2019 October 17/ 01:56: 32am

    “तपाई त म मरोस् भन्ने चाहनुहुन्छ, मेरो स्वास्थ्यबारे अफवाह फैलाउनु भएको छ, तपाईको शुभकामना चाहिँदैन, तपाईको कामना लाग्दा पनि लाग्दैन ।” “म तपाईजस्तो निकृष्ट र अपराधिक सोच राख्ने मान्छे होइन, मैले हल्ला फैलाएको भए कारवाही भोग्छु ।” “बरु पार्टी एकीकरण नभएको भए हुन्थ्यो । जस्तो लाग्न थाल्यो अहिले त” सरकारको शैली नफेरिए सरकार परिवर्तन हुन बेर लाग्दैन ।”
    माथिका पहिलो र दोस्रो उद्धरण चिन्ह भित्र व्यक्त अभिव्यक्तिहरु झट्ट हेर्दा र सुन्दा कतै पँधेरामा पानी भर्न जम्मा भएका दुई महिलाबीचको झगडा हो की भन्ने भान हुन्छ, वा कुनै दुई अनपढ र असभ्य दाजुभाईबीच लेनदेनमा कुरा नमिल्दा भएको झगडामा प्रयोग भएका स्तरहीन भनाईहरुलाई संकेत गर्दछन् । तर पाठकवृन्द गत भाद्र ६ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित उपरोक्त वार्तालाप नेकपाका अध्यक्ष एवं वर्तमान सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओली र नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच प्रधानमन्त्री ओली स्वास्थ्य उपचारको क्रममा सिंगापुर जानु अघि स्वास्थ्यलाभको शुभकामना प्रदान गर्न आयोजित कार्यक्रममा एक आपसमा भएका घोचपेच हुन् । त्यसैगरी तेस्रो र चौथो उद्धरणमा व्यक्त भनाईहरु नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका हुन् । अब हामी कल्पना गरौं नेपालका उच्च तहका राजनैतिक नेता नेतृत्ववर्ग र सत्ता सम्हालेका शासकवर्गहरुको चेतनास्तर, चरित्र र राजनैतिक सँस्कारको उचाई कति रहेछ भनेर सजिलै मापन गर्न सक्छौं ।
    एउटै पार्टीभित्र पनि आफूनिकट कार्यकर्ताको गुटलाई काखी च्यापेर अर्का समूहलाई पेलेरै अघि बढ्न खोज्ने ओलीको प्रवृत्ति र सानातिना कुरामा पनि किचलो र कचकच गर्ने माधव नेपालको पुरानो प्रवृत्तिले जहिले पनि पार्टीमा विभाजनको रेखा र गुट उपगुटको कार्यलाई मलजल गरिराखेको देखिन्छ । अर्काेतिर दशवर्ष जनयुद्ध लडेर सत्र हजार नेपाली जनताको हताहति पछि लामो प्रयत्नको बाबजूद राजनैतिक मूलधारमा प्रवेश गरी प्रधानमन्त्रीको पदभार सम्हाली सकेका नेकपाका अर्का अध्यक्ष प्रचण्डले अझै पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको ऐतिहासिक पार्टी एकीकरणलाई सहझै आत्मसात गरेको देखिदैन । पार्टी एकीकरणलाई अवमूल्यन गर्दै उनी भन्दैछन् ‘पार्टी एकीकरण नभएको भए हुन्थ्यो ।’ अनि जता काफल पाक्यो उतै चरी नाच्यो’ भन्ने उखानलाई चरितार्थ पार्ने उनको अस्थिर स्वभाव हिजो पनि धेरैपटक देखिएको र अहिले पनि अभिव्यक्त भइरहेको छ । त्यसैले केही गरी दुर्भाग्यवश प्रचण्डले अहिले नेकपाको सरकारको समीकरण तोडी नेपाली काँग्रेस र मधेशवादी दलहरुसँग साँठगाँठ गरी सरकार परिवर्तन गरे भने पनि त्यसलाई अनौठो मान्नुपर्ने हुँदैन, किनकी यो उनको नानीदेखि लागेको बानी हो ।
    हिजो पार्टीमा भूमिगत जीवन बिताएका, जेलनेल भोगेका आलोचना आत्मालोचनाको पद्दतिमा हुर्केका जनतालाई गाँस, बास, कपासको सपना बाँडेका, गरीब जनताको घरलाई सेल्टर बनाएर मकै भटमास गुन्द्रुक ढिँडो खाएर हुर्केका नेताहरु आज सत्तामा पुगेका छन् । ‘खोला त¥यो लौरो विस्र्याे’ भनेजस्तै भयो, अब के तिनीहरुले हिजोको विगतलाई फर्केर हेर्नु पर्दैन । 
    हिजो २०५१ सालमा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित अल्पमतको सरकारले नौ महिनाको छोटो अवधिमा गरेका लोकप्रिय कामको आधारमा जनताबाट हाईहाई बनि इतिहासमा आफूलाई सफल सरकारको रुपमा दर्ता गर्न सफल भयो । अनि त्यहि नेकपाको दुई तिहाई बहुमत प्राप्त सरकार डेढ वर्षको अवधिमा जनताबाट तिरस्कृत र वाईवाई हुन पुगेको छ । देश र जनताको पक्ष र हितमा एउटा पनि उल्लेखनीय काम गर्न असमर्थ सरकार अपरिपक्व काम र निर्णय गर्न भने सफल भएको छ । निर्मला पन्त बलात्कार र हत्याकाण्डको छानविन गर्न नसक्नु, वाइडबडी खरीद प्रकरणको भ्रष्टाचार काण्ड सामसुम हुनु, ३६ किलो सुनकाण्ड गुपचुपमा रहनु, क्रिश्चियन धर्माबलम्बीहरुको एसिया प्यासिफक समिटमा नेकपाका नेता पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कार्यक्रमको आयोजक बनी प्रधानमन्त्रीसमेतले रक्सीको अभिषेक लिनु, भारतीय चलचित्र कम्पनी आइफाको कार्यक्रमलाई अरबौं रुपैयाँ लगानी गर्न अघि सर्नु, अनि विना गृहकार्य गुठी विधेयक संसदमा प्रस्तुत गरी पछि फिर्ता लिनु वर्तमान सरकारका उल्लेखनीय अपरिपक्व र अलोकप्रिय कदमका ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ ।
    नेपालको संसदीय प्रजातन्त्रको इतिहासमा धेरै किसिमका सरकारहरुको गठन र संचालन भएको देखिन्छ, कहिले काँग्रेसको नेतृत्वमा एकल र मिश्रित सरकार, कहिले राप्रपाको त कहिले वामपन्थीको नेतृत्वमा मिलीजुली सरकार गठन भएको पाइन्छ । सबैखाले सरकारलाई मूल्यांकनको तराजुमा हालेर तौल गर्दा तराजुको ढक असफलतातिर नै ढल्केको पाइन्थ्यो, तर वर्तमान के.पी.ओली नेतृत्वको सरकार विगतका ती बहुरुपी सरकार भन्दा पनि छिट्टै जनताबाट आलोचित र तिरस्कृत हुन पुग्यो । तीन करोड नेपालीले आशा र भरोसा गरेको, इतिहासको लामो कालखण्डमा कम्युनिष्टले बहुमत प्राप्त गरेको सरकारको यो दिशाहीन कार्यशैली र कच्चापन सबै नेपालीको लागि दुर्भाग्यपूर्ण, गम्भीर र सोचनीय अवस्था हो ।
    नेपालजस्तो सानो, गरिबी र भौगोलिक विविधता भएको देशमा संघीय गणतान्त्रिक व्यवस्था लागू गर्नु भनेको बोकालाई  हात्तीको भारी बोकाउन खोज्नु जस्तै मुर्खता रहेछ भन्ने कुरा प्रमाणित हुँदैछ । यहि अवस्थामा सुधार नहुने हो भने लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको दोस्रो कार्यकालको चुनाव अनिश्चित देखिन्छ । देशको राष्ट्रिय बजेटको ठूलो हिस्सा संघीय प्रान्तिय र स्थानीय तहका मन्त्री, सांसद र जनप्रतिनिधिको तलब भत्ता र सेवा सुविधामा खर्च भएपछि देश सोमालिया र इथियोपियाको हाराहारीमा पुगिहाल्छ ।
    अनि विगत वर्ष कम्युनिष्ट सरकार र पार्टीको राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिएको र दशैंमा राजा महाराजाको शैलीमा टीका प्रदान गर्ने सँस्कारले पनि ठूलै चर्चा पाएको थियो । किन हिजो परिवर्तनका ठूला सपना बाँड्ने र कुरा गर्ने व्यक्ति संस्थाहरु आज उहि पुरानै यथास्थितिमा रमाइरहेका छन् । यो वडा बिडम्बना, रहस्यमय र खोजको विषय बनेको छ । अन्तमा, नेता महोदयहरु हो ! तिनीहरुको राजनैतिक यात्रारुपी गाडीको स्टेरिङ जटिल भड्खालोतिर मोडिन खोजेको छ, बेलैमा होस् गरी स्टेरिङ सोझ्याउ, आफ्ना बोली व्यवहार र बाचालाई सभ्य र शिष्ट बनाउ, समयले सधैभरी तिमीलाई मात्र साथ दिने छैन, समय बलवान छ, यो कसैको अधिनमा बस्दैन । नेताज्यूहरु छातिमा हात राखेर सोच्नुहोस् त सँगै स्वतन्त्र भएका उत्तर र दक्षिणका छिमेकीहरुले विकासमा कत्रो फड्को मारिसके हामी जहिले पनि जहाँको त्यहिँ, अलिकति जिम्मेवार बोध र सरमको पनि ख्याल गर्नुहोस् है ।