2018 November 19/ 08:23: 15am

बनेपा/प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ बार्षिकोत्सव साधारण सभा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    अध्यक्ष सागरनाथ कपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख बादेले नगरबासीहरुको स्वास्थ्यलाई ध्यान दिदै आँखा अस्पतालसँगको सहकार्यमा मोतियाविन्दु भएकालाई निशुल्क उपचार र पाठेघर र स्तन क्यान्सरका विरामीहरुलाई निशुल्क उपचारका लागि सम्झौता गर्ने तयारी गरिएको बताए । स्वास्थ्यका यस्ता उपचारमा सहयोग हुँदा पनि नगरबासिहरुलाई सहज हुने बताउँदै बादेले सहकारीहरुलाई मुनाफाको एक प्रतिशत सामाजिक कार्यमा खर्च गर्न अनुरोध गरे । सभामा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रेपलञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ, विभिन्न सहकारीका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए ।     
    उपाध्यक्ष फिरोज शाक्यको स्वागत, सचिव सुमन चौ प्रधानले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बलराम मानन्धरले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक भरत दाहालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको ३५ लाख ८८ हजार ५ सय शेयर पुँजी, १ करोड ६९ लाख बचत संकलन र १ करोड ९४ लाख ऋण लगानी रहेको छ । ७ सय ५९ जना सदस्य रहेको उक्त सहकारीले शेयर सदस्यहरुलाई विभिन्न विद्याबाट सम्मान गरेको थियो । कार्यक्रम विकास श्रेष्ठले संचालन गरेको थियो /