2018 November 19/ 09:35: 02am

बनेपा/प्रथम इण्डो – नेपाल खुल्ला तौल समुह फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता तथा तेश्रो राष्ट्रिय पुरुष तथा महिला तौल समुह क्योकुशिन–सेईसिन(फुलकन्ट्याक्ट) कराँते प्रतियोगिता बनेपामा हुने भएको छ । 
    आगामी कार्तिक १६ र १७ गते आयोजना हुने उक्त प्रतियोगिताका बारेमा बनेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघका केन्द्रिय अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका झण्डै तीन सय खेलाडीहरु सहभागि हुनेछन् । महिला र पुरुष ७÷७ तौल समुहमा सहभागि हुने खेलाडीहरुको ब्यवस्थापन तथा प्रतियोगिताको तयारीका लागि १६ लाख रुपैया खर्च हुने आयोजक काभ्रे क्योकुशिन–सेईसिन काईकान कराँते संघका संयोजक रहदेव पोटेले जानकारी दिए । 
    खेलको माध्यमबाट स्वस्थ र सबल समाज निर्माण गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा समेत उदाहरण प्रस्तुत गरेको उक्त संघले प्रथम राष्ट्रिय फुलकन्ट्याक्ट प्रतियोगिता, प्रथम र दोश्रो  राष्ट्रिय रेफ्रि तथा कोच सेमिनार, प्रथम र दोश्रो राष्ट्रिय कराँते सेमिनार, शसस्त्र प्रहरी फोर्सका लागि कराँते सेमिनार, दोश्रो राष्ट्रिय प्रतियोगिता, बार्षिक प्रमोशन टेष्ट, समर क्याम्प तथा विन्टर क्याम्प, विभिन्न सामाजिक कृयाकलापहरु गर्दै आएको छ । 
    महिला तथा बालबालिकाहरुको आत्मसुरक्षा कला सिकाउने मुख्य उदेश्य राखेको उक्त संघले अन्र्तराष्ट्रिय कराँते सेमिनार, रेफ्रि तथा कोच, अन्र्तराष्ट्रिय प्रतियोगिता लगायतका कार्यक्रमहरु गर्ने योजना बनाएको छ । पत्रकार सम्मेलनमा खेलाडीहरुलाई पुरस्कार, मेडल तथा अन्य पुरस्कारहरु उपलब्ध गराउन आवश्यक सहयोगका लागि सरोकारवाला निकायहरुसँग अनुरोध गरिएको थियो । प्रथम इण्डो – नेपाल खुल्ला तौल समुह फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगितामा भारत र नेपालका खेलाडीहरु सहभागि हुनेछन् ।