2020 August 11/ 06:16: 38am

उदय रानामगर

कुनै पनि चिजको महत्व आफैले अनुभूति नगरेसम्म कहाँ गहिराइमा पुग्न सकिन्छ र । हो यो कुरा मेरो मानसपटले अनुभूति गर्न थालेको छ । हाम्रा बुढापाकाले भन्थे तर तन्नेरी अवस्थामा यि बुढापाकाहरुले के गफ छुट्छन् भनेर हावामा उनीहरुको कुरालाई उडाइन्थ्यो । तर अनुभवले खारिएका र आफैले भोगेका ती अग्रजहरुको कुरालाई हावामा उडाएकोमा आज आफैलाई आत्माग्लानी हुन्छ । शरीरमा बलको उन्माद हुँदाको बखतको कुरै अर्कै । धर्मशास्त्र अनि अनुभव र अनुभूतिलाई आत्मसाथ गर्नसक्ने हाम्रो दुसास नै कहाँ थियो र । पाखुरीको बल अनि आधुनिकताको पाठ पढेको हामी साँच्चै कलियुगको उन्माद हात्ती झै थियो । अनुभव तथा भोगाईका खानी अग्रजहरुको अनुभवलाई साँच्चै हामीले वेवास्ता मात्र होइन अपहेलना नै गरेको रहेछौ नी विगतमा ।
म मेरो जन्मस्थलको भ्रमणको क्रममा जानेक्रममा  थिए । बाटोमा भेटेका बटुवाहरुसँग बोलचाल नै नगरिकन । हामीमा आत्मीयता साट्ने बानीलाई आधुनिकताका पगरीले लखेटी सकेको अवस्था छ । एकजना अग्रज बाले जन्मस्थलको भ्रमणको क्रममा देख्ने वितिकै बोलाउनु भयो र भन्नुभयो । बाबु कता पुग्ने हो तर हाम्रो आधुनिकतावादी सँस्कारले नचिनेको र नजानेकोसँग बोल्न हुन्न भन्ने मान्यतालाई पाठ सिकाएको थियो र केवल मोवाइलसँग मात्र झुम्मीने बानीको विकास भइसकेको छ । त्यसैको कारण होला मलाई पनि ति घेरावाला टोपी लगाएको तर हँसिलो हेर्दैमा अनुभवको भण्डार नै होला जस्तो देखिने बा को अनुहारलाई एकोहोरो हेरिरहें । ती अपरिचत बा मेरो हेराई प्रति अचम्मित थिए । बाबु किन टोलाउनु भो नि । तर यो बुढाले किन डिस्टव गर्दै छ मलाई भनेर एक त रिस पो उठ्यो । तर बुढा बा को एकहोरो प्रश्नले मैले उनीसँग बोल्न र उनको कुरा सुन्न बाध्य भए । बा भन्नुस् मलाई चिन्न हुन्छ र ? तर बाको जवाफ थियो नेपालीले नेपालीलाई किन नचिन्नु बाबु । तपाई कहाँ जान लाग्नु भएको हो बाबु । त्यसपछि मैले आफ्नो परिचय दिए । तर उहाँ त मेरो बाबाको साथी नै हुनुहँुदो रहेछ । साथीको छोरा भेटिएकोमा आफैलाई खुसी भएको भन्दै आफूमा भएका सबै अनुभवका पोकाहरु खोल्न थाल्नु भो । मेरो बाबाको साथी मैले बाबा नै भनेर सम्बोधन गरी तब उनी झन् उनी पुलकित हुदै भन्दै हुनुहुन्थ्यो, तिमीहरुको पालाको शिक्षा र अहिलेको शिक्षाको अवस्था धेरै फरक छ । तिम्रा पालामा तिमीहरु स्कूल जानुभन्दा पहिले एक भारी घास दाउरा गर्ने, खेतबारीमा काम गर्ने, विदाको दिनमा खेतमा काम गर्ने, बालीमा लाग्ने रोगव्याधि लाग्दा विषादी छर्न खेतबारीमा जाने गथ्योै । पल्ला घरको पसलेको छोरा विहान बेलुका पसलमा बस्थे । त्यसैगरी उद्यमी रामबहादुरको छोरा बाबुको उद्योगमा काम सघाउथ्यो । यसो गर्दा पढाई पुरा गर्न नसक्ने तिमीहरुका दौंतरी आज बेरोजगार छैन । पढ्दा पढ्दै सिकेको सिपको कारण तिनीहरु आज तिम्रा जागिरे आम्दानी भन्दा राम्रो कमाई गर्दछन् । तर अहिलेका हाम्रा नाति नातिनीलाई बोक्न नसक्ने कितावको भारी बोकाएर स्कूल पठाइन्छ । विचारा ति नानीहरुलाई व्यवहारिक कुरा त के आफ्रनो लुगा पनि लगाउन जान्दैनन् । आधुनिक शिक्षाको नाममा परावलम्वी बनाउदै छौ । तिनीहरुले जागीर पाइहाले पनि व्यावहारिकता र हाम्रो सँस्कार पटक्कै जानेको छैन । अग्रेजी मात्र बोलेर आधुनिक मान्छे कहाँ हुन्छ र बाबु । ती असीको हाराहारीको बाबाको दुखेसोले साच्चै हाम्रो शिक्षा प्रणालीलाई हुंकार दिइरहेको थियो । यस्तो प्रकारको शिक्षा प्राप्त युवायुवतीहरुलाई कसरी रोजगारी दिलाउने र रोजगारी प्राप्त गरेपनि हाम्रो व्यवहारिक सँस्कार विर्सेकाले हाम्रो सँस्कारको कसरी जगेर्ना गर्लान् भन्ने प्रश्नले मलाई संसय बनायो । यसैक्रममा एकोहोरो अुनुभव सुनाउदै गरेको उनीसँग छुट्ने समय आयो । किनकी त्यतिखेरसम्म बाबाको घर आइपुगी सकेको थियो तर बाबाले बढो हार्दिकताका साथ भर्खर पारेको भैंसीको मोहि खान अनुरोध गर्नुभयो उनको अनुरोधलाई अस्वीकार गर्ने भन्दा पनि उनको अनुभव आफुले प्राप्त गर्ने अवसर प्राप्त गरेकोमा धन्यवाद दिदै मिठो भैंसीको मोही खाएर बाबासँगबाट विदा भए ।
छुटिएसँगै मनमा अनेकौ तरङ्ग खेल्न थाल्यो । म राष्ट्रसेवक साँच्चै राज्यको पहरेदार र अनुभवीको रुपमा आफूलाई लिन्छु र आफूलाई जनीफकारको पंक्तिमा उभ्याउँथ्ये । तर भोगाईबाट प्राप्त अनुभव साँच्चै सैद्धान्तिक ज्ञानको अगाडि फिका हुदो रहेछ भन्ने अनुभूत गर्दै घर तिर लागे । निजामती सेवालाई सिद्धान्तकारको भन्दा अुनुभवी जनशक्तिको खाँचो रहेको छ भन्ने निष्कर्षमा पुगे । यसै सन्दर्भमा निजामती सेवामा हाल देखिएको अवकासको उमेर ६० पु¥याउनु पर्छ र पर्दैन भन्ने तर्क र वितर्क तर्फ उन्मुख हुन्छु । पहिले फ्रेस युवाहरुलाई निजामती सेवामा भित्रयाउनुपर्छ भन्ने तर्कसंग पुरा समर्थन जनाउने म मेरो बाबाको साथी जसले सुनाएको अनुभूतिजन्य कुराले मेरो धारणा परिवर्तन गर्न काफी सहयोग मिल्यो । ६० बर्षे सेवा अवधि बनाउदा नयाँ युवालाई रोजगारीको अवसर त मिल्ला तर राष्ट्रको लागि के फाइदा मिल्ला त भन्ने तर्कसंग आफूलाई घोत्लिन बाध्य भए । राज्यले ३० औं बर्षको लगानी गरेर विकास गरेको कर्मचारीमा रहेको दक्षता र अनुभव ती नयाँ युवाबाट प्राप्त नहुने तर आइटीसँग त्यति परिचित नहुने यो अनुभवपूर्ण बर्ग वीचको तुलनामा आफुलाई साँच्चै अनुभवको पक्षधर बन्न बाध्य भए । आर्थिक हिसाबले समेत राज्यले करिब २५ प्रतिशतमा ती अनुभवी कर्मचारीलाई काम लगाउन सक्ने अवस्थाले राज्य पनि यो निर्णयबाट फाइदा मै हुने हुँदा मेरो सतह बुझाईलाई परिमार्जन गर्दै कर्मचारीको अवकासको उमेर ६० मै राख्दा फाइदा हुने पक्षमा सहमत भए । यसको अतिरिक्त नेपाली हिजोको तुलुनामा बढी बाँच्न थालेको कुरा औसत आयु बढेको तथ्यले बताउँछ । सन १९९० मा नेपालीको औसत आयू ५४.४ रहेकोमा हाल यो बढेर ७०.५ बर्षसम्म बाँच्न थालेको सन्दर्भमा नेपाली कर्मचारीलाई ५८ बर्षमा नै घर जा भन्नुले राज्य र कर्मचारी दुवैको लागि लाभदायक नहुने देखिन्छ । राज्यले अनुभवी जनशक्ति सेवामा टिकाइ राख्न पनि अवकासित उमेर ६०  बनाउन पर्ने कुरासँग म सहमत भए । अर्कातर्फ छिमेकी देशहरुको अवकासको उमेरलाई अवलोकन गर्दा पनि ती देशहरुमा समेत अवकासको उमेर हाम्रो भन्दा बढी भएको पाए । यो अवस्थाले मेरो मानसपटलमा अव फे्रस जनशक्ति भन्दा अनुभवी कर्मचारीले सेवा प्रवाहलाई बढोत्तरी गर्न सक्ने कुरामा सहमति भए ।
तर निजामती सेवा अहिले समाजको सबै पक्षको अवहेलनाको पाटो बनेको छ । घुसखोरी, कामचोर, नातावाद कृपाबाद, प्रक्रियासँग रमाउने, जस्ता उपनामबाट प्रताडित छ । करिब डेढलाखको हाराहारीमा रहेको सार्वजनिक सेवाको कर्मचारी मध्ये केही त्यस्ता कर्मचारी पनि होलान् तर सबैलाई एकै डालोमा राखेर मूल्यांकन गर्ने परिपाटी हाम्रो समाजमा रहनाले राम्रा कार्य गर्नेको पनि मनोबल गिर्ने अवस्था छ । जनयुद्धको समयताका राज्य नै फे्रजाइल हुन्छ की भन्ने अवस्था एकातिर थियो भने अर्कातिर जनप्रतिनिधि नभएको अवस्थामा समेत कर्मचारीले राज्यलाई भ्याकुम हुन नदिएको अवस्थालाई समाजका सवै बर्ग र तप्काले विर्सेको भने पक्कै हो । अहिले सबै राज्यका कमजोरीहरु कर्मचारीकै कारण भएको भन्ने चौतर्फी आक्षेप लगाइन्छ । निरीह कर्मचारीहरु जसले आफुलाई लागेको आक्षेपको सफाई पेश गर्ने हैसियत समेत राख्न सक्दैनन् । यस्तो अवस्थाको कर्मचारीबाट राज्यले लिएको सम्वृद्धिको सपना साकार पार्ने लक्ष्य प्राप्तिमा शंका उब्जेको छ । सरकारको नीति कार्यान्वयन गर्ने कर्मचारीहरुको मनोवल कमजोर छ जसले गर्दा नीतिको कार्यान्वयन पूर्ण रुपमा हुने कुरामा शंका पैदा भएको छ । यसर्थ यो बर्गको मनोवल उकास्न पनि कर्मचारीको अवकास उमेर हद ६० पु¥याउन आवश्यक छ । त्यसको साथै सार्वजनिक सेवामा रहेको विकर्षणलाई हटाउन पनि यो सेवालाई थप आकर्षित सेवाका रुपमा अगाडि बढाउन पर्छ । 
एक दृष्टान्तले मलाई फेरी झक्झकाउछ । एक साथीको छोरा गोल्डमेडलिष्ट छ । अबको क्यारियर के हो भनेर सोधे खोइ अक्कल विदेश जाने सोचमा छु राम्रो जागिर नेपालमा पाइन्न । उसको कुरा नटुगिंदैमा मैले बढो जान्ने भएर सुझाव दिइहाले लोकसेवा पढेर सरकारी जागिर खान छोडेर किन जानुप¥योे । तर उसको जवाफ थियो । के छ अक्कल सरकारी जागिरमा ? तिरस्कार, बेइजत, अपहेलना, खान नपुग्ने तलब, घुसखोरीको पगरी भिर्न म यो सेवामा किन आउनु । बरु विदेश गएर इज्जतको जागिर गर्छु तर नेपालको सरकारी सेवामा जान्न । तपाईहरुले बीसांै बर्ष सेवा गरेर के पाउनु भो फगत अवहेलना, यो सेवा भन्दा मानिसको कामको जहाँ इज्जत, र सम्मान हुन्छ त्यहि आफु जाने जवाफ पाए । तत्पश्चात म फेरी आफूलाई सोच्न बाध्य भए । के मैले सरकारी सेवामा प्रवेश गरेर गलत त गरिन ? सोचमग्न हुन्छु होइन होइन म यहि सेवामा २० औं बर्ष कार्य गरेर आफ्नो यौवन जीवन व्यतित गरिसकें । यसलाई कसरी नराम्रो भन्न सक्छु र यो सेवालाई ? तर केही साथीहरुकै कारण बदनाम भने भएको भन्ने पक्कै हो । अब यो सेवालाई हेलाँ होइन आकर्षक सेवा बनाउन थप प्रयास गर्ने सोच पलायो ममा । यो अभियानले सार्थकता पाउँछ वा पाउँदैन भन्न गाह्रो छ । तर यर्थात कुरा के हो भने सरकारी सेवाले जनताको मन जित्न नसकेको भने यथार्थ नै हो । यो सेवामा कार्यरत कर्मचारीहरु जनता र सरकारको विश्वास पात्र बन्न सकेको छैन । यो अवस्थालाई चिर्न पनि अबका दिनमा कर्मचारीले थप मेहनेत गर्न जरुरी छ । अर्कातर्फ हाम्रो समाज र सरकारले पनि कर्मचारी प्रति हेर्ने दृष्टिकोण, गर्ने व्यवहार, सोचाई तथा हेराइमा सकारात्मक दृष्टिकोण अपनाउन जरुरत छ । यसो भएन भने स्थायी सरकारको रुपमा रहेको निजामती सेवा कमजोर हुन जाने र सरकारी कामले पनि मुर्तरुप नपाउने हुँदा सबैको चासो यसलाई सबल बनाउनेतर्फ हुन आवश्यक छ । यसो भएको खण्डमा कर्मचारीको नै माध्यमबाट राज्यको सम्वृद्धि हासिल गर्ने सोचलाई कार्यरुपमा उतार्न सकिन्छ । (लेखकः झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी  हुनुहुन्छ । )