2018 October 18/ 06:13: 46am

तुयुकाजी ताम्राकार
    हिजोआज नेपालमा छुकछुक गर्दै रेल काठमाडौं आउने र नेपाली ध्वजा वाहक पानी जहाज प्रशान्त हिन्द महासागर बंगालको खाडी, गंगा नदि हुँदै कोशी नदि भएर नेपाल छिर्ने कार्यक्रम ल्याइसकेको भाषणमा बताउँदा एकथरी मानिसहरुले खिसिटिउरी गर्दै गफमा उडाउँछन्, अखबारमा लेख्छन् भने अर्काे थरीले नेपालको विकासको सपना जुन वास्तविकतामा परिणत हुन सक्ने कुरालाई खिसीटिउरी गरी उडाएकोमा मन दुखाउने मात्र होइन वास्तविकतामै देखाइदिने उद्घोष गरिरहेछन् । वास्तवमा नेपालमा रेल चलाउन र पानी जहाज चलाउनै नसक्ने देश हो त भन्दा विलकुलै होइन । शतप्रतिशत सम्भव भएको कुरा हो । आजको युग वैज्ञानिक प्रविधिको विकासले असम्भव भन्ने कुरा नै समाप्त भइसकेको युग भनेमा अतिशयुक्त हुनेछैन । हिजो हामीले सोच्नै नसकेका वैज्ञानिक आविष्कारहरु निरन्तर गरिरहेका छन् । हामी सबैको लागि आश्चर्यको विषय पनि बनिरहेका छन् । मन्द बुद्धिका हामीलाई त्यस्तो लाग्नु अश्वभाविक पनि होइन । रुख चढ्नेलाई भन्दा तलबसि हेर्नेलाई रिंगटा लागेजस्तै अजङ्गका हिमालय र महाभारतका पर्वत मालाले भरिएको ठाउँमा कसरी रेल चल्छन् भन्ने सौच्ने ठिकै होला । रेल आइ नै सक्दा पनि सपना ठान्नेलाई के भन्न सकिन्छ र ? यतिखेल एउटा पुरानो कुरा सम्झना आयो जुनबेला अमेरिकी यानबाट पहिलोपटक निल आर्मस्टङहरु चन्द्र धरातलमा ओर्लेको समाचार रेडियोबाट प्रसारण भइरहँदा एकजना वृद्धले रिसाउँदै मलाई भनेथे “लौ त्यो रेडियो फुटाइदेउ फाल्देउ कहाँ चन्द्र भगवानमा मान्छेले टेकेको भन्छ त्यस्तो झुठ कुरा फुक्ने त्यो रेडियोको काम छैन” सम्झे । 
    नेपालीहरुले कृषि क्रान्ति, औद्योगिक क्रान्ति, विकास निर्माण गर्नै नसक्ने वा गर्नुहुँदैन भन्ने विचार र मान्यता बोक्नु भनेको नेपाल सधैं पराश्रित र पराधिम रहनु पर्छ भन्नु हो, दास मानसिकता हो । त्यस्ताहरु ठूलै विद्वान र नेता भएपनि देश र जनताको निम्ति काम लाग्ने मानिस होइनन् हुन सक्तैन । अर्काेतिर सरकारले राम्रो काम गरेपनि भाँड्नुपर्छ, असफल बनाउनुपर्छ, विरोध गरिरहनुपर्छ र दातृ संस्था र निकायहरुलाई फर्काइदिनुपर्छ भन्ने विपक्षी वा जोसुकै भएपनि देशभक्तिपूर्ण होइन । त्यस्तैगरी अहिलेसम्म सप्रमाण के देखिन्छ भने हाम्रो देश नेपालमा सहयोगी दातृ राष्ट्रहरुले निर्माण गरि दिएका उद्योग, कलकारखाना, यातायात, विद्युत भवन इत्यादि उपलब्धिहरु ति हाम्रा होइनन्, विदेशीहरुले सित्तै बनाइदिएका हुन्, बिग्रे भत्के हाम्रो केहि नोक्सान हुँदैन । हामीले त सकेसम्म दोहन गरि फाइदा लिने मात्र हो, काम नलाग्ने भएपछि त्यहाँको भौतिक सामानहरु समेत कवाडी मुल्यमा बेच्ने र पनि फाइदा उठाउने भन्ने प्रवृत्ति देख्छौं । त्यसो हुँदा नेपालको विकासको मापदण्ड माथि होइन, तलतिर झरेको पाउँछौं । त्यस्तो व्यवहार र विचारले स्थान पाउँदै जाने हो भने नेपालमा स्थायी विकास निर्माणको सम्भावना नहुनुमा साथै अरुले बनाइ दिएका उपलब्धिहरु समेत समाप्त हुने अवस्था रहेकै हुन्छ । नेपालका योग्य र सक्षम युवा जनशक्ति र प्राविधिकहरुको विदेश पलायन हुने क्रमलाई रोक्नै सक्तैनन् । मातृभूमि प्रति सकारात्मक विचार राखी आफ्नो पेशा, व्यवसाय र राजनीति गर्ने हो भने नेपालको निर्माण असम्भव हुदैहुन्न । माथि उल्लेख गरेझै विदेशी दातृ निकायले सहयोगार्थ बनाएको उपलब्धिहरु बिग्रे भत्के र समाप्त नै पारेका केही उदाहरण निम्नानुसारका छन् ः–
१. पनौती जलविद्युत योजना आजभन्दा पचास वर्ष अघि सोभियत संघको सहयोगमा निर्माण सम्पन्न भएर विद्युत उत्पादन थालेका थिए । रोशी खोलाको पानीको शक्ति २४८० किलोवाट विद्युत उत्पादन गर्न सक्ने क्षमता थियो । आठ आठ सय क्षमताको ३ वटा टवाईन घुम्थे । घरघरमा विद्युत लाईन जोडिए । आम्दानी गरे तर जहिल्यै बिग्रे भत्केको बनाएन । हाल मुस्किलले एउटा टर्वाइन चल्छ तर ५–६ सय किलोवाट विद्युत उत्पादन हुन्छ । हाल त पनौती जलविद्युत नै बेचिसकेछ क्यारे । पनौती जलविद्युत योजना सुरु गर्न । रसियनहरु आउँदा रोशी खोलाका पानीबाट बत्ती निकाल्ने रे भन्दा हामी सबै पानीबाट पनि कहिँ बत्ति निक्लिन्छ भन्दै आश्वासनका साथै आश्चर्यचकित थियौं । त्यस्तो ऐतिहासिक विद्युत केन्द्र इतिहासको पानामा सीमित झै बनाए । 
२. मित्रराष्ट्र चीनको सहयोगमा निर्मित भक्तपुरदेखि काठमाडौं सम्म चल्ने ट्रलीबस निकै लोकप्रिय र जहिल्यै यात्रुहरुले भरिभराउ हुन्थे । आज ट्रली बसको नामोनिसान बाँकी छैन । उखेलिएका केहि लठ्ठाहरु भक्तपुर सल्लाघारीको चौरमा छन् क्यारे । किन समाप्त पारे ? कसैलाई केही बिगारेको थियो भने बस चलाउने साहुहरुलाई घाटा थियो होला । सरकारले उनै बस मालिकहरुको बहकाउमा आएर वा फाइदा लिएर ट्रलीबस उखेली फाले । हुन पनि उक्त बसहरु नेपाल सरकार वा जनताको छँदै थिएन, अरुले निर्माण गरिदिएको फाल्न के को डर ?
३. राणा शासनकालमै निर्मित घुसिङ्गदेखि किसिपिडी सम्मको १४ मिलको रोपलाइन, भैंसे हुँदै टेकु सम्मको रोपलाइन, जनकपुर जयनगर चल्ने रेलमार्ग, रक्सौलदेखि अमलेखगञ्जसम्म चल्ने रेलमार्ग इतिहासमा मात्र पढ्न पाइन्छ । रेलको लिगको काठ समेत उलेखी खाइसके क्यारे । 
४. विभिन्न मित्रराष्ट्रहरु विशेषगरी चीन सोभियत संघ भारत आदि राष्ट्रहरुले नेपालकै कच्चा सामानबाट उत्पादन हुन सक्ने थुप्रै कलकारखानाहरु जस्तो चोभार सिमेन्ट कारखाना, जनकपुर चुरोट कारखाना, हेटौडाको कपडा कारखाना, वीरजंगको चिनी कारखाना आदि दर्जनौंको संख्यामा निर्मित कलकारखानाहरु आज समाप्तप्राय छन् । किन गरे ? जवाफ कसले दिने ? इत्यादि कारणहरुले गर्दा आज फेरी चीनले आफ्नै सहयोगमा केरुङ्ग देखि काठमाडौं सम्म र भारतले रक्सौलदेखि काठमाडौं र लुम्बिनीसम्मै रेलमार्ग बनाउने कुरा र पानी जहाजको जो कुरा छ त्यो रेल ट्रलीबस झै नहोस् । उपरोक्त सबै कुराहरुको चित्त बुझ्दा जवाफ नेपाली जनताहरुले कहिले र कसले दिने ? नेताहरुको मानसिकतामा कहिले परिवर्तन आउने हो ? बताउ देश विगार्ने को हो ?