई जन्जिरमा बाँधेका छन्, जसले किसानको आउने सन्तति सधै व्यापारीको गुलाम बनेर बस्ने छन् । नेपालमा ८०% भन्दा बढी कृषि र वैदेशिक रोजगारीमा निर्भरता भएको देशको ५५.५८% वार्षिक बजेट गृह र रक्षा मन्त्रालयमा हुन्छ भने १०% भन्दा कम बजेट चाहिँ कृषिको लागि छट्टाएको हुन्छ । (मधेश दर्पण फिचर सेवा)