2020 August 11/ 05:53: 11am

    समाज विकासको ऐतिहासिक र लामो परम्परा रहिआएको छ । सभ्यताको प्रारम्भिक चरणदेखि नै मानिसले तत्कालीन परिस्थिति अनुसारका प्रविधि प्रयोग गरी सूचना सम्प्रेषण गर्ने गर्दथे । यसैक्रममा पूर्वीय सभ्यतामा सूचना सम्प्रेषणका लागि ‘चिठी’ नै एउटा महत्वपूर्ण सामग्रीका रुपमा प्रचलनमा आएको देखिन्छ । जुन अद्यावधि छँदैछ । परेवा, कागजस्ता पंक्षीहरुले शुभ अशुभ खबर ल्याउने कुराका किंवदन्तीहरु समाजमा अहिले पाइन्छन् । मादल बजाएर, ढोल बजाएर, शंख फुक्ने तथा सामाजिक भेला कचहरीमार्फत समाजमा सूचना आदानप्रदान गर्ने चलन थियो । मानिसको निरन्तरको खोज, अनुसन्धान तथा वैज्ञानिक प्रविधिका कारण रेडियो र टेलिभिजन जस्ता सूचनाका आधुनिक स्रोतहरुको आविष्कारले मानव सभ्यतामा नै व्यापक फेरबदल ल्याउन सफल भएको देखिन्छ । प्रारम्भिक समयमा सूचनाको पहुँचमा रहन र सुरक्षा चुनौतीको कारण सेना र प्रहरीले र पछि चिकित्सा क्षेत्रमा सन्जाल स्थापित गर्न पेजर, ह्याण्डसेट हुँदै सर्वसाधारण सम्मका लागि ‘टेलिफोन’ को आविष्कार तथा व्यापक प्रयोग हुन थालेको हो । समयको लामो अन्तरालमा २० औं शताब्दीको उत्तरार्धतिर खासगरी १९७० को दशकपछि विश्वव्यापीरुपमा ‘मोबाइल फोन’ को व्यापक प्रयोग बढ्दैगयो । जुन आज नेपाली जनमानसमा समेत यसरी व्याप्त बन्न पुग्यो कि पारिवारीक आम्दानीको करिब २० % रकम यस क्षेत्रमा खर्च हुने एक अनुसन्धानले देखाएको छ । वर्तमान अवस्थामा विभिन्न कम्पनीले वितरण गर्ने सीमकार्डमार्फत इन्टरनेटको सुविधा उपलब्ध गराएपछि यसका फाईदा र बेफाईदाका सन्दर्भमा व्यापक छलफल गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
    मनोवैज्ञानिक तथा शिक्षाविद्हरुको भनाईअनुसार हरेक बालबालिकाको १६ वर्ष सम्मको उमेर एउटा सफल जीवनको पृष्ठभूमि निर्माण तथा अध्ययनको समयावधि हो । तर यसप्रकारको सुनौलो समय बालबालिकाले इन्टरनेटमार्फत प्राप्त हुने खेल तथा अन्य अनावश्यक भिडियो हेर्ने, युट्युब, इन्स्टाग्राम, फेसबुक, मेसेन्जर तथा टिकटकजस्ता सामाजिक सन्जालमा प्राप्त नेटवर्क र तिनका एप्स चलाएर एकातिर समयको बर्बादी भइरहेको छ भने अर्कातिर अध्ययन कार्यमा पूरा अवरोध सिर्जना भएको छ । जसको परिणाम एसइइ तथा एसएलसी जस्ता परिक्षाको परिणामले संकेत गरिरहेको छ । यसै कुरालाई मध्यनजर गर्दै चीन, रुस तथा इरान र कतिपय अरेबियन देशहरुले  इन्टरनेट प्रयोगमा कडाइसमेत गरिरहेका छन् । पटकपटक इन्टरनेट सेवा कटौती गर्ने देशमा छिमेकी मुलुक भारत अग्रस्थानमा देखिन्छ । यसको खास कारण इन्टरनेट मार्फत फङिकनसक्ने सामाजिक हिंसा तथा विकृति नै हो भन्ने कुरामा प्रायः फरकमत हुँदैन ।
    इन्टरनेट कुलतले अज्ञानतावश नै मानसिक स्वास्थ्यमा गम्भीर असर देखा पर्ने कुरा मनोविद् तथा परामर्शदाता डा. गंगा पाठक र अरुणा कुँवरले उल्लेख गरेका छन् । स–साना बालबालिकादेखि वयस्कसम्मका अधिकांश मानिसले अधिकांश समय मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याब वा अन्य कुनै ग्याजेट चलाउने भएपछि आफूले महसुस नै नगरी कुलतमा पु¥याउने धारणा डा. गंगा पाठकको रहेको देखिन्छ । प्रायः ५५ वर्षमाथिका मानिसलाई देखापर्ने मेरुदण्डको हाड खिइने रोग १८ वर्षीय युवकमा देखापरेपछि हाडजोर्नी सम्बन्धी विशेषज्ञ चिकित्सक राजेन्द्र महर्जनले ग्याजेट प्रयोग भएको पत्ता लगाएका थिए । एक्स–रे र रिपोर्टका आधारमा हेर्दा स्नातक तहमा अध्ययन गर्ने ती बालकको हाड सामान्य अवस्थामा आउनै नसक्ने गरी खिएको पाइएको थियो । मोबाइल चलाएर एउटै आसनमा घण्टौं बस्नुको परिणाम थियो त्यो । यो एउटा खतरनाक इन्टरनेट कुलतको परिणाम थियो । त्यस्तैगरी आजभोलि यो समस्या गृहिणीमा समेत देखापरेको कुरा डा. महर्जनले बताएका छन् । बढी मोबाइलमा रमाउने, पढ्न मन नपराउने, रिसाउने र झर्किने बालकमा सुरुमा गर्धन दुख्ने, गर्धनको मांशपेशी अररो हुने, घाँटीको हड्डीको आकारमा परिवर्तन आउने र कालान्तरमा मेरुदण्डको हाड खिएर स्नायु प्रणालीमा नै असर पर्ने कुरा डा.महर्जनले बताउँदै आएका छन् ।
    स्कूल तहमा अध्ययन गर्ने बालबालिकालाई इन्टरनेट तथा मोबाइल र कम्प्युटर तथा अन्य ग्याजेट बाट टाढा राख्न यसप्रकारको कुलतबाट जोगाउन विद्यालयको प्रयासमात्र पर्याप्त हुँदैन । यसका लागि घरपरिवार र अभिभावक नै सर्वप्रथम जिम्मेवार बन्नुपर्दछ । कतिपय विषयवस्तुगत समस्या समाधानको बहानामा बालबालिकाहरु इन्टरनेटको गेममा प्रवेश गर्दछन् । यसका लागि सकेसम्म शिक्षकको सहयोग लिनु पर्दछ र सम्भव भएसम्म घरमा नै होम ट्युसनको व्यवस्था गर्न सकिन्छ । ताकि उसले स्कूल तहको पढाई सकोस् र इन्टरनेटको महत्व बुझेर यसको सदुपयोग गर्न सकोस् । 
    सकेसम्म बालबालिकाहरुलाई (जो स्कुल पढ्ने उमेरका हुन्छन्) इन्टरनेटबाट टाढै राख्न सक्नु पर्दछ र प्रयास गर्नुपर्दछ । यति हुँदाहुँदै पनि बालबालिका कुलतमा फसिसकेका भए यसका केहि उपाय अपनाउनु पर्दछ । यसका लागि मोबाइल कम्प्युटर चलाउँदा लामो समय एउटै आसनमा बस्नु हुँदैन । करिब ३० मिनेट पछि केहि समय ठाउँ सर्ने चलमलाउने, आसन बदल्ने र सम्भव भए केहि मिनेटसम्म हिँड्नु पर्दछ । आरामदायी कुर्सीभन्दा सामान्य कुर्सीमा ढाड सिधा गरेर राख्नुपर्दछ । आफ्नो मोबाइल, कम्प्युटर वा घडीमा स्वास्थ्यसम्बन्धी सन्देश, प्रवाह गर्ने एप्स राख्नु पर्दछ । आफ्नो ग्याजेटको स्क्रिन आँखाबाट सिधा राख्नुपर्दछ ।
    इन्टरनेट ग्याजेटको बढ्दो प्रयोगले बालबालिकाको आँखासमेत गम्भीर असर देखा पर्दछ । आजभोलि सानै उमेरका बालबालिका आँखा उपचारमा आउनेको संख्या बढ्दै गएको कुरा डा. झरिना कंसाकारको रहेको छ । उनका अनुसार पछिल्लो समय खासगरी चस्मा लगाउने बालबालिकाको संख्या बढ्नुको कारण पनि यहि नै हो । मोबाइलको बढ्दो प्रयोगले बालबालिका किशोरावस्थामा प्रवेश नगर्दै आँखामा सुख्खापन आउने कुरा आँखा विशेषज्ञले बताउने गरेका छन् । विशेषगरी कम्प्युटर तथा मोबाइलमा गेम खेल्ने बालबालिकाको आँखामा टाढा नदेखिने ‘मायोपिया’ नामक रोग देखापर्ने कुरा डा. तुलाधरको रहेको छ ।
    बच्चा अवस्थामा कुनैपनि ग्याजेटमा निरन्तर रुपमा लामो समयसम्म हेरिरहँदा आँखाको परेला लामो समयसम्म नझिम्क्याएपछि आँखाको मांशपेशी थाक्ने भएपनि सुख्खापन बढ्ने धारणा डाक्टरहरुको रहेको छ । यस्तो अवस्थामा समयमा नै सहि उपचार नभएमा बालबालिका दीर्घकालीन रुपमा आँखाको रोगी बन्ने खतरा देखिन्छ । यसका साथै लगातार २ घण्टाभन्दा भन्दा लामो समय कम्प्युटरमा का मगर्ने वयस्क मानिसमा नै एक प्रकारको “कम्प्युटर भिजन सिन्ड्रोम” को खतरा देखापर्ने कुरा आँखा विशेषज्ञले बताएका छन् ।
    ग्याजेटमा अत्यन्तै रमाउने र कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिले आफ्नो आँखालाई जोगाउनु आवश्यक छ । यसका लागि स्क्रिनमा धेरै हेर्नु हुँदैन ।
    कम्प्युटरको ब्लुलाइट घटाउनुपर्छ । २०–२० मिनेटमा आँखाको व्यायाम गर्नुपर्दछ । प्रत्येक २० मिनेटमा २० फिट टाढा २० सेकेण्ड हेर्ने सुत्रलाई २०।२०।२० व्यायाम भनिन्छ । आँखाभन्दा माथि स्क्रिनलाई राख्नुहुँदैन र परेला प्रशस्त मात्रामा झिम्क्याई रहनुपर्छ । आँखालाई विझाउन वा सुख्खापनबाट जोगाउन एन्टी रिफ्लेक्टिभ कोट भएको चस्मा प्रयोग गर्नुपर्दछ । समयसमयमा आँखा जाँच गराई आँखालाई प्रशस्त मात्रामा आराम दिनुपर्छ । यसका साथै मोबाइल प्रयोग गर्दा आफ्नो ग्याजेटको नोटिफिकेशन बक्समा भएको  भथभ अयmायचत क्लिक गरी चलाउनुपर्दछ । 
    अन्तमा, इन्टरनेट तथा त्यससँग सम्बन्धित ग्याजेटहरु आजका आवश्यकता मात्र नभएर बाध्यता पनि हुन् । यसले मानव जीवनलाई जति फाईदा छ, त्यति नै चुनौतीहरु पनि छन् । त्यसैले यसप्रकारका ग्याजेट विना मानिसको जिन्दगी नै चलाउन कठिन भइसकेको छ । यस्तो अवस्थामा यसको बढ्दो दुरुपयोगलाई रोक्न सकिएन भने हाम्रो भोलिको भविष्य बोकेका आजका बालबालिकाहरु ३० वर्ष नपुग्दै रोगको शिकार बन्न सक्छन् । यसकारण हामी सबैले एक प्रकारको सामाजिक हिंसालाई अन्त्य गर्न, बालबालिकाको समयको बर्बादीलाई रोक्न, पढ्ने बानीको विकास गर्न, डिप्रेसन हुनबाट जोगाउन, उनीहरुलाई सामाजिक क्रियाकलापमा सरिक गराएर एक्लोपनको सिकार हुनबाट जोगाउन इन्टरनेटको कुलतबाट बचाउन आवश्यक भइसकेको छ । (लेखक श्री भगवती मा.वि. खरेलथोकका शिक्षक हुनुहुन्छ)