2020 October 21/ 09:42: 14am

डा. दुर्गाप्रसाद दाहाल
उपप्राध्यापक, महेन्द्ररत्न क्याम्पस, ताहाचल

विषयप्रवेश
शिक्षा मानव जीवनलाई सार्थक बनाउने माध्यम हो । यस मान्यतालाई आत्मसात् गर्दै मानिसका बाल्यावस्था, किशोरावस्था एवम् युवावस्थाका निम्ति प्राथमिक, माध्यमिक तथा उच्च शिक्षाको व्यवस्था गरिएको छ । शिक्षाद्वारा प्रत्येक नागरिकमा ज्ञान मात्र होइन एउटा कुशल नागरिकका रूपमा उत्तरदायित्वको बोध गराइन्छ । शिक्षाको माध्यमले देशको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक, ऐतिहासिक आदि वस्तुस्थितिको अध्ययन मात्र गरिँदैन, त्यसका साथसाथै शिक्षाको माध्यमबाट नयाँनयाँ वैज्ञानिक आविष्कारको जानकारी एवम् खोज अनुसन्धेय मार्गनिर्देश वा जिज्ञासासमेत प्राप्त हुन्छ । यति हुँदाहुँदै पनि शिक्षण प्रक्रिया भन्नाले आम मानिसले विषयगत शिक्षण प्रक्रियालाई मात्र सम्झन्छन् । त्यसैले शिक्षण प्रक्रियाप्रतिको आम मानिसको धारणा यान्त्रिक प्रकृतिको देखिन्छ । आम मानिसहरूले शिक्षण प्रक्रिया भन्नासाथ विषयगत शिक्षणको बुझाइमा सीमित रहेको देखिन्छ । पाठ्यक्रमद्वारा निर्धारित भई व्यावहारिक रूपमा उतार्नुपर्ने सीपहरूलाई जति महत्त्व दिनुपर्ने हो आज पाठ्यक्रम कार्यान्वयनका क्षेत्रमा अग्रसर सरोकारवाला व्यक्ति र निकायले त्यति महत्त्व दिन सकेको देखिँदैन । शिक्षाको मूल उद्देश्यसँग जोडिएका कतिपय विषयहरूको मर्मलाई कार्यान्वयनको तहमा पु¥याउन सकिएको छैन । यस्ता विषयहरू सरोकारवाला व्यक्ति र संस्थाहरूले ठम्याउन नसकेर तिनीहरूलाई शिक्षाको मूलधारमा समेट्न सकिएको छैन । पाठ्यक्रममा सूचनापरक ज्ञानहरूको साथै  अभिवृत्तिहरू, मूल्यहरू, दक्षताहरू, सीपहरू आदिको विकास पनि अपेक्षित हुन्छन् । यिनीहरू पनि हाम्रो साध्य हुनुपर्ने हो जसको प्राप्ति सूचनापरक जानकारी र ज्ञानद्वारा मात्र सम्भव हुँदैन । सूचनापरक जानकारीले साधनको कार्य गर्नुपर्छ । दक्षता, सीप, मूल्य आदिको विकास हाम्रो पाठ्यक्रमको साध्य हुनुपर्छ भन्ने मान्यताबाट अघि बढ्नु आजको आवश्यकता हो तर आज हामी बिस्तारै जीवनोपयोगी सीपलाई कुनै विषयगत सीपका रूपमा उभ्याउन अग्रसर हुँदै गएका त छैनौँ आम सरोकारवालाहरू यसतर्फ गम्भीर बन्न आवश्यक छ । यसलाई साधन वा गौण ठान्ने हाम्रो परम्परामुखी प्रवृत्तिमा सुधारको टडकारो आवश्यकता छ । जीवनोपयोगी सीप विकास कुनै खास विषयबाट प्रदान गर्ने सोचबाट यसको यथार्थ पर्गेल्न सकिन्न । यो कुनै एउटा विषयमा केन्द्रित हुँदैन बरू यो प्रत्येक विषयसँग अन्तर्घुलन भएको देखिन्छ अर्थात् जीवनोपयोगी सीपको विकासका लागि प्रत्येक विषयसँग जोडिएका सीप विकास गर्न आवश्यक देखिन्छ । यसका लागि सबै विषयका पाठ्य सामग्रीमा निहित मूल्यहरू, आदतहरू, अभिवृद्धिका लागि समुचित विकास गर्नुपर्छ  । यसले सबै विद्यार्थीहरूमा अन्र्तनिहित क्षमताहरूभित्र स्वतन्त्रता, लोकतन्त्र एवम् युगसापेक्ष जीवन मूल्यलाई सुदृढ गर्ने परम्परा स्थापित गर्दछ ।
जीवनोपयोगी सीपको अर्थ र विद्यार्थीमा अपेक्षित जीवनोपयोगी सीपका प्रमुख प्रकार 
एक्काइसौँ शताब्दीको वर्तमान युग प्रतिस्पर्धाको युग हो । प्रत्येक व्यक्तिमा समान किसिमको योग्यता सम्भव छैन । योग्यताका आधारमा नै एक व्यक्तिलाई अर्को व्यक्तिबाट भिन्न देखाउन सकिन्छ । यो सीप गुणवत्ता, प्रेरणा, उत्साह एवम् नेतृत्व क्षमता नै हो । कुनै पनि व्यक्तिको  व्यक्तित्वभित्र सामान्यतयाः व्यक्तिगत आदतहरू, मित्रवत् व्यवहार, सामाजिक गरिमा र आशावादी दृष्टिकोण सामेल हुन्छन् । अतः कुनै व्यक्तिले आफ्नो योग्यता एवम सीपको बलमा नै अर्को व्यक्तिका साथ प्रभावकारी सम्बन्ध कायम र विस्तार गर्दछ । आफ्नो सार्थकता सिद्ध गर्नमा सफल हुन्छ । व्यक्तिलाई जीवनोपयोगी सीपले आफू सामुन्ने सिर्जित चुनौती तथा आवश्यकताका बीच सफल र प्रभावकारी भूमिका निर्वाह गर्नका लागि सहयोग गर्दछ । विद्यार्थीमा अपेक्षित जीवनोपयोगी सीपभित्र प्रमुख रूपमा निम्नानुसारका सीपहरू समेटिन्छन् ः 
आत्मज्ञान ः आत्मज्ञान जीवनोपयोगी सीपको प्रमुख अङ्ग मानिन्छ । प्रत्येक व्यक्तिले आफूभित्र विद्यमान गुण, दोष, सबल एवम दुर्बल पक्षहरूको जानकारी प्राप्त गर्न सक्नु नै आत्मज्ञान हो । प्रत्येक विद्यार्थीमा आत्मज्ञानको भाव जागृत हुनासाथ  उसले आफ्नो जीवनको बाधक पक्षलाई पहिचान गर्न सक्छ । आफूभित्रको यस्तो खराबीलाई निराकरण गर्न सक्छ । आत्मज्ञानले विद्यार्थीमा सकारात्मक सोच विकास गर्न र नकारात्मक सोच परित्याग गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । आत्मज्ञानद्वारा विद्यार्थीमा आफ्नो पारिवारिक र राष्ट्रिय उत्तरदायित्व एवम मूल्यको पहिचान हुन्छ । सरोकारवाला व्यक्ति र संस्थाले विद्यार्थीभित्र आत्मज्ञानको क्षमता विकास गराउन आवश्यक छ । विद्यार्थीले जीवन र जगत्का बाह्य विषयवस्तु रटाइरहने तर उसको आन्तरिक पक्षतर्फ ध्यानाकर्षण गराउने तर्फ अग्रसर नगराउने प्रवृत्तिले आजको औपचारिक शिक्षातर्फ अरूचि पैदा हुन थालेको देखिन्छ ।  
समानुभूति ः  आफ्ना अगाडि अरूले महसुस गरेको अनुभूति आफूले पनि उस्तै रूपमा महसुस गर्नु वा अनुभूति गर्नु समानुभूति हो । समानुभूतिले मानव स्वभावको सकारात्मक पक्षलाई उद्घाटन गर्छ ।  यसले व्यक्तिलाई अरूको सुख दुःखमा सहभागी गराउँछ तथा उसको अनुभूतिलाई आफूमा समाहित गरेर सोच्छ । यस्तो भाव आफ्नो परिवारको सदस्यमा मात्र सीमित हुँदैन । यसप्रकारको जीवनोपयोगी सीपबाट मानवतावादी दृष्टिकोण अपनाएर हामीलाई एउटा सुयोग्य नागरिक बन्नमा सहयोग हुन्छ । यस्तो भावनाको विकासबाट समाजमा आपराधिक र स्वार्थी प्रवृत्तिका साथै अनैतिक आचरण न्यूनीकरण गर्न सकिन्छ । 
प्रभावकारी सम्प्रेषण कला ः कुनै व्यक्तिभित्र रहेका भाव र विचार अरूका सामु अभिव्यक्त नभएसम्म त्यसले सार्थकता प्राप्त गर्दैन । आफ्नो दृष्टिकोण प्रभावकारी ढङ्गबाट अरूका सामु पु¥याउनु पनि जीवनका लागि अत्यन्त उपयोगी सीप हो । कुनै विषयको सूचना दिन, कसैलाई प्रशिक्षित गर्न, कुनै विषयमा स्पष्ट पार्न, कुनै विषय प्रेषित गर्न र कसैलाई सहायता गर्नका लागि सम्प्रेषणको उपयोग गरिन्छ । सरोकारवाला व्यक्ति र संस्थाले विद्यार्थीको ज्ञानमा मात्र होइन उसको प्रभावकारी सम्प्रेषण कलामा पनि जोड दिन आवश्यक देखिन्छ । 
कुशल निर्णय क्षमता ः राम्रो चरित्र निर्माण एवम् राम्रो भविष्यका लागि व्यक्तिको भित्री निर्णय लिनका लागि क्षमताको सीप विकास गर्नुपर्छ । विद्यार्थीहरूमा अनेकौँ प्रकारका समस्या आउँछ जस्तै माध्यमिक शिक्षा उत्तीर्ण भएपछि विषय एवम् वर्ग छनोट गर्नमा तथा विद्यार्थी भविष्यमा जो व्यवसाय अपनाउन चाहन्छ त्यसमा उसको प्रगति तथा विकासका के के सम्भावनाहरू हुन सक्छन् । विद्यार्थीमा सम्यक् ज्ञान हुनुपर्छ जसबाट उनीहरूले उचित निर्णय लिन सक्षम हुन सकून् । 
समस्या समाधान सीप ः जीवन सधैँ एकनाश गतिमा अघि बढ्छ भन्ने छैन । जीवनमा अनुकूल तथा प्रतिकूल स्थितिहरू सामुन्ने आउँछन् । विभिन्न कठिनाइरूको सामना गर्दै मानिस अघि बढ्नका लागि मार्गप्रशस्त गर्नुपर्छ । जीवनमा कहिलेकाहीँ विषम परिस्थितिहरूलाई आफ्नो नियन्त्रणमा राख्नका लागि विभिन्न प्रकारका वैेकल्पिक समाधानको अवसर प्राप्त हुन्छ तर व्यक्तिभित्र यस्तो सीप विकसित हुनुपर्छ कि जुन विकल्प समय एवम् परिस्थिति अनुसार सर्वथा उपयुक्त होस् त्यसलाई ग्रहण गर्नुपर्छ । यसका लागि ज्ञानका साथै समस्या समाधान सीप सिकाउनका लागि सरोकारवाला व्यक्ति र संस्था अग्रसर हुनुपर्छ । 
आपसी मेलमिलाप ः जीवनमा सफल हुनका लागि आपसी मेलमिलाप आवश्यक छ । मेलमिलाप त्यो व्यक्तिसँग हुन्छ जसले आफूप्रति आफ्नै जस्तै गरी सकारात्मक विचार राख्दछन्  । व्यक्तिले सकारात्मक तथा रचनात्मक दृष्टिकोण राख्नासाथ उसको सम्पर्कमा आउनेहरूको एउटा संसार निर्मित हुन्छ जसले व्यक्तिलाई समाज र जनहितको कार्यमा प्रवृत्त गर्नमा सहायता गर्छ । अतः जब व्यक्तिका स्वभाव व्यक्तिगत पहिचान र स्वार्थको स्तरभन्दा माथि उठेर आफ्ना समकक्षी मित्रहरूका साथ उदार हृदय एवम परोपकारी विचारहरूको साथ सामञ्जस्य गर्न सक्षम  हुन्छन् । त्यतिखेर  अन्तर्वैयक्तिक सम्बन्धको प्रादुर्भाव हुन्छ र यस्ता व्यक्ति सबैका लागि सम्मानीय हुन्छ, यही सम्बन्ध अघि बढेर मित्रतताको रूप लिन्छ । 
आपसी मेलमिलाप व्यक्ति व्यक्तिका बीचको भरोसामा आधारित हुन्छ । अतः यसमा विश्वसनीयता, स्थिरता, सम्मान, निष्पक्षता, खुल्लापन, समता, निपुणता, इमानदारी, स्वीकृति तथा चरित्रका समावेश हुनुपर्छ । 
विश्लेषणात्मक चिन्तन ः यस प्रकारको सीपले हामीलाई कुनै स्थिति विशेषसँग जोडिएका सूचनाहरू, तथ्यहरू, अनुभवहरू आदिको विश्लेषण गर्नका लागि वस्तुनिष्ठ ढङ्गबाट विचार गरेर समायोजित निर्णय लिनमा सहायता प्रदान गर्दछ । मानव जीवनमा अनेकौँ घटना घट्छन् । कहिलेकाहीँ विषम सूचनाहरू प्राप्त हुन्छ । यस स्थितिमा सूचनाको प्रामाणिकता, विकल्पहरूलाई पहिचान गर्न, कारण जान्न तथा साक्ष्यहरूप्रति आफ्नो दृष्टिकोण निर्मित गरेर विश्लेषण गर्नुपर्छ । 
संवेगहरूमा समुचित नियन्त्रण ः मानिसले आफ्नो संवेगहरूमा नियन्त्रण राख्न सक्नुपर्छ । तीव्र संवेग जस्तै क्रोध तथा दुःख मनुष्यको स्वास्थ्य तीव्र सामाजिक परिवर्तनहरूले किशोरहरूबाट जीवन अपेक्षाहरू, मूल्यहरू तथा दृष्टिकोणहरूलाई पूर्ववत् मान्यताहरू एवम् नयाँ सोचका साथ सीप विकासमा बल दिनु आवश्यक हुन गएको छ । 
शिक्षकहरूका लागि अपेक्षित जीवनोपयोगी सीप
विद्यार्थीहरूभित्र विद्यमान सीप विकासका लागि शिक्षकले कार्य गर्दछन् अतः शिक्षकहरूमा पनि ती सीपहरूको विकसित गर्न आवश्यक हुन्छ जसबाट विद्यार्थीहरूमा जीवनोपयोगी सीप निर्माणको लक्ष्यलाई प्राप्त गर्न सकियोस् किनकि यसको पाठ्यक्रमको कयौँ प्रसङ्ग सांस्कृतिक पक्षमा संवेदनशील हुन्छ विद्यार्थीहरूको जीवनोपयोगी सीप विकास शिक्षाको व्यावहारिक पक्षहरूलाई उद्घाटित गर्नका लागि शिक्षकहरूमा अपेक्षित अर्थात् शिक्षकमा कम्तीमा निम्न जीवनोपयोगी सीपहरू विद्यमान हुनु आवश्यक देखिन्छ ः 
सम्प्रेषण सीप ः अध्यापक सदैव विद्यार्थीका सम्पर्कमा रहने भएकाले  शिक्षकमा सम्प्रेषण सीप राम्रो हुनु आवश्यक छ । शिक्षकले राम्रो सम्प्रेषण सीपको विकासका लागि निम्नानुसार कुरामा ध्यान दिनु  आवश्यक छ ।
(क) घनिष्ठ सम्बन्ध स्थापित गर्नु ः सम्प्रेषणका क्रममा अध्यापक र विद्यार्थीहरूका बीच परस्पर सम्मान र विश्वासका आधारित स्वाभाविक सम्बन्ध निर्माण गर्न सक्नुपर्छ ।
(ख)  सक्रिय श्रवण ः वक्ता के भन्दै छ र कसरी भन्दै छ भन्ने विषयमा शिक्षक गम्भीर हुन आवश्यक छ । यसका लागि कुशल वक्ता भएर मात्र पुग्दैन बरू ऊ सक्रिय श्रोता पनि बन्नुपर्दछ । जब शिक्षक वक्ताको रूपमा रहन्छन् विद्यार्थीले ध्यानपूर्वक सुन्नुपर्दछ जब विद्यार्थी बोल्छन् त्यतिखेर शिक्षकले राम्ररी सुन्नुपर्छ । शिक्षकले विद्यार्थीले बोलेका बेला उठाएका विषयमा थप सूचना प्रदान गर्न, परिमार्जन गर्न र स्पष्ट पार्नका लागि ध्यानपूर्वक उनीहरूका कुरा सुन्न आवश्यक छ । 
(ग) विद्यार्थीको हाउभाउमा ध्यान दिनु ः शिक्षकले शिक्षण गरिरहेका बेला विद्यार्थीको हाउभाउ र रूचिमा ध्यान दिनुपर्छ । यसले शिक्षकको सम्प्रेषण कार्यलाई प्रभावकारी बनाउँछ । उनीहरूको हाउभाउका आधारमा शिक्षकले आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउन, छोट्याउन र अन्त्य गर्ने निर्णय लिन सक्दछन् । 
(घ)  अन्तक्र्रियात्मक परिवेश निर्माण ः सम्प्रेषणका समयमा शिक्षणले आफ्नो विचार मात्र प्रस्तुत गर्नु हुँदैन । विद्यार्थीलाई उनीहरूका विचार पनि प्रस्तुत गर्न लगाउनु पर्छ । कक्षाकोठामा विद्यार्थीले बोलेका विषयमा केही प्रतिक्रिया दिनुपर्ने वा परिमार्जन गर्नुपर्ने भएमा शिक्षकले विद्यार्थीले बोल्दाबोल्दै रोकेर दिनु हुँदैन बरू  शिक्षकले आफ्नो प्रतिक्रिया  बुँदागत रूपमा टिपेर राख्नुपर्छ । अन्त्यमा मात्र आफ्नो प्रतिक्रिया प्रस्तुत गरेर शिक्षकले कक्षामा अन्तक्र्रियात्मक वातावरण निर्माण गर्नुपर्छ अर्थात् शिक्षकले वार्तालापमा एकाधिकार कायम गर्न खोज्नु हुँदैन । 
(ङ) खुल्ला प्रकृतिका प्रश्नोत्तर ः सम्प्रेषणका क्रममा शिक्षकले विषयवस्तुलाई निरपेक्ष ढङ्गबाट प्रस्तुत नगरी जीवन र जगत्सँग सम्बन्धित बनाएर खुल्ला प्रकृतिका प्रश्न गर्न सक्छन् । यसबाट विद्यार्थीले आफ्नो बोध क्षमता मात्र नभई सिर्जनात्मक क्षमतासमेत प्रस्तुत गर्ने अवसर प्राप्त गर्दछन् । प्रश्नोत्तरका माध्यमबाट शिक्षकले विद्यार्थीको मात्र नभई आफ्नो कुरा विद्यार्थीले  कति रूचिका साथ ग्रहण गरेका छन्  भन्ने ज्ञात हुन्छ । 
विद्यार्थीमा जीवनोपयोगी मूल्य विकास गर्ने सीपका लागि उपयुक्त वातावरणको निर्माण ः आजभोलि परम्परागत रूपमा नै मूल्यपरक शिक्षणका क्रममा शिक्षकले आफ्नो विचार, भावनालाई विद्यार्थीहरूमाथि जबरजस्ती थोपार्ने काम गरिएको पाइन्छ । यस्तो काम विद्यार्थीमा जीवनोपयोगी सीप विकासका दृष्टिले उपयुक्त ठानिँदैन । सामान्यतयाः निम्नानुसार परिवेशमा मात्र शिक्षकले विद्यार्थीमा जीवनोपयोगी मूल्य विकास गर्ने सीप विकास गर्न उपयुक्त ठानिन्छ ः 
(क) विद्यार्थीहरूको पृष्ठभूमिका साथै  उनीहरूका मूल्य मान्यता तथा विचारहरूको विविधतालाई ध्यान दिनुपर्छ । 
(ख) मूल्य प्रसङ्गहरूको चर्चा गर्दा शिक्षकले आफ्नो मूल्य वा पूर्वाग्रहको भावनालाई टाढा राख्नुपर्छ । 
(ग) शिक्षकले उपदेश दिने विधि अपनाउनु हुँदैन किनकि विद्यार्थीमा उपदेशात्मक विधिको गलत प्रभाव पर्दछ । 
(घ) शिक्षकले विद्यार्थीलाई कुनै पनि विचार वा मत अविश्वसनीय हुँदैनन् भन्ने विश्वास दिलाउनु पर्छ ।
(ङ) विद्यार्थीहरूको विचारलाई सुन्ने लोकतान्त्रिक वातावरण निर्माण गर्नुपर्छ । यस्तो वातावरणमा विभिन्न विचारहरूको चर्चा हुन्छ । यसरी विचारगत बहुलतालाई प्रोत्साहन गर्ने वातावरण भएमा  त्यसलाई सफल शिक्षण मान्न सकिन्छ । 
(च) शिक्षकले विद्यार्थीलाई समस्या रूपमा हेर्नु हुँदैन बरू उनीहरूका समस्यालाई समाधान गर्नका लागि सहयोगी बन्नुपर्छ ।  
संवेदनशीलताको सीप ः शिक्षकले विद्यार्थीहरूको समस्याहरूमाथि सहानुभूतिपूर्वक ध्यान दिने वातावरण निर्माण गर्नुपर्छ । यसबाट शिक्षकले विद्यार्थीहरूलाई जीवन र जगत्प्रतिको दृष्टिकोणलाई बुझाउन र व्यापक पार्न सहयोगी भूमिका निर्वाह गर्दछन् । उनीहरूका लागि आफ्ना संवेदनाहरू शिक्षकका सामु राख्ने सहज वातावरण भएमा शिक्षण प्रक्रिया प्रभावकारी बन्न सक्छ ।  
विद्यार्थीमा जीवनोपयोगी सीपको विकास गर्ने तरिकाहरू 
विद्यालयीय शिक्षा विद्यार्थीका लागि बहुआयामिक व्यक्तित्व विकासमा सहायक हुन्छ । त्यो ज्ञान सङ्कल्पना मूल्य एवम् सीपहरूमा आधारित हुन्छ, जसद्वारा केवल बौद्धिक विकास मात्र नभई व्यक्तिको  शारीरिक, मनोवैज्ञानिक तथा सामाजिक विकासको  पनि अपेक्षा गरिएको हुन्छ । पाठ्यक्रमको उचित शिक्षण विधि कुनचाहिँ हो । सामान्यतः शिक्षण विधिको निम्न दुई प्रकार हुन्छन् ः  पाठ्य सङ्क्रमीय विधि र पाठ्य सहगामी विधि ।
पाठ्य सङ्क्रमीय विधि ः पाठ्य सङ्क्रमीय विधिले मुख्य रूपबाट ज्ञानको पक्षमा बढी जोड दिने गर्छ । यो परम्परागत विधिका रूपमा स्थापिन रहेको छ । यसले केवल परीक्षा उत्तीर्ण गर्ने कुरालाई अभीष्ट बनाउँछ । यसले पाठ्यक्रमका  लक्ष्यहरूलाई प्रभावित गर्न पाउँदैन । यी लक्ष्यहरूलाई त्यही शिक्षण विधिबाट प्राप्त गरिन्छ । यसले विद्यार्थीलाई सुनाइबाट अघि बढाएर तिनीहरूको सोच्ने बुझ्ने तथा महसुस गर्ने तथा क्रियाशील हुने अवसर प्रदान गर्न सक्दैन । विषयवस्तुमा नै विद्यार्थीलाई केन्द्रित गर्दछ । 
पाठ्य सहगामी  विधि ः पाठ्य सहगामी विधिमा विद्यार्थीलाई विभिन्न गतिविधिहरूमा सहभागी हुने उपयुक्त अवसर प्रदान गर्ने अदभूत क्षमता हुन्छ । यसमा विद्यालयद्वारा आयोजित तथा निर्देशित सबै गतिविधिहरू समेटिन्छन् जुन नियमित पाठ्यक्रमद्वारा तथा अन्य तरिकाबाट सम्पादित हुन्छन् । यसबाट जनसङ्ख्या वृद्धि, विश्व आतङ्वाद, पर्यावरण प्रदूषणको  समस्याका साथै स्वास्थ्यसम्बन्धी अनेकौँ प्रकारका नयाँ रोगबाट उत्पन्न समस्यासँग लड्ने क्षमताको अभिवृद्धि गर्न सकिन्छ । यस विधिमा विभिन्न गतिविधिहरूका माध्यमबाट शिक्षण सिकाइमा सक्रिय सहभागिताको अवसर निर्माण गर्न सकिन्छ । यसबाट विद्यार्थीमा स्वास्थ्य दृष्टिकोण र अन्र्तवैयक्तिक सीपको विकास हुन्छ । यो सिकाइ अनुभवमा आधारित हुन्छ । 
निष्कर्ष 
पृथ्वीको सर्वश्रेष्ठ विवेकशील प्राणी भएकाले उसमा सोच्ने, सम्झने एवम् सार्थक जीवन जिउने कला विकासमा शिक्षाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । यस्तो कला जीवनोपयोगी सीपका माध्यमबाट विकसित हुन्छ तसर्थ सरोकारवाला व्यक्ति र संस्थाले जीवनोपयोगी सीपको विकास गरेको खण्डमा उनीहरूलाई सफल नागरिक बनाउन सकिन्छ ।  शिक्षकले आफ्नो विधिमा पारम्परिक शिक्षण प्रणालीलाई परिष्कृत परिमार्जित गरेर विद्यार्थीहरूमा अन्तर्निहित सीपहरूको विकास गर्नुपर्छ जसबाट एउटा विद्यार्थीभित्र अन्तर्निहित क्षमताका साथै आजको प्रतिस्पर्धी युगसापेक्ष जीवनोपयोगी सीप विकास गर्नुपर्छ । यसबाट उनीहरूमा  बहुआयामिक क्षमता पूर्ण नागरिक व्यक्तित्व निर्माण हुन सक्नेछ ।