2024 March 29/ 11:37: 46am

यादव थापा
    नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । भौगोलिक आकारमा सानो भएपनि प्राकृतिक रुपमा हिमाल, पहाड, तराई र विभिन्न लेकवेशी, ताल, गुफा, झरना, नदी, वन जंगल, जनावर आदिले सजिएको सुन्दर देश हो । नेपालको यहि अनुपम प्राकृतिक दृष्यबाट आकर्षित भएर वर्षेनि धेरै पर्यटकहरु नेपाल भ्रमण गर्न आउने गर्दछन् । त्यसैगरी नेपाल सरकारले पनि विदेशी पर्यटकहरुलाई धेरैभन्दा धेरै संख्यामा भित्र्याउन नेपाल भ्रमण वर्ष भनेर आकर्षक नारा र प्याकेजको कार्यक्रम ल्याउने गरेको छ । यस वर्षलाई पनि सरकारले ‘भिजिट नेपाल २०२०” भनि नेपाल भ्रमण वर्षको सुरु गरेको हो ।
    यसअघि पनि सन् १९९५ लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरी विदेशी पर्यटकहरु भित्र्याउन प्रयास गरेको थियो । पर्यटकहरुलाई आकर्षित गर्ने विश्वको सर्वाेच्च शिखर सगरमाथा सहित उत्तरतर्फ लाम लागेर उभिएका अनगिन्ती सेता हिमालहरु भएता पनि ति स्थानहरुमा पर्यटकहरुलाई सुविधासम्पन्न हुने खालका होटल, लज र होमस्टेहरुको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकहरुले नेपालमा बिताउने दिन र खर्च गर्ने रकम जति हुनुपर्ने हो त्यति हुन सकेको छैन ।
    यसवर्ष सन् २०२० लाई ‘नेपाल भिजिट २०२०’ भनेर नेपाल सरकारले निकै तामझामका साथ नेपाल भ्रमण वर्षको प्रारम्भ गरेको हो । तर छिमेकी मुलुक चीनको वुहानबाट सुरु भई हाल विश्वको धेरै भागमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले पहिलो गाँसमै ढुंगा’ भनेजस्तो गरी भिजिट नेपाल कार्यक्रमलाई ठूलो धक्का दिएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमित विरामी नभेटिएको भएता पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राष्ट्रको रुपमा राखेको कारण नेपाल भ्रमणको कार्यसूचीमा रहेका धेरै देशका पर्यटकहरुले भ्रमण रद्द गर्न थालेपछि नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम नराम्रो सँग प्रभावित भएको हो ।
    चीनको वुहानराज्यमा ३१ डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका प्रायः देशमा फैलिसकेको छ । साथै यसले अहिलेसम्म चीनमा सबैभन्दा धेरै ३१८९ जना, इटलीमा १४४५ जना, इरानमा ६१५ जना र दक्षिण कोरियामा ७५ जनाको ज्यान लिइसकेको छ भने विश्वमा डेढलाख भन्दा बढी मानिसहरु यसबाट संक्रमित भएका छन् । एसिया महादेशको थाइल्याण्ड, भियतनाम, मलेसिया, भारत, श्रीलंका लगायतका देशमा कोरोनाको प्रभाव परेको छ । यो भाइरस अहिले युरोपियन राष्ट्र फ्रान्स, स्पेन, इटली, जर्मनी समेत पुगिसकेको छ । जाडो मौसममा छिटो फैलिने यो भाइरस मानिसमा रुघाखोकी र ज्वरोको रुपमा देखा पर्ने कारणले गर्दा सामान्य मौसमी रुघाखोकी लागेका मानिसहरुमा पनि कोरोेना भाइरसका असर हो कि भन्ने मनोवैज्ञानिक त्रास बढी परेको देखिन्छ ।
    नेपालमा पनि यो चैत्र महिनाको प्रारम्भ भनेको जाडो सकिएर गर्मी सुरु हुने महिना भएकोले प्राय मानिसहरुमा मौसम परिवर्तनको संकेत स्वरुप रुघाखोकी र सामान्य ज्वरो देखिने गर्दछ । ठ्याक्कै यहि समयमा कोरोना भाइरसको संक्रमण फैलिएको कारण मौसमी रुघाखोकीको ज्वरो हो की भन्ने शंकामा स्वास्थ्य संस्था र अस्प्तालमा परीक्षण गराउन जाने विरामीहरुको संख्या ह्वात्तै बढेको देखिन्छ । आफ्नो स्वास्थ्य प्रतिको सजगता र चासो बढ्नु यो एक किसिमको सकारात्मक सोच पनि हो । नेपालमा अब जाडो मौसम सकिएर गर्मी मौसम सुरु हुने अवस्था भएको र कोरोना भाइरसको संक्रमण गर्मी मौसममा कमजोर हुने हुँदा त्यसको फैलावटलाई नियन्त्रण गर्न सजिलो हुने कुरो स्वास्थ्य विज्ञहरु बताउँछन् । कोरोनाको उद्गमस्थल मानिएको देश चीनमा यसकोे प्रभाव र असर कम हुँदै गएको र चीनले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको खबर र अमेरिकाले पनि कोरोना भाइरसको सुइको परिक्षण गरिसकेको जनाएको छ ।
    नेपाल सरकारले कोरोना भाइरसको प्रारम्भिक अवस्थामा नै चीनको वुहान र विभन्न राज्यमा छरिएर रहेका १७५ जना नेपाली विद्यार्थीहरुलाई नेपालकै ध्वजावाहक जहाजबाट नेपाल ल्याई खरीपाटीस्थित तालिम केन्द्र भवनमा अति व्यवस्थित किसिमको बसाई व्यवस्थापन गरेकोमा सबैतिरबाट धन्यवाद र स्याबासी पाएको थियो । हुन पनि नेपालकै इतिहासमा विदेशमा अलपत्र परेका नागरिकहरुलाई सरकारले यति छिटो आफ्नै जहाजबाट उद्धार गरी स्वदेश ल्याएको यो पहिलो घटना पनि हो । संकटको बेलामा राज्य र सरकारले आफ्ना नागरिकहरु प्रति यस किसिमको अभिभावकत्व र जिम्मेवारीको भूमिका निर्वाह गर्नु र राज्यलाई संकट पर्दा देशका नागरिकहरुले आफ्नो ज्यान राष्ट्रको लागि समर्पण गर्नु अघि सर्नु दुवै राष्ट्र र राष्ट्रियताको हितमा गरिने सर्वाेकृष्ट कार्यभित्र पर्दछन् । 
    विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्व महामारीको संज्ञा दिएको छ र यस विरुद्ध जुध्न सबै राष्ट्रहरुलाई आव्हान गरेको छ । जस अनुसार विश्वका विकसित र धनी राष्ट्रहरुले कोरोना नियन्त्रणको लागि ठूलो धनराशी छुट्याएका छन् । त्यसैगरी कोरोनाको संक्रमण विरुद्ध सार्क राष्ट्रहरुले पनि साझा रणनीति तयार गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का शीर्ष नेताहरुबीच कोरोना भाइरस विरुद्ध साझा रणनीति तय गर्ने नीति बमोजिम गत चैत्र २ गते (१५ मार्च २०२०) भिडियो सम्मेलन भएको हो । उक्त दिन सार्कका सबै सदस्य मुलुकहरुले दिनको ५ बजे भिडियो संवादको नेतृत्व गरेका हुन् । जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ, श्रीलंकाका राष्ट्रपति गोटवया राजापक्ष, मालदिभ्सका राष्ट्रपति इब्राइम मोहम्मद सोलिह र अफगानिस्तानका राष्ट्रपति असरक धानीले संबोधन गरेका हुन् । नेपालको तर्फबाट भर्खरै मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपि शर्मा ओलीले संबोधन गर्नु भएको थियो । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री ओलीको यो पहिलो सार्वजनिक संवोधन हो । भिडियो संवादमा पाकिस्तानको तर्फबाट प्रधानमन्त्री इमरान खानले संबोधन गर्ने भनिएता पनि त्यहाँका स्वास्थ्य मन्त्रीले संबोधन गरेका थिए । भारत र पाकिस्तानको सीमा विवादको कारण उत्पन्न लामो तनाव पछि हुन लागेको यो भिडियो संवादले उक्त दुई राष्ट्र वीच केहि दुरी कम गर्ने अपेक्षा सार्क राष्ट्रका नेतृत्वले गरेको छ ।
    कोरोना भाइरस विरुद्ध सार्क राष्ट्रहरुको अभियानलाई सफल पार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक करोड अमेरिकी डलर सार्क स्वास्थ्य कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । उक्त कोषमा सार्क मुलुकमा राष्ट्रहरुले पनि आफ्नो हैसियत अनुसारको रकम जम्मा गर्नेछन् र सो साझा कोषबाट सार्क राष्ट्रहरुमा कोरोना विरुद्ध साझा अभियान संचालन गरिने छ ।
    कोरोना भाइरसले विश्वमा दोस्रो विश्वयुद्ध पछिको ठूलो तरङ्ग उत्पन्न गराएको छ । एसियाली मुलुक चीनबाट सुरु भएको कोरोनाले युरोप अमेरिका सबैतिर संक्रमण फैलिन पुगेपछि यसले विश्वलाई नै तरंगित बनाएको हो । यो अहिले विश्वमा एक महामारीको रुपमा देखिएको छ । विश्वमा आयोेजना हुने र आयोजना गरिएका ठूलाठूला कार्यक्रमहरु धमाधम स्थगित गरिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएका छन् । युरोपका इटाली, फ्रान्स, स्पेन लगायतका देशहरुमा जनतालाई घरमा नै क्वारेन्टाइनमा रहन आग्रह गरेका छन् । कोरोनाले विश्वको अर्थतन्त्रमा नै नराम्रो असर पर्ने संकेत देखिएको छ । कोरोनाको असरलाई मध्येनजर गर्दै तेल उत्पादक राष्ट्रहरुले तेलको उत्पादनमा कटौती गरिसकेका छन् ।
    यसरी एकातिर कोरोना भाइरसले विश्व नै त्रसित र तरंगित भइरहेको छ भने अर्काेतिर कोरोनाको कारण देखाएर बजारमा कृतिम अभाव सिर्जना गरी भएको मालसामान लुकाउने र बजारभाउ वृद्धि गर्ने बिचौलियाहरुको बिगबिगी बढेको छ । कोरोनाको कारण भारतीय नाकामा सिलबन्दी हुन्छ भन्ने डरले आम उपभोक्ताहरु पनि यतिखेर आवश्यक भन्दा बढी उपभोग्य सामान थुपार्न आतुर भएको देखिन्छ ।
    सरकारले आम उपभोक्ताहरुलाई उपभोक्ता सामानको समस्या नहुने कुरा भनिरहेको छ, तापनि उपभोक्ताहरु विश्वस्त हुन सकेका छैनन् । सरकारले बजारमा सामान लुकाई कृतिम अभाव सिर्जना गर्न खोज्ने केहि उद्योगी र व्यापारीहरुलाई कारवाही अघि बढाइसकेको छ । केहि दिन अघि मात्र काठमाडौंमा आठ लाख थान मास्क लुकाउने आर डि सप्लायर्सलाई कारवाही गरेको छ । संकत र विपतको समयमा एक आपसमा सहयोग गरी अघि बढ्नु हामी सबैको कर्तव्य हो, असहज परिस्थितिलाई ठगी खाने भाँडोको रुपमा प्रयोग गर्न खोज्नु सामाजिक अपराध हो । तसर्थ ‘सर्वशन हिताय सर्वजन सुखाय’ भन्ने हाम्रा पूर्वजहरुको सन्देशलाई शिरोधार्य गरौं यसैमा हामी सबैको कल्याण हुनेछ ।