2019 October 17/ 01:44: 23am

जी.एन. प्रधान
    देश संघीयतामा गइसकेपछिको पहिलो संघीय र प्रदेश सरकार बनेको पनि करिब २ वर्ष हुँदैछ । प्रदेश २ बाहेक अन्य ६ ओटा प्रदेशको प्रदेश सरकार पनि नेकपाको रहेको छ । तर अहिले सम्ममा नेकपाको एकल बहुमतको सरकारले जुन रुपमा परिवर्तनका अनुभूतिहरु दिनुसक्नु पर्दथ्यो । त्यो दिन सके जस्तो देखिँदैन ।  अपितू देशमा संघीयताको संरचनाको यो संक्रमणकाल भएर पनि हुन सक्छ, सरकार सामु नयाँ नीति नियम बनाई लागू गर्न तथा कार्यान्वयन गर्ने पक्ष एउटा चुनौतीको विषय पनि हो । एकातिर लामो समयसम्म परम्परा एवं सँस्कृतिको जग बसेजस्तै गहिरिएर बसेको रुढिवादी, पूँजीवादी चिन्तनले सरकारको नयाँ कदमलाई स्वीकार्न सक्ने अवस्था रहेको छैन भने अर्काेतिर आफूलाई प्रजातन्त्रवादीको कट्टर हिमायति भनी दावी गर्ने नेपाली काँग्रेसजस्ता पूँजीवादी चिन्तनका दक्षिणपन्थी पार्टीहरु वर्तमान नेकपाको हरेक कामहरुलाई असफल पार्ने एकमात्र सुत्र अपनाएर अघि बढिरहेको यथार्थलाई नकार्न सकिन्नँ ।
    कहिले अपराधिक रुपमा घट्न पुगेका घटनाहरुलाई मुद्दा बनाएर त कहिले गुठी विधेयकको विषयलाई लिएर कहिल्ये विषादी तरकारी भित्र्याएको विषय लिएर त कहिले भ्रष्ट व्यक्तिहरुबाट भए गरिएका कार्यकर्ताहरुलाई नै प्र.म.को केपी ओलीलाई दोषी देखाएर जनता बीचमा कसरी नंग्याउन सकिन्छ भन्ने तिलतिलको खोट (गल्ती) खोतलेर सडक गाइजात्रा देखाउनमा सक्रिय रहेको छ ।
    भर्खरको यो नयाँ संरचना अनुसारको संक्रमणकालको सरकार संचालनमा साथ सहयोग दिनमा हैन कसरी (एमाले+माओवादी) को एकीकृत सरकारको छविलाई वितृष्णा फैलाई दिने भन्नेमा न्वारनदेखिको शक्ति खर्चिरहेको छ । निश्चय नै यो पहिलो ५ वर्ष त देशमा संघीय शासन प्रणालीलाई व्यवस्थित गर्नकै लागि पनि लाग्ने समय हो । पुरानो संरचनाको नीति नियम अनुसार काम व्यवहार गर्नमा छाप तथा आदत बसिसकेका पुराना सोच र व्यवहारका मानिसहरुलाई नयाँ संरचनाको नियममा रुपान्तरण गर्नुपरेको छ भने अर्काेतिर नयाँ समयमा जन्मि हुर्किएका र जन्मदै देखि पश्चिममा हावा पानीको प्रभाव परेका युवा जगतको सोचाईमा परिश्रममुखी बनाउनमा प्रयास गर्नुपर्ने भएको छ । यो पनि एउटा चुनौतीको विषय हो ।
    यतिसम्म कि माटोको श्रम गर्न नचाहिने कोठे, टेबुले श्रममुखी जमातहरुको तिव्र विकासलार्य नियन्त्रण गर्न पनि उत्तिकै जरुरी भइसकेको छ । अहिले केहि दशक (झण्डै २ दशक) यतादेखिको मानिसहरुमा कामै नगरि मुखैमा खानेकुरा आइदियोस्, माटो हुन नपरोस् तर मिठोमिठो खान पाओस् भन्ने जस्ता मनोवृत्तिको विकास भएको पाइन्छ । कोहि भु–माफियाहरु जमिन खरिद विक्रीको नाममा आँखा चिम्लेर जग्गा कब्जा गर्दै घर घडेरीको नाममा जमिन बाँझो राख्न पाएकोमा आनाको दाम हिसाब गर्दै मस्ती रमाइरहेका छन् त कोहि दश नंग्रा खियाएर पनि आफ्नो फसलको उचित दाम नपाएर झोक्रिन बाध्य छन् ।
    सरकार सकेसम्म सबैलाई रोजगार नभए बेरोजगार भए पनि दिने भनी झन् हुँदाखादाको अलिअलि जोश जाँगरलाई पनि मार्ने मनसायको आश्वासन फुक्ने जनतालाई झनझन अल्छी बनाउन खोज्दैछ । हुन त १५÷२० वर्षसम्म शिक्षामा लगानी गरे बापत शैक्षिक प्रमाणपत्र राखेर धितो दिने भन्ने हल्ला चलाएको पनि नसुनिएको हैन । तर यो कतिको कार्यान्वयन भयो । प्रमाणपत्र धितो राखेर आर्थिक सुविधा पाउनेलाई नै थाहा होला ।
    जेहोस् अहिले मुलुक दिशाहीन अवस्थाको मान्छे जस्तै भइरहेको छ । न त पुरानो नियम कानुनलाई मानेर अघि बढ्ने न त नयाँ नियमको दह्रो कार्यान्वयन पक्षलाई पर्खेर बस्ने । अहिले यहि दुविधामा सरकार र जनता अघि बढिरहेको छ । यहि सरकारी पक्षको कमजोरीपनलाई आफ्नो उपयुक्त अवसर सम्झेर के कसरी हुन्छ सरकारलाई बदनाम गरी आगामी निर्वाचन सम्ममा लोकप्रिय बन्ने दिवास्वपना नेपाली काँग्रेस रहेको छ । केहि अन्य राजनीतिक दलहरु लागि परेको छ । त्यसैले सरकार संचालनमा रहेका दल वा पार्टीले राज्यलाई व्यवस्थित रुपमा संचालन गर्ने नेतृत्वकारी भूमिका निर्वाह गर्न आवश्यक छ भने अन्य (सरकार बाहिरका) दलहरु सरकारलाई सही रुपमा अघि बढाउन सकारात्मक ढंगले सहयोग गर्नु पर्दछ । तर यो देशमा यसको सट्टामा सरकारले जस्तोसुकै काम गरेपनि विरोधका लागि विरोध गर्नु शिवाय नयाँ परम्परा बसेको देख्न सकिएन ।
    देशका जिम्मेवार भनिने राजनीतिक दलहरुमा के नकरात्मक सोच र चिन्तनले बास जमाइसकेको छ भने सत्तामा बसेको दललाई राम्रो वातावरणमा काम गर्न दिइयो भने आफ्नो पार्टीहरुको साख भुसुक्कै गिरेर÷लोप भएर जानेछ । भविष्यमा सरकार संचालन गर्न पाउने, सत्तामा जान पाउने छैन । त्यसैले सरकारको जे जसरी होस् आँखा चिम्लेर विरोध गर्नुपर्छ । देशमा शान्ति र सुव्यवस्थाको अनुभूति दिलाउनुहुँदैन भन्ने जस्ता नकरात्मक सोचहरुले घर जमाएको छ ।आखिर देश सपार्ने पनि हामी नै हो, विगार्ने पनि हामी नै हो, सज्जन, इमानदार मानिस÷जनता बनेर देखाउने पनि हामी नै हो, खराब बदमास, अराजक र अपराधि मानिस बन्ने पनि हामी नै हो । यदि थोरै मात्र भएपनि व्यक्तिगत, पारिवारीक र गुटगट महत्वकांक्षा मनमा नराख्ने हो भने यो समाज अनि यो देशमा कुनै पनि कुराले अशान्ति आउने थिएन ।
    अहिले सार्वजनिक सरकारी कार्यालयहरु कुनैपनि यस्ता छैनन् कि पूर्णतः जनताप्रति बफादारी र इमानदारी होस् । सरकारी कर्मचारीलाई बढीभन्दा बढी भ्रष्ट बनाउने र आर्थिक आशामुखी बनाउनमा प्रेरित गर्ने भनेको मालपोत कार्यालय, भन्सार कार्यालय, नापी कार्यालय अग्रपंक्तिमा रहेको छ भने देशमा शान्ति सुशासन कायम राख्ने र अपराध नियन्त्रणको जिम्मा पाएका गृह मन्त्रालय अन्तर्गतका प्रहरी प्रशासनका उच्च निकायका व्यक्तिहरु नै घुसखोरी र भ्रष्टाचारीको रुपमा प्रमाण सहित सार्वजनिक हुनुले देश कसरी सुशासनमा फर्किएला भन्नेमा कहाली लागेर आउँछ । र, प्रहरी प्रशासनतिर पनि विश्वास गुम्दैछ । एउटा उच्च प्रहरी अधिकारीलाई उहि प्रहरी निकायले हातमा हत्कडी लगाएर अदालत र कारागार लगेको देख्न पर्नु कस्तो बिडम्बना, कति लाज लाग्दो ।
    जो अगुवा उहि बाटो हगुवा भनेझैं देशका उच्च नेताहरु र जिम्मेवार उच्च पदस्थ व्यक्तिहरु नै आर्थिक चलखेलका लागि र नकरात्मक सोचका लागि अग्रज (अपराधिक) व्यक्तिको रुपमा अघि बढेसम्म कहिले देशमा शान्ति र विकास हुन्न । आफूहरुले नै कोकोहोलोको आवाज निकालेर अनि हल्ला भयो भनेर हुन्छ ? अहिले भएको यहि छ । सांसदहरु जस्तो जनप्रतिनिधिहरु संसद्मा झगडा गर्नु कत्तिको उपयुक्त छ ?
    सबैभन्दा मानिसमा हुनुपर्ने गुण भनेको असल ज्ञान हो । यो सबै मानिसमा आत्मज्ञानको रुपमा हुनु आवश्यक छ । जबसम्म मानिस आफैंमा नैतिक ज्ञान, आत्मज्ञान वा सेवाको भावना रहँदैन तबसम्म कस्तै नियम कानून बनाएर पनि रोक्न÷छेक्न सकिँदैन । अहिले ययस्तै भावनाको अभाव खट्किरहेको छ । कुनैपनि छोराछोरीले आफ्ना बाबा, आमालाई कसरी आदर सम्मान गर्ने हो त्यो उहि छोराछोरीमा भरपर्छ । यसको लागि सरकारले पाठ सिकाइरहनुपर्ने होइन । त्यसमा पनि हामी सम्पूर्ण मानिस कुनै न कुनै धर्मप्रति विश्वास गर्छाैै, आस्थावान् छौं, धर्मले कसैलाई अन्याय, अत्याचार र हिंसा गर भनेर भन्दैन, भनेको छैन तैपनि हामीले कुनै न कुनै किसिमको अपराधजन्य कामहरु गर्दछौं । नजानेर भुलचुकमा गरिएको अपराध त क्षमा योग्य होला, तर कोहि कसैले निहित स्वार्थको लागि नियोजित रुपमा अपराध गर्न पुग्ँछ भने निश्चय नै त्यो क्षमायोग्य हुन सक्दैन । अहिले यस्तै भइरहेको छ । आर्थिक र यौन अपराधिकरणको व्यापक विकास भएको छ । यो भनेको मानिसको पूर्णत अपराधिक चेष्टा हो । हदैसम्मको दण्डनीय कार्य हो ।
    तसर्थ मानिसको भित्रि उपजको आकस्मिक घटना प्रवृत्तिलाई त रोक्न नसक्ला तर पेशेवर र मनोवृत्तिका अपराधिक गतिविधिहरुलाई भने सरकारले अवश्य पनि नियन्त्रण गर्न सकिन्छ, गर्नैपर्छ । कुनैपनि किसिमको पेशेवर अपराधिलाई आफन्त र चिनजानको साइनो लगाएर दण्ड सजायँबाट उन्मुक्ति भने कदापि दिनुहुन्न । यिनै व्यक्तिहरु हुन् समाज र राष्ट्रलाई नै अशान्त पार्ने, बदनामी गराउने । सरकार र राष्ट्रकै इज्जत छवि गिराउने । यतिमात्र होइन आजभोलि सरकारको छवि विगार्न वा सरकार असफल भएको देखाउने, दुरासययुक्त भावनाले पनि कोही कसैलाई नियोजित रुपमा घटना घट्न लगाएर जनताको मन आफूतिर तान्ने उद्देश्यले पनि अशान्तको वातावरण सिर्जना गर्नमा उद्दत रहेका छन् । राज्य विखण्डन गर्ने, सरकार गिराउने, व्यवस्था बदल्ने भन्ने जस्ता कथित विचारबाट क्रियाशील व्यक्तिहरुलाई अनावश्यक प्रोत्साहन गर्ने पीत चरित्रका पत्रकार सञ्जालहरु पनि आजभोलि मोफसलमा देखा पर्दैछन् । यहि र यस्तैको बढ्दो क्रियाकलापले पनि सरकारको हरेक सकारात्मक कार्यहरुलाई समेत छायाँमा पार्ने कोसिस भइरहेको छ । दुईतिहाईको नेकपाको सरकार छ भन्ने अनुभूति गर्नमा द्धुविधा छ । यसैले पनि सरकार अनावश्यक अफवाह फैलाई राज्यलाई निराशाजनक फैलाउने कथित संचार संजाललाई पनि कठोर भएर नियन्त्रण गर्न लाग्नै पर्छ । देशमा सरकार छ र सरकारले राम्रो काम गर्न खोज्दैछ भन्ने अनुभूति दिनमा लाग्नैपर्छ । सकारात्मक काम कार्यहरुलाई छायाँमा पार्दै नकरात्मक सन्देशहरु फैलाउनमा सक्रिय संजालहरुलाई पूर्णतः नियन्त्रण गर्नैपर्छ ।
    अहिले कतिपय पीत पत्र संचार संजालहरु सरकारको राम्रो कामहरुलाई ओझेलमा पार्दैै १,२,३....को गलत कार्यहरुको हौवा पिटाएर वर्तमान नेकपाको सरकार असफल भएको भन्ने जस्ता गलत सन्देश दिनमा सक्रिय भएर लागिपरेको छ । कथित विद्वान ज्योतिषिको, धर्तीमाताको हवाला दिँदै मंसिर १ मा राजा राजदरबार फर्किने जस्ता हौवा सुनाएर पनि वर्तमान सरकारप्रति वितृष्णा फैलाउने कुचेष्टाहरु पनि प्रशस्तै गर्न थालिएको छ ।
    यस कुरामा जनताको मतबाट पूर्णतः नाङ्गिन पुगेकाले केहि राजनीतिक व्यक्तिहरु र सदैव देशलाई अस्थिर र अन्यौल होस भनी कामना गर्ने अपराधिक चरित्रका व्यक्तिहरुको पनि ठूलो सक्रियता रहेको छ । यस्ता राज्य सरकारलाई कमजोर र बदनाम गर्न लागि परेका अराजक समूह संजाललाई कठोर भएर उत्रनै पर्छ । प्रजातन्त्रको नाममा जसलाई जे पनि भन्न र जे पनि गर्ने छुट कसैलाई हुन्न र दिनुहुँदैन । सरकार शान्ति र अमनचयन कायम गर्नमा दह्रो भएर अगाडि बढ्नैपर्छ । अपराधी र अराजक चरित्र अनि भ्रष्ट कर्मचारीहरु प्रति माया, मोह कदापि पनि राख्नु हुन्न । दिएको जिम्मेवारी पूरा नगर्ने व्यक्ति जोसुकैलाई कडा कारवाही गर्नैपर्छ । तबमात्र सरकार भएको अनुभूति गर्न सकिन्छ ।