2018 November 19/ 09:00: 54am

    देश तथा विदेशमा रहेका नेपाली हिन्दु धर्मावलम्बीहरुले दशैं मनाएका छन्। दशैं सकिएसँगै नयाँ योजना र समीक्षासँगै तिहारको तयारी शुरु भएको छ। दशक अघिका मुलुकका समस्या शान्तिपूर्ण वातावरणसँगै मुलुकको नयाँ संरचनाले विकास निर्माणका बहस चाडपर्वमै शुरु भएका छन्। स्थानीय सरकारले विनियोजन गरेको बजेटको कार्यान्वयन, योजनाहरुको प्रभावकारीता तथा राष्ट्रले लिएको सुखी नेपाली, सम्वृद्ध नेपालको परिकल्पना पूरा गर्न चाडपर्वले विशेष योगदान पु¥याएको छ। तीन तहका सरकारका प्रतिनिधिहरुले आफु सहभागी हरेक कार्यक्रममा मुलुकको सपनाको कार्यान्वयनका बारेमा जनताको चासो र सरोकारको विषय छलफल भएको छ। 
    दशैं देशभर शान्तपूर्वक भएको छ। छिटफुट दुर्घटना बाहेक मुलुकमा अन्य दुर्घटना हुन पाएनन्। बढ्दो दुर्घटना न्युनीकरण गर्ने उपाय, चोरी लुटपाट नियन्त्रणका लागि प्रहरीको सक्रियताले देश शान्तिपूर्वक भएको सुरक्षा निकायको निष्कर्ष छ। जिल्लाको हकमा सामान्य घटना र दुर्घटना बाहेक दशैं नै प्रभावित हुने कुनै घटना हुन पाएनन्। नमोबुद्ध नगरपालिकाको कानपुरमा भएको घटनाले त्यो क्षेत्र शोकमग्न भएको छ। निर्वाचनको समयमा पनि मेथिन्कोट प्रभावित बनेको थियो। सामान्य ब्यक्तिलाई रातको समयमा लुटपाट पछि हत्याको घटनाले कानपुरलाई प्रभावित बनायो। प्रहरीले घटनाको मसिनो ढंगले अनुसन्धान गरिरहेको छ। दशैंको टिकाकै दिन भएको घटनामा प्रहरीले अनुसन्धानका लागि केन्द्रिय स्तरको अनुसन्धान समेत शुरु गरेको छ। प्रशासनले जिल्लाबासीहरुको चाडपर्व तथा दैनिक जीवन सहज बनाउन शान्तिपूर्ण वातावरण बनाउन विशेष योजना तयार गरी कार्यान्वयन शुरु गरेको थियो। जसका कारण अन्य क्षेत्रमा त्यसको प्रभाव प¥यो र जिल्ला शान्त बन्यो । 
    जिल्ला सुरक्षा समितिले नागरिकहरुको सुरक्षा तथा चाडपर्वमा हुन सक्ने सम्भावित घटनाहरु रोक्ने विशेष योजना तयार गरेको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेले मातहतका सबै चौकीहरु, प्रहरी जवान तथा प्रहरीका अन्य युनिटहरुले अपनाउनु पर्ने सचेतना तथा तयारीका बारेमा निर्देशन दिएको थियो। दुई मुख्य राजमार्ग अरनिको र विपी तथा सहायक मार्गहरुमा सवारी दुर्घटना, क्षमता भन्दा बढी लोड बोक्ने उपर कारवाही, भिभिआई र भिआईपीहरुको आगमन मार्ग, मुकाम स्थल सुरक्षा, अबैध चोरी पैठारी लगायत जिल्लाका प्रमुख शहर, आर्थिक कारोवार हुने बैंक वित्तिय संघ संस्था, सरकारी कार्यालयहरुको सुरक्षा, ब्यापारीक केन्द्र, बसपार्क, टिकट काउण्टर, धार्मिक मेला पर्वहरु लाग्ने स्थापन, सपिङ्ग मल तथा सुपर मार्केट जस्ता महत्वपूर्ण स्थानहरुमा हुन सक्ने चोरी लुटपाट, डकैती, तस्करी, कालोबजारी लगायत अन्य घटना हुन नदिन जिल्ला एकिकृत सुरक्षा योजना २०७५ लागु गरिएको थियो।  चाडपर्वको अवसर पारी मादक पदार्थ सेवन र लंगुरबुर्जा तथा जुवा तास नियन्त्रण, खाद्य पदार्थ तथा औषधीहरुको मुल्य बृद्धि रोक्न छड्के जाँच गरिएको थियो। गत वर्ष प्रहरी हिरासतमै दशंै मान्नेहरु थिए। यो वर्ष त्यस्तो अवस्था आएन। 
    सवारी साधनको चेकिङ्गमा कडाई, यात्रुसँग धेरै भाडा लिने सवारी साधनलाई कारवाही, बजार अनुगमन जस्ता सक्रियताले दशैं दशा बन्न पाएन। गुण्डागर्दी गर्नेहरु विरुद्ध अप्रेसन, प्रहरीको दैनिक पिकेट, पैदल तथा ग्रामीण बस्तीमा पेट्रोलिङ्ग र गाडी मोबाईलका साथै सादा पोशाकमा प्रहरी परिचालन समेत भएको थियो। प्रहरी सक्रियताले ढुक्कसँग दशैं मान्ने अवस्था सिर्जना भएको हो। चाडपर्वलाई खानपान मात्रै भन्दा पनि भेटघाट र आगामी योजनाका रुपमा लिने हो भने चाडपर्वको महत्वलाई थप बल मिल्नेछ।