2018 December 15/ 09:49: 31pm

पछिल्ला बर्षहरुमा ढुसीबाट संक्रमण हुने रोग ब्रुडर निमोनिया अर्थात एस्परजिलोेसिस विश्व भरि नै पाइएको छ । चल्लाहरु ब्रुडिङ गर्ने बेलामा यस्तो खालको रोग देखिने भएकाले ब्रुडर निमोनिया भनिन्छ । विशेष गरेर हुर्कदै गरेको कुखुरामा यस्तो खालको समस्या देखिन्छ । एस्परजिलोसिस पन्छीहरुमा जस्तै हाँस, कुखुरा, टर्की, परेवा, गीज लगायत धेरै घर पालुवा पन्छी र जंगली पन्छीहरुमा लाग्दछ । अत्याधिक एन्टिवायोटिकको प्रयोग, कर्टिकोस्टोरोइड तथा रोग प्रतिरोधात्मक शक्ति कम गराउने औषधिको प्रयोगले ढुसीबाट उत्पन्न हुने रोग एस्परजिलोसिसलाई बढुवा दिन मद्दत गर्दछ । एस्परजिलोसिसले मुख्यतया श्वास प्रश्वास प्रणालीमा असर गर्दछ । माटा,े कुहिएको पदार्थ र खोर भित्रको वातावरण ढुसीका कोष प्रयाप्त मात्रामा पाइन्छन । यस्ता ढुसीबाट उत्पन्न हुने एस्परजिलोसिसले कुखुरा व्यवसायलाई चुनौतिको विषय बनाएका छन । एस्परजिलोसिस रोग  भन्ने ढुसीको संक्रमणबाट लाग्दछ र यसले श्वासप्रश्वास प्रणालीमा असर गर्ने हुनाले ब्रोङ्कोे निमोनिया (Broncho pneumonia) गराउदछ । 
एस्परजिलोसिस भएका कुखुराले अरु जीवाणु र विषाणुबाट हुने श्वास प्रश्वास सम्बन्धी समस्याहरुको जस्तो लक्षण देखाउदैनन । तर भर्खरै लेराइएका चल्लाहरुमा एस्परजिलोसिस रोग देखिएमा चल्लाहरुको मृत्युदर धेरै हुने र एकबाट अर्कोमा रोग सर्न सक्ने सम्भावना बढी रहन्छ । त्यस्तै ह्याचरीबाटै एस्परजिलोसिस संक्रमित भएमा चल्लाहरु ब्रुडिङको बेला धेरै मर्दछन । संक्रमित ढुसी लागेका सोत्तर, भुस र अन्य धुलोमा एस्परजिलोसिसका स्पोरहरु धेरै मात्रामा भएमा त्यस्ता स्पोरहरु श्वास प्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्दछन । फर्ममा काम गर्ने कामदारहरु पनि खोर भित्र उच्च धुलो भएमा श्वास प्रश्वास सम्बन्धी समस्याहरु टाढा रहन सक्दैनन् र एस्परजिलोसिसबाट संक्रमित हुन सक्दछन । एस्परजिलोसिसको प्रजाति अनुसार, शरीरको रोग प्रतिरोधात्मक शक्तिका साथै, फोक्सोको अवस्था र एस्परजिलसको शरीर भित्र प्रवेश गरेको संख्या अनुसार मानव स्वास्थ्य र कुखुराको स्वास्थ्यमा लक्षणहरु देखिन थाल्दछन । त्यस्तै मानिसमा पनि संक्रमण भएमा छाती गह्ुँको हुने र छाती दुख्ने समस्याहरु देखिन्छन । त्यस्तै एस्परजिलसले अन्तरविष  पनि उत्पादनमा सहयोग गर्दछ र यस्ता अन्तरविषले कलेजो र मृगौला बिगार्ने काम गर्दछन । 
लक्षण ः 
-  श्वास लिन गाहे हुने
-    छिटो छिटो श्वास फेर्ने
-    शरीर निलो हुने, 
-    काम्ने,
-    हिड्न नसक्ने 
-    टाउको बटारिने, 
-    रक्तनलीमा बढी रगत जम्मा भई शरिर निलो हुने,
-    निदाएर बस्ने
-    खान मन नगर्ने, 
-    शरीर सुकेर जाने, 
-    आँखाको संक्रमण र आँखामा बादल लाग्ने, 
-    बढी तिर्खाउने 
-    आन्द्रा फुल्ने ।
पोष्ट मार्टम
पहेलो–हरियो अथवा सेतो रंगका गीर्खाहरु कुखुराको फोक्सोमा देखिन्छ । त्यस्तै अलि अलि भुँवा जस्तो पदार्थ मुख, मुखभित्रको तालु, फोक्सो, आन्द्रा, एअर स्याक, गिदी र अाँखामा पनि देखिन्छ ।
अन्वेषण
प्रयोगशाला परिक्षणमा
Sabouraud Dextrose Agar मा कल्चर पश्चात गरि एकिन गर्न सकिन्छ । कल्चर बाट निकालिएको ढुसीलाई २० प्रतिशत पोटासियम हाइड्रोअक्साइड(20 % KOH) ले स्टेन गरि हेर्न सकिन्छ ।
अन्तमा कुखुरा र फर्म भित्र काम गर्ने मानिस एस्परजिलोसिसको जोखिममा रहेका छन । त्यही भएर जैविक सुरक्षाका उपायहरु अपनाउनु आवश्यक पर्दछ । ओसिलो भुस नराख्ने, धुलो भएको सोत्तर वा भुस प्रयोग नगर्ने र गर्नै पर्ने भएमा सोत्तर उपचार गर्ने, कुहिएको दाना नखुवाउने र दाना भुंइमा नपोखिने जस्ता कार्यहरु गर्नुपर्दछ । सोत्तरमा भएको ढुसीको संख्या घटाउन निलो तुथोको स्प्रे गर्नु पर्दछ भने यस्ता रोगहरु प्रति कुखुरा व्यवसायी र फर्मका कामदारहरुले जनचेतना जगाउन आवश्यक पर्दछ ।