2020 February 18/ 09:37: 49pm

सञ्जय न्यौपाने/भकुण्डेबेशी
नमोबुद्ध नगरपालिका साक्षर नगर घोषणा भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले साक्षर नगरपालिका भएको प्रमाणपत्र नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई हस्तान्तरण गर्दै साक्षर नगरपालिका घोषणा भएको आधिकारीकता प्रदान गरेका थिए । 
नगर भित्रका १५ वर्ष देखी ६० वर्ष उमेर समुहका ९६ दशमलव ४ प्रतिशत नागरिक साक्षर भएपछि साक्षर नगर घोषणा गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसीले साक्षर नगरपालिका बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै बाँकी रहेका निरक्षर व्यक्तिहरुलाई पनि साक्षर बनाउन जोड दिन नगरपालिकालाई अनुरोध गरेका थिए । कार्यक्रममा नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले पुर्ण साक्षर नगर बनाउन सुरु गरिएका अभियानलाई निरन्तरता दिने बताएका छन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाँई, शिक्षा विकास निर्देशनालय वाग्मती प्रदेशका निर्देशक चन्द्र प्रसाद लुइँटेल, जिल्ला समन्वय अधिकारी सच्युतराज उपे्रती, नमोवुद्ध नगरपालिकाका उप–प्रमुख रामदेवी तामाङ,  प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई , वडा अध्यक्षहरु एवं शिक्षा सँग सरोकार राख्ने विभिन्न व्यक्तिको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजालले साक्षर नगर घोषणा प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैबिच साक्षर नगर घोषणाको अवसर पारेर नगर प्रमुख तिमल्सिनाले २०७५ को एसईई मा जिल्ला प्रथम हुन सफल बाल उज्वल माध्यामिक विद्यालयका छात्र शुशिल गौतमलाई उच्च शिक्षाका लागि ६५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।  रिजालले  आफ्नो तलव भत्ताबाट सो रकम उपलब्ध गराएको  बताएका छन् । यसअघि पनि जनक माध्यामिक विद्यालयबाट एसईई उत्तिर्ण दिपेश गौतम र शिवराज चिमौरीया लाई  आर्थिक सहयोग गरिएको जनाएका थिए ।