2020 May 31/ 08:06: 53pm

यादव थापा
    प्राचीनकालदेखि नै विश्वमा विभिन्न किसिमका रोगका प्रकोपहरु देखा पर्दै आएका छन् । कुनै रोगले सीमित क्षेत्र र समयसम्म मात्र प्रभाव पार्दथ्यो भने कुनैले विश्वव्यापी महामारीको रुप लिएको अवस्था विगतको इतिहास घटना र बुढापाकाहरुको भनाईबाट थाहा पाइन्छ । औषधि विज्ञानले खोपको आविष्कार गर्नु अघि विश्वमा विफर, दादुरा, ठेउला लगायत विभिन्न रोगले महामारीको रुप लिएको र यसबाट ठूलो धनजनको क्षति हुने गर्दथ्यो । अहिले धेरै रोग विरुद्धको खोपहरु तयार र प्रयोग भइसकेको कारण विश्वमा मृत्युदरको अवस्था घट्दोक्रममा रहेको छ । तर स्वास्थ्य विज्ञानलाई नै चुनौती दिनेगरी समय समयमा विभिन्न नयाँ संक्रमित रोगहरु विश्वमा देखापरिरहेका छन् । विगत वर्षहरुमा अफ्रिकी महादेशका राष्ट्रहरुमा कहिले रुबेला त कहिले इबोला नामको संक्रमित रोगले धेरै मानिसहरुको मृत्यु हुन गएको थियो ।
कोरोनाको उत्पत्ति विस्तार र प्रभाव ः
    धेरै वर्षदेखि विश्वमा संक्रमण रोगको नियन्त्रण भएको अवस्थामा छिमेकी देश चीनको वुहान राज्यमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस नामको नयाँ भाइरस उत्पत्ति भयो । उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासको समस्याको लक्षणको रुपमा देखिएको यो भाइरसले सुरुका केहि दिनमा चीनको वुहान राज्य र आसपासमा प्रभाव र  असर देखाएपछि धेरै मानिसहरुमा संक्रमण भइ ठूलो संख्यामा मानिसहरु मर्न थालेको र अन्य देशहरुमा तीव्र गतिमा फैलिन थालेपछि यसले महामारीको रुप लिएको हो । चीनले संक्रमण फैलिएका आफ्नो अन्य शहरहरुलाई छिट्टै सिल गरी संक्रमण फैलिनबाट रोकेको र थोरै दिनमा नै दशौं हजार विरामीको उपचार गर्न सकिने नयाँ अस्पताल निर्माण गरेको कारण अन्य शहरहरुमा संक्रमण फैलिन रोकिएको थियो । सुरुको चिनियाँ भाइरस मात्र भनिएको यो भाइरसको अन्य देशमा पनि संक्रमण बढेपछि विश्व स्वास्थ्य संगठनले यसको नाम नोबेल कोरोना भाइरस (कोभिड–१९) नाम दिएको हो । 
    कोरोनाको प्रारम्भिक अवस्थामा विश्व जनमानसले यसरी संक्रमण विश्वव्यापी रुपमा फैलिन्छ भनेर अनुमान गर्न सकेनन्, जब कोरोनाको संक्रमण तिव्र गतिमा फैलिन सुरु भयो, अनि यसको रोकथाम र नियन्त्रण गर्न विकसित र शक्तिशाली राष्ट्रहरुलाई पनि धेरै कठिन भयो । कोरोना संक्रमणको पहिलो प्रहार र क्षति यूरोपियन राष्ट्र इटाली हुन पुग्यो, जुन राष्ट्रको स्वास्थ्य सेवालाई विश्वमा नै राम्रो मानिन्थ्यो, त्यहि कोरोनाले बढी मानिसको ज्यान लियो ।
    सुकेको खरमा आगो लागेझैं इटाली पछि यूरोपका अन्य देशहरु स्पेन, फ्रान्स, जर्मन, बेल्जियम, सबै देशहरुमा कोरोनाको संक्रमण फैलियो । कोरोना संक्रमणको पछिल्लो ठूलो असर अमेरिकामा देखिएको छ, जहाँ साठी हजार भन्दा बढी मानिसको ज्यान गएको छ । कोरोनाले अझै पछिल्लो समयमा बढी संक्रमण अफ्रिकी मुलुकहरुमा गराएको छ, भोक, रोग, अशिक्षा र गरिबीले ग्रसित प्रायः अफ्रिकी मुलुकहरु कोरोना संक्रमणको उर्बर भूमि बनि धेरै धनजनको क्षति हुने प्रबल खतरा देखिन्छ । 
    कोरोना संक्रमणको पछिल्लो अपडेट अनुसार अहिलेसम्म विश्वमा २ लाख ८० हजार भन्दा बढी मानिसको ज्यान गएको, ४१ लाख मानिसहरुमा संक्रमण भएको र १२ लाख ६० हजार मानिसहरु उपचारबाट निको भएको देखिएको छ । फेरि विश्व स्वास्थ्य संगठनले उपचारबाट निको भएका विरामीहरुमा पुनः संक्रमण बल्झन सक्ने चेतावनी दिएकाले विश्वले छिट्टै कोरोनाबाट मुक्त हुने अवस्था देखिँदैन ।
विश्वका विभिन्न मुलुकमा लकडाउनको घोषणा
    कोरोनाले विश्वलाई नै आतंकित र भयभित बनायो, सायद दोस्रो विश्वयुद्ध पछि ७५ वर्षको अन्तरालमा विश्व यति धेरै तरंगित भएको र यति धेरै मानिसहरुको ज्यान गुमाउनु परेको पहिलो अवस्था नै होला । कोराना भाइरस विरुद्धको खोप पत्ता लागि नसकेको अवस्थामा यसको संक्रमणलाई रोक्ने एकमात्र उपाय भनेको मानिसहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा जान रोकि जो जहाँ छ, त्यहि राखी भीडभाड कम गर्नु भएकोले विश्वका धेरै देशहरुमा लकडाउनको घोषणा गरियो । संक्रमणको अवस्था हेरेर प्रायः धेरै देशले एक हप्तादेखि सुरु गरेर दुई महिना र सोभन्दा बढी समय लक डाउन कायम गरेका छन् । हाम्रो छिमेकी देश भारतले पनि पहिलो चरणमै तीन हप्ता लामो लकडाउन गरेको र अहिले पनि चरणबद्धरुपमा लकडाउन गरिरहेको छ । नेपालको लकडाउन अवस्था पनि भारतले गर्ने लकडाउन र भारतमा कोरोना संक्रमणको अवस्थामा भर पर्दछ, किनकी तीनतिरबाट घेरिएको र खुला सिमाना र नाका भएको कारण भारतमा संक्रमण नियन्त्रण नभएसम्म नेपाल सुरक्षित हुन सक्तैन । 
नेपालमा लकडाउनको अवधिमा देखिएका दृष्यहरु
    विगतका वर्षहरुमा कुनै राजनैतिक दल वा समूह विशेषले आव्हान गरेको नेपाल बन्दको अभ्यास गर्दै आएका नेपाली जनताहरुलाई पहिलो पटक लागू गरेको लकडाउन नौलो प्रयोग थियो । त्यसैले लकडाउनको पहिलो चरणका प्रारम्भिक दिनहरुमा शहर बजारका चोकहरुमा मानिसहरुको जमघट हुन छाडेन । त्यसरी बजारका चोकमा विना काम जम्मा हुने तमासे समूह प्रहरी प्रशासनको कडाइ पछि क्रमशः घट्दै गएको थियो । लकडाउनमा घरभित्रै साथीहरुसँग तास खेल्ने र भोज खाने समूह पनि देखियो । पहिलो चरणको लकडाउनमा एक हप्ताको लागि प्रायः सबैले खाद्य सामानको जोहो गरेकोले सामान्य सहज अवस्थामा लकडाउन बितेको थियो । 
    लकडाउनको दोस्रो तेस्रो चरण हुँदै क्रमशः लम्बिदै गएपछि प्रायः न्यून आय भएका र दैनिक ज्याला मजदुरीबाट जीवन निर्वाह गर्ने समूह बढी मारमा पर्न थाल्यो । त्यसको लागि स्थानीय तहहरुले ती वर्गहरुलाई सम्बोधन गर्दै निःशुल्क खाद्य सामान वितरण गरेका थिए । कोरोनाले विश्वव्यापी संक्रमण फैलाउन थालेपछि विदेशमा रहेका नेपालीहरुको स्वदेश फर्कने लहर चल्यो भने स्वदेशभित्रै पनि काठमाडौंमा बसोबास गर्नेहरु आफ्नो घर फर्कन थाले । त्यसैले केहि दिनको अन्तरमा काठमाडौंबाट लाखौंको संख्यामा मानिसहरु आफ्नो गृह जिल्ला फर्केका थिए ।
    लकडाउन कसिलो हुँदै गएपछि र रोजगार बन्द भएपछि पछिल्लो समय केहि मानिसहरु काठमाडौंबाट चार पाँच दिनको बाटो हिँडेर पनि घर जान हिँडेको देखियो । त्यसरी हिडेर लामो यात्रामा जानेको लागि ठाउँ ठाउँमा विभिन्न संघसंस्था र दानी व्यक्तिहरुबाट खाजा खानाको व्यवस्था गरेर साहै्र सराहनीय र उदाहरणीय कार्य गरेको पनि देखियो । लकडाउनको चौथो चरणमा आईपुग्दा भारतबाट नेपाल फर्कने नेपालीहरुले सीमा नाकामा केहि दिन दुःख झेल्नुपरेको अवस्था केहि नरमाइलो र तितो लाग्ने खालको थियो । तर त्यो समस्या पनि केहि दिनपछि दुई देश बीचको समझदारीमा टुङ्गेको थियो ।
    लकडाउनले नेपालको आर्थिक क्षेत्रमा नराम्रो असर पारेको छ, प्रायः सबै व्यवसायहरु नराम्रोसँग थला परेका छन् । ठूलो तामझाम र तयारीका साथ घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्नुपरेको छ भने भ्रमणवर्षलाई लक्षित गरी होटल र पर्यटन क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुको अवस्था नाजुक भएको छ । त्यसैगरी लामो लकडाउनले गर्दा आफ्नो उत्पादन बजारसम्म पु¥याउन नपाउँदा कृषि क्षेत्रका दुग्ध, तरकारी, कुखुरापालक व्यवसायी नराम्रारी प्रभावित भएका छन् । त्यसैगरी कक्षा दशको माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायत विभिन्न तहका परीक्षाहरु स्थगित भएका छन् । वैशाखको पहिलो हप्ताबाट सुरु हुने नयाँ शैक्षिक सत्र अलपत्र परेको छ । यी सबै पक्षहरु क्रमशः सुल्झदै जानेछन्, खुशी र गर्वको कुरा नेपालमा मानवीय क्षति भएको छैन ।
कोरोना र लकडाउनको विश्वव्यापी सामाजिक र आर्थिक प्रभाव
कोरोना भाइरस र सो विरुद्ध गरिएको लकडाउनले विश्वको सामाजिक र आर्थिक क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यसले धेरै परिवारको संरचनालाई छिन्नभिन्न र ध्वस्त बनायो । अढाई लाख भन्दा बढी मानिसहरुको ज्यान गएको यो अवस्थामा कति टुहुरा, कति बेसहारा बने, व्यक्ति, परिवार, समाज र राष्ट्र–राष्ट्रको बीचको सम्बन्धमा यसले असर पु¥यायो । 
    कोरोना र लकडाउनले विश्वको अर्थतन्त्रमा पनि ठूलो धक्का पु¥यायो । प्रायः सबै देशका उद्योग, कलकारखाना बन्द हुँदा उत्पादनमा कमी भयो, लाखौं मजदुरहरु बेरोजगार भए, सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द हुँदा र तेल उत्पादक राष्ट्रहरुले तेलको उत्पादन घटाउँदा विश्वको अर्थतन्त्रमा लामो मन्दी देखिने छ । लकडाउनको अवधिभर सम्पूर्ण विश्व एक किसिमले ठप्प जस्तै भयो । विश्वले अब पूर्ववत् अवस्थामा पुग्न र अहिले क्षति भएको आर्थिक अवस्थालाई सुधार्न लामो प्रयत्न र समय खर्च गर्नुपर्छ ।
    विज्ञान र प्रविधिको भरपूर प्रगति र उपयोग गरेर आधुनिक सुविधाजनक र कृतिम जीवन बिताउने पाश्चात्य जगतको जीवनशैली भन्दा शारिरीक श्रमगरी प्रकृतिसँग नजिक रहेर प्रकृतिमै रमाउने पूर्विय जीवनशैली उत्कृष्ट देखियो । यूरोप र अमेरिकामा कृत्रिम जीवनशैलीमा हुर्केका मानिसमा प्रतिरक्षा शक्ति कमजोर भएकै कारण मानव क्षति बढि हुन गएको देखिन्छ भने प्राकृतिक जीवनशैली अनुसरण गरेका एशियाली राष्ट्रहरुमा कोरोनाको कारण मृत्यु हुनेको संख्या केहि कमी देखिएको छ । यस अर्थमा “ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ” भन्ने भनाई सार्थक हुन आएको देखिन्छ ।