2019 March 25/ 04:56: 46am

    इतिहास बोकेको पुण्यमाता खोलाको संरक्षण तथा खोलाको किनारबाट सडक खोल्ने तीन नगरपालिकाको निर्णय सहनीय छ। बनेपा पनौती सडक, अरनिको सडक, बनेपा नाला सडक तथा अन्य भित्री सडकहरुले थपिदै गएका सवारी साधनहरुको भार थाम्न सकस हुँदै गएको सन्दर्भमा पनौती, धुलिखेल र बनेपा नगरपालिकाले पुण्यमाता खोलाको सिमांकन गरी करिडोर निर्माण शुरु गरेका छन्। स्थानीय सरकारको बलियो उपस्थिति देखिने उक्त निर्माण कार्यले शहरीकरणको विस्तार मात्रै नभई लोकमार्गको सवारी चापलाई नियन्त्रण गर्नेछ। पुण्यमाता थुनिँदा केहि वर्ष अघि बनेपामै सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको, घर भित्र खोला पसेको, खेतीबाली नष्ट बनाएको ताजा उदाहरण छन्। स्थानीय सरकार निर्वाचित भएको झण्डै डेढ वर्ष पछि शुरु भएको अभियान तीनैवटा नगरको शान हो। 
    पुण्यमाता खोलाको सिमांकन, सडक ग्राभेल सँगै बगैचा निर्माण कार्य गरी बैकल्पिक मार्ग संचालन हुनेछ। पनौतीको त्रिवेणीघाटबाट बनेपासम्मको ६ किलोमिटर पुण्यमाता करिडोरको निर्माण कार्य पनौतीले शुरु गरेको छ। खोलाको सिमांकन कायम गरी सिमांकन अनुसार पुरिंदै गएको खोला खोल्ने काम पहिलो चरणमा सम्पन्न भईसकेको छ। खोलाको सिमांकन ६ मिटर देखि २२ मिटरसम्म चौडाई छ। ६ मिटरको चौडाईलाई ८ मिटरसम्म बनाईनेछ। सिमांकन सम्पन्न भए लगत्तै दोश्रो चरणमा पनौतीको दुध मिल देखि धुलिखेलको सिमानासम्म गाडी चल्ने गरी एकातर्फ १० मिटरको सडक निर्माण हुनेछ। करिडोर निर्माणका लागि पनौतीको अलग्गै कोष स्थापना गरिएको छ। कोषमा झण्डै ७ करोड जम्मा भईसकेको छ। खोलाको सिमाना कायम गरी खोलाबाट १५÷१५ मिटरको मापदण्ड अनुसार मात्रै संरचना निर्माण गर्न पाईनेछ। पुण्यमाता करिडोर खोलाको सिमाना १५ मिटर कायम गरिएको छ। पुण्यमाता करिडोरमा ग्याभिङ्ग तार भर्ने, ग्राभेल भर्ने र हिमपाईप र कल्भर्ट समेत निर्माण हुनेछन्।
    धुलिखेल नगरपालिकाले सिमानामा पर्ने पुण्यमाता करिडोर खोल्न तयारी गरेको छ । बजेट विनियोजन भई कार्य प्रारम्भ गर्ने तयारीमा धुलिखेल नगरपालिका छ। सिमांकन लगत्तै निर्माण कार्य शुरु हुनेछ। बनेपा नगरपालिकाले सिमानामा पर्ने करिडोर निर्माणका लागि ३९ लाख रकम विनियोजन गरिसकेको छ। प्रदेश सरकार र केन्द्र सरकारले करिडोरका लागि रकम विनियोजन गरिसकेका छन्। नाला, साँगा देखि बनेपा क्षेत्रको पुण्यमाताको सबै क्षेत्रमा करिडोर निर्माण गरी पार्क सहितको बगैंचा निर्माण हुँदा सुन्दर नगरको परिकल्पना साकार हुनेछ। अरनिको राजमार्ग तथा सहायक राजमार्गको सवारी चाप र ट्रिपर ब्यवस्थापनलाई उक्त मार्गले सहज बनाउनेछ भने बस्ती विस्तार र जग्गाको ब्यवस्थापन, खोला अतिक्रमण हुँदा बाढीमा बस्ति डुबानका समस्या समाधान हुनेछ। तीनवटै नगरको शानका रुपमा लिएको पुण्यमाता करिडोर विकास तथा विस्तारका लागि अझै तदारुकता आवश्यक छ।