2019 June 27/ 03:51: 27pm

    जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले निर्माण गरेको संविधानले गरेको ब्यवस्था अनुसार गठित स्थानीय सरकारले अधिकार क्षेत्र भित्र रहि गरेका कामहरुले नागरिक खुशी हुन थालेका छन् । घर दैलोमै रहको सरकारले आफ्ना समस्या समाधानाका लागि गरेको पहलले जीवनभर प्राप्त नहुने खुशी दिलाएको अनुभुती गराएका छन् । चाहे सडक निर्माण होस् वा नागरिकता प्राप्ती होस् । पुनर्निर्माण होस् वा अन्य सेवा सुविधामा किन नहोस् सरकार घर दैलोमै भएको अनुभुति नागरिकहरुले गर्न थालेका छन् । त्यसको एउटा मात्रै उदाहरण हेर्ने हो भने महाभारत, खानिखोला जस्ता विकट क्षेत्रका गाउँपालिकाका जनप्रतिनिधिहरुले नागरिकहरुकै लागि आयोजना गरेको एकिकृत सेवाबाट लाभ लिनेहरुको अनुहारको खुशी नियाल्दा मात्रै पनि सरकार भएको अनुभुति गर्न सकिन्छ । 
    त्यसो त स्थानीय सरकारहरु सबैले नागरिकहरुका लागि केहि न केहि नयाँ र दिर्घकालिन योजनाहरु लिएर अगाडी बढिरहेकै छन् । विकट क्षेत्रबाट सदरमुकाम आउन लाग्ने समय, सडक तथा अन्य विकासका हिसावले पछि परेको अवस्थामा स्थानीय स्तरमै सबै प्रकारका सेवा उपलब्ध गराउनु महत्वपूर्ण कुरा हो । महाभारत गाउँपालिका १ गोकुले घर भएकी ७० बर्षिया चरिमाया पहरीले अहिलेसम्म भएका कुनै पनि निर्वाचनमा मतदान गरेकी थिइनन् । पहिले पहिले निर्वाचनमा मतदान गर्न नागरिकता आवश्यक पर्दथ्यो, पछि मतदाता सहितको परिचय पत्र अनिवार्य भयो । परिचयपत्र र नागरिकता दुबै मध्ये एक गर्दा पनि उनले मतदान गर्न पाईनन् । गोकुलेकै ७६ बर्षिया जन्त्रिमाया मोक्तान पनि मतदान गर्ने अवसरबाट बञ्चित हुँदै आएकी थिईन् । ग्रामिण भेगमा विभिन्न कारण महिलाहरुको नागरिकता बनाउन अवरोध हुँदै आएको थियो । नागरिकता नहुँदा मतदान गर्न र मतदाता परिचयपत्र बनाउन असम्भव थियो । नागरिकता नहुँदा कुनै बेला नेपाली नागरिक नै नभएको अनुभुति समेत जन्त्रिमाया र चरिमायालाई पर्दै आएको थियो । 
    अरु बेला त त्यस्तो हुँदैन थियो, जेष्ठ नागरिक सुरक्षा भत्ता नपाउँदा र लाईनमा बसेर मतदान गर्न नपाउँदा नेपाली नागरिक नै होईन कि जस्तो अनुभुुति हुन्थ्यो’–जन्त्रीमायाको अनुभव छ । लामो समय पछि आफ्नै मान्छेले निर्वाचन जितेपछि गाउँमै नागरिकता र मतदाता सहितको फोटो खिच्ने अवसर मिल्यो । गोकुलेमा महाभारत गाउँपालिकाको ब्यवस्थापनमा नागरिकता वितरण सहितको मतदाता नामावली संकलन समेत गरिएको थियो । शिविरमा थुप्रै जेष्ठ नागरिकहरुले वर्षाै बन्न नसकेका नागरिकता प्राप्त गरे भने नागरिकता सँगै मतदाता नामावलीमा समेत नाम लेखाए । उमेर ढल्कन लाग्दा समेत मतदानमा सहभागि हुन नपाउँदा खिन्न भएको मन मतदाता परिचयपत्र प्राप्त गर्दा पनि खुशी देखिएको छ । नागरिकता प्राप्त नहुँदा भएको अवरोध नागरिकता प्राप्त भए सँगै फुकेको छ 
    जिल्लामा पछिल्लो मसिर मसान्तसम्मको तथ्याङ्कका आधारमा २ लाख ७४ हजार ५ सय ८१ जनाले मतदाता परिचयपत्रका लागि फोटो खिचाएका छन् । १६ वर्ष पुग्ने वितिक्कै नागरिकता बन्ने भए पनि मतदानमा सहभागि हुन १८ वर्ष पुग्नु पर्ने कानुनी प्रावधान छ । १८ वर्ष पुगेपछि स्वतः फोटो खिच्ने नागरिकहरु मतदाता सूचीमा समावेश हुनेछन् । निर्वाचन कार्यालयमा मात्रै संघ र प्रदेश सरकारको निर्वाचन भएको एक वर्षमा ६ सय ६९ जनाले फोटो खिचाएका छन् । २ सय ८३ महिला र ३ सय ८६ पुरुष गरी ६ सय ६९ जनाले तस्विर खिचाएका हुन् । ७ जनाले जिल्ला स्थानान्तरण गरेका छन् भने २४ जनाले सच्याउन निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा ६ सय २७ महिला, ७ सय ५ पुरुष गरी १ हजार ३ सय ३२ जनाले फोटो खिचाएका छन् । निर्वाचन पछि कुल जम्मा २ हजार २३ जनाले फोटो खिचाएका छन् । नागरिकता प्राप्त गर्ने नैसर्गिक अधिकारलाई स्थानीय सरकार निर्वाचित भए लगत्तै सहजता प्राप्त भएको छ । अधिकार उपयोग गर्न नागरिकहरुले सरकार भएको महस्ुस गरेका छन् ।