2019 April 22/ 12:37: 25am

कुखुरामा ठुँगाठँुगको समस्या जुनसुकै उमेरमा देखिन सक्छ । अण्डा उत्पादन र चल्ला उत्पादनका लागि राखिएका क्रमस लेयर्स र प्यारेन्टमा यस खालको समस्या विभिन्न कारणहरुले देखिन सक्दछ भने कहिले काँहि ब्रोइलरमा पनि समस्या देखिन सक्दछ । विशेषगरि ठुँग्ने समस्या देखिनुमा खोरको प्रतिकुल व्यवस्थापनमा भर पर्दछ । जब कुखुराहरु तनावयुक्त वातावरणमा रहन वाध्य हुन्छन तब उनीहरुले एक अर्काको खुट्टामा ठुँग्ने, मलद्धारमा ठुँगने जस्ता समस्याहरु देखाउन थाल्दछन । यसरी ठँुग्ने समस्या बढ्दा कुखुराको शरीरमा घाउ हुन्छ, रगत बग्छ र रगत बगेपछि धेरै अरु कुखुराले घाइतेलाई ठुँगने समस्या ह्वात्तै बढेर जान्छ । यस्तो समस्या देखिएमा कुखुराको क्षति बढी हुन्छ भने उत्पादनमा हस आउँछ । यस्ता समस्याको समाधान सहज नहुने भएकाले यस्ता खालको समस्यालाई फर्ममा आउन नदिन खोर व्यवस्थापन पक्षलाई विशेष ध्यान दिनु पर्दछ ।
ठुँगाठँुग हुने कारणहरु र समाधान
१) कुखुराको घनत्व बढी हुनु
कुखुराहरुलाई प्रयाप्त ठाउँ नहुँदा यस्ता समस्या देखिन सक्छ । तसर्थ कुखुराहरुलाई निम्न अनुसारको आवश्यक क्षेत्रफल दिनु पर्दछ ।
-    पहिलो २ हप्ताको कुखुरालाई १÷४ वर्ग फिट प्रति कुखुरा
-     ३–८ हप्ताको कुखुरालाई १÷२ वर्ग फिट प्रति कुखुरा
-     ९–१६ हप्ताको कुखुरालाई १ वर्ग फिट प्रति कुखुरा
-     १७ हप्ता देखि माथिका कुखुरालाई १.५–२ वर्ग फिट प्रति कुखुरा
२) अत्याधिक गर्मी
बु्रडिङ पछिको हुर्कदो चल्लाहरुलाई अत्याधिक ताप दिएमा पनि ठुँग्ने समस्या आउँछ । ब्रुडिङमा पनि चल्लाहरुको व्यवहार अवलोकन पश्चात उपयुक्त तातो दिनु पर्दछ ।
३) अत्याधिक प्रकाश
चहकिलो सेतो चिमको लगातारको प्रकाशले कुखुराहरु एक अर्काप्रति रिसाहाको व्यवहार गर्दछन । हुर्कदो कुखुरालाई राति पुरै अध्यारो गराउनु पर्छ र अण्डा उत्पादनको समयमा १६ घण्टा भन्दा बढी प्रकाश दिनु हुदैन । प्रकाश बढी दिएमा तनावयुक्त वातावरणको सिर्जना हुन सक्दछ ।
४) प्रर्याप्त मात्रामा दानापानीका भाडा
प्रर्याप्त मात्रामा दानापानीका भाडा नहुनु वा प्रर्याप्त दानापानी खानको लागि प्रतिस्पर्धा हुनाले भोकाएका कुखुराहरुले एक आपसमा झगडा गर्न खोज्दछन जसले ठँुग्ने समस्या बढाउन सहयोग गर्दछ ।
५)असन्तुलित दाना
शक्तिबर्दक बढी भएको र कम रेसायुक्त पोषणले कुखुराहरुमा बढी सक्रियपन बढाउछ र आक्रामक व्यवहारको विकास गर्दछ । दानामा प्रोटिन र मिथियोनिनको मात्रा कमी भएमा पनि प्वाँख खाने समस्या देखिन्छ ।
६) धेरै रंगका कुखुराहरु एकै ठाँउमा ब्रुडिङ
विभिन्न रंगका कुखुराहरुका चल्लाहरु एकै ठाँउमा ब्रुडिङ गरेमा पनि ठुँग्ने समस्या आउछ ।
७) वातावरण परिवर्तन
कुखुराको बस्ने वातावरण परिवर्तन गर्दा वा पुरानो ठाउँबाट नयाँ ठाउँमा कुखुरा स्थानान्तरण गर्दा, तिनिहरुको लागि प्रयोग गरिएका दाना पानीका भाडा पनि संगै स्थानान्तरण गर्नु पर्दछ ।
८) नेष्ट बक्सको प्रर्याप्त उपलब्ध नहुनु
५ वटा कुखुरा बराबर १ वटा नेष्ट बक्स उपलब्ध गराउनु पर्दछ । नेष्ट बक्सको नजिक प्रकाशका लागि चिम राख्नु हुदैन ।
९) घाइते कुखुराको लागि अलग्गै ठाउँ
घाइते र मरेका कुखुराहरु खोरमा लामो समयसम्म रहँदा ठुग्ने समस्या बढ्छ तसर्थ घाइते कुखुराहरुलाई छुट्टै ठाउँमा राख्नु पर्दछ ।
अन्य रोकथामका उपायहरु
-    क्लोबर घाँस दिदा रेसा युक्त पोषणको मात्रा बढाउँछ र पचाउन समय बढी लाग्दछ ।
-    चल्लाको १०–१२ दिनमा टचिङ गराउनु पर्छ र ८०–९० दिनमा डिबिकिङ् गराउनु पर्छ ।
-    कोठा अध्यारो बनाउने र रातो चिम बाल्नु पर्छ ।
-    घाइते कुखुरालाई छुट्टै अग्लगै ठाउँमा राख्नु पर्छ ।
-    घाइते कुखुराको घाउमा कडा राग आउने औषधी लगाउनु पर्छ ।
-    कोठामा अत्याधिक तातो भएमा तापक्रम घटाउनु पर्छ ।
-    अत्याधिक मात्रामा ठँुगेमा पानीमा नुन र प्रोटिन राखेर खुवाउनु पर्छ । (यो प्रक्रिया केहि समयको लागि मात्र सिमित रहन्छ)