
जसले जसरी जुन रुपमा सहकारीका बारेमा ब्याख्या विश्लेषण गर्दै सिंगो सहकारीताको नारा अघि सारेपनि सहकारीले वास्तविक किसानलाई प्रत्यक्ष फाइृदा पुग्ने गरी काम गर्न सकिरहेका देखिदैन । अनेकौं हावा पानी धरातलीय तथा पहाडै पहाडले घेरिएको हाम्रो देश, बिहान देखि बेलुकासम्म खेतबारीमै व्यस्त हुनुपर्ने हाम्रो वाध्यता र त्यसैबाट परिवार, नून तेल र खाद्यान्न शिक्षा, स्वस्थ्य र लत्ता कपडा धान्नुपर्ने हाम्रो अवस्था अनि बाध्यता यहि हो हाम्रो विवशता अनि यथार्थता पनि । हो यो र यस्तै खालका दिनचार्यामा हाम्रो समय व्यतित भइरहेको छ । के अव यस्तै खालका सदियौं देखिको परम्परा धान्नका लागि मात्र काममा व्यस्त रहने ? कि यसमा आधुनिकीकरण सहित नयाँ सोचको विकासका कामहरु गर्दै अगाडि बढ्ने ? सबैले यसमा चिन्तन र अभियान सुरु गर्ने बेला आएको छ । देशको माटो सुहाउने र हाम्रो एक अर्कालाई दिलो ज्यानले सहयोग गर्ने पुस्ता देखिको परम्परालाई सहकार्य, आपसी सहयोग र भाइचाराको सम्वन्धलाई बलियो आधार बनाउने ? यस्ता परम्पराका धनी हामीसँग हौसा छ, हिम्मत छ अनि शाहस पनि छ । ढुंगामा अन्न छर्दा पनि उर्बर हुने हावापानी छ तर यसलाई गर्ने व्यवस्थापनका सोचको विकास हुन समस्या छ ।
राज्यको सार्वजनिक, निजि र सहकारी मार्फत स्थानीयस्तरमा भएको स्रोत र साधनलाई अधिक भन्दा अधिक रुपमा परिचालन तथा उपयोग गर्दै तीब्र आर्थिक बृद्धि हासिल गर्ने र दिगो रुपमा यसको प्रवद्र्धन गर्ने र उन्नत समाजको निर्माण गर्ने प्रण सबैले गर्नुपर्ने भएको छ । यस्ता सबै खालका कार्यहरु गर्नका लागि सहकारी नै एउटा मात्र उपर्यूक्त माध्ययमका रुपमा रहेको छ । सहकारी मार्फत भए गरेका क्रियाकलापहरुबाट प्राप्त उपलब्धिहरुलाई समानुपातिक तथा न्यायोचित वितरण सहित समुदायमा रहेका वा गाँजिएका असमानता र यसका पक्षहरुलाई विस्तारै निर्मूल पार्नका लागि सहकारीको विकास र प्रवद्र्धन जरुरी छ । कृषिमा आधारित पेशा नै हाम्रो जीवनको अभिन्न अंग भएकाले हामी धेरै यसैमा जीवन भएको कारण दिनरात यसैमा घुलमिल भएका छौं । परम्परागत रुपमा अंगालिरहेको कृषि प्रणालीले हाम्रो जीवन यापनमा खासै उल्लेखनीय प्रगती भएको समेत देखिदैन र पाईदैन पनि । कहि कतै अलिअलि यसको आधुनिकिकरण बारेमा प्रचार प्रसार सहित कार्य प्रगतीउन्मुख भएको देखिएता पनि समग्रतामा यस क्षेत्रको विकास हुन सकिरहेको देखिदैन । यसमा धेरै पक्षले असर पारिरहेको र समस्या नै समस्याले साँधुरिदिएको प्रष्टै देखिन्छ । मैले तपाँइलाई र तपाइहरुले मलाई वा एक अर्कालाई दुःख सुखमा साथ र सहयोग गर्ने र सहकार्य गर्ने भावना हामीमा पुर्खा देखि नै छ । यसैलाई आधुनिकिकरणका रुपमा वैज्ञानिक ढंगले विकास गर्न र सहकारीका रुपमा विकास गर्न हामी सकिरहेका छैनौ । शहरी क्षेत्रमा जे जती जसरी सहकारीताको विकास तथा प्रवद्र्धनका प्रयास भएको देखिएतापनि दुर्गम वस्तिहरुमा सहकारीताको विकास खासै उल्लेखनीय रुपमा विकास भएको चाँहि पक्कै छैन । सहकारीताको मूल्य मान्यता दर्शनहरुका बारेमा उल्लेखनीय कार्यहरु ग्रामीण समुदायका दुर दराजमा गर्न नसकिरहेका कारण हामीले एउटा पुस्ता नै कतै पछाडी पारिरहेका त छ्रैनो ? भन्ने महसुश भइरहेको छ । यसका लागि सबै सहकारी कर्मीहरुमा साझा उद्देश्य र चिन्तनको खाँचो देखिएको छ । बैंक तथा विभिन्न बित्तीय संस्थाहरुको उल्लेखनीय उपस्थिती रहेको शहरी क्षेत्रमा कुनै पनि प्रकारका पेशा तथा व्यवसायहरु सञ्चालन गर्नका लागि धेरै भन्दा धेरै सम्भावना र अवसरहरु रहेका हुन्छन । एउटा पक्षबाट हुन नसकेको कामहरु अर्को पक्षले सजिलै गर्नका लागि बित्तीय क्षेत्रको लगानी पनि सहजै जुट्न सक्दछ । तर जुन रुपमा हामीले ग्रामीण समुदायमा रहेका आम किसान तथा गरिवीको रेखामुनी रहेका आम नागरिकहरुको लागि सहकारी मार्फत गर्नुपर्ने कामहरुका बारेमा सहकार्य र सहभागिता जुटाउन सक्दैनौ तवसम्म हामीले कुनै खालको विकास भयो भनेर भन्ने आधार नै रहँदैन भन्ने नै हो ।
नेपालका साठी प्रतिशत भन्दा बढी मानिसहरुले अंगालेका कृषि पेशाको सम्मान गर्न गाउँ गाउँमा सहकारीको विकास र प्रवद्र्धन गर्दै एउटा गतिलो माध्ययमका रुपमा सहकारीलाई व्यवस्थित र दीगो परिचालन गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्ने आजको आवश्यकता पनि हो । परम्पागत रुपमा हुदै आएको कृषि पेशालाई आधुनिकिकरण गर्दै एउटा साझा अभियानका रुपमा हामीले हाम्रो माटो र घेरा फाटेका टोपि लगाउने किसानको पक्षमा वकालत कहिले गर्ने होला ? चिन्ताको बिषय बनेको छ । देशमा ३४५१२ को संख्यामा रहेको सहकारीहरुलाई ग्रेडिंग गर्दै शहरी क्षेत्रमा र ग्रामीण क्षेत्रमा के कस्ता अवस्था र संख्यात्मक र गुणात्मक रुपमा कस्तो अवस्थाका रुपमा सहकारीहरु रहेका छन् त भन्ने एकिन गर्दै ग्रामीण क्षेत्रमा सहकारीको उपस्थिती र पहुँचमा बृद्धि गर्नु पर्ने भएको छ । ६० प्रतिशत किसान ग्रामीण समुदायमा नै रहेका र अधिर्काश कृषि पेशामा नै निर्भर रहेको हुँदा उनीहरुले उत्पादन गर्ने दैनिक उपभोग्य वस्तु दाल , चामल, गेडागुडि, तथा तरकारीहरुलाई स्वदेशमा नै खपत गराउनका लागि र बजार समेत विकास र विस्तार गरी सहज तरिकाले आम उपभोक्ताहरुमा पुर्याउनका लागि अव ढिला नगरिकनै सहकारीको क्षेत्रमा तल्लिन हुनुपर्ने बाध्यता रहेको छ । बर्ष भरीमा डेढ खर्ब भन्दा बढी कृषि जन्य वस्तुहरु आयात हुने यस देशको कृषि प्रणाली कसरी उन्नत हुन सक्दछ त भन्ने चासो अव सहकारीकर्मी परिवारहरुलाई हुनै पर्दछ ।
कुनैपनि काम गर्नका लागि रकमको अभाव हुनु स्वाभाविकै हो । उक्त रकम प्राप्त गर्नका लागि बैंक तथा बित्तिय संस्था नै हुन । यस्ता बैंक तथा बित्तिय संस्थाहरु ग्रामीण क्षेत्रमा पुग्नका लागि सुरक्षा तथा आम माननिसको क्षमता बैंक तथा बित्तिय संस्थाहरुले खाजेका हुन्छन । जहाँ फाइदा हुदैन त्यस स्थानमा बैंक तथा बित्तिय संस्थाहरु पुग्न सक्दैनन । यसै कारण पनि ग्रामीण समुदायमा गएर काम गर्न सहकारी नै विकल्पका रुपमा अगाडि आउँछ । सहकारी समुदायमा आधारित भएको र सामाजिक, आर्थिक, साँस्कृतिक रुपमा व्यवसाय गर्ने माध्ययम भएको र यसको मर्म भावना र दर्शन समेत सबैको हितमा सञ्चालन हुने कारण समुदायमा वास्तविक किसानका लागि अनुकुल हुन्छ । सहकारीले नाफा मात्र हेर्दैन । यसले समुदाय र स्थानीय मानिसहरुको दैनिकी पनि हेरेकै हुन्छ । उनिहरुको आर्थिक सामाजिक साँस्कृतिक बिषयहरु समेतलाई ख्याल गर्दै आय आर्जन, रोजगारी र जीवनलाई जिउन सजिलो बनाउने कार्य सहकारीमा मात्र गर्न सक्ने कारण पनि ग्रामीण समुदायमा सहकारीको उपस्थिती बाक्लो बनाउनै पर्दछ । थारै थारै पूँजी, फजुल खर्चलाई जोगाई एकै स्थानमा बचत संकलन गर्दै उक्त पुँजीलाई स्थानीय शेयर सदस्यहरुको दैनिकि परिवर्तनका लागि लगानी गर्ने काम सहकारीले गर्ने कारण पनि सहकारी सजिलै किसानको आशाको केन्द्र बन्दछ । यो र यस्ता बिषयमा र सहकारीको फाईदा तथा महत्वका बिषयमा ग्रामीण समुदायमा हामीले अभियान चलाउन सकेकै छैनौ । समुदायमा रहेका सहकारीहरुलाई सहकारीका उद्देश्य अनुसार सञ्चालन गर्नका लागि हाल देखिएको प्रमुख समस्या भनेको दक्ष र जानकार ब्यक्तिहरुको उपस्थिती कम रहनु नै हो । ग्रामीण समुदायमा सहकारीता सम्वन्धि जाने बुझेका ब्यक्तिहरु कम उपस्थिती र सिक्ने र सिकाउने मानव शंसाधनहरुको अभाव नै सहकारीको प्रवद्र्धनको समस्याको रुपमा रहेको जो कसैलाई जानकारी भएकै बिषय हो । यसका लागि राज्यको तर्फबाट उचित व्यवस्थापन हुनुपर्दछ । हिजोको दिनमा विभिन्न बहानामा स्थापित भएका सहकारी संस्थाहरुको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि स्थानीय तहले बनाएका कानून तथा सहकारी ऐन २०७४ ले प्रदान गरेको व्यवस्थाहरुका बारेमा जानकारी राख्दै सक्षम तथा दीगो सहकारी सञ्चालनका लागि पहल गर्नु नै उत्तम कार्य हुनेछ । स्थानीयस्तरमा रहेका सहकारी संस्थाहरुका लागि क्षमता विकासका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, सहकारी अभियन्ता, शेयर सदस्यहरु, विभिन्न उप समितिका सदस्यहरु बीचमा छलफल तथा अन्र्तक्रियात्मक रुपमा छलफल चलाउने रकमको व्यवस्थापन गर्ने कार्यमा समेत स्थानीय तहहरु लाग्नै पर्ने हुन्छ । जसबाट स्थानीय सहकारीको विकासको ढोका खुल्न जान्छ । जसबाट स्थानीय किसानहरुको कृषिसँग सम्वन्धित पेशाहरुको आधुनिकिकरणमा टेवा पुग्न जान्छ । उत्पादनका क्षेत्रमा बजार र बजारिकरणका बिषयका बारेमा जानकारी भइ उचित मूल्य प्राप्त भई लगानी र स्वस्थ वातावरणको सिर्जना हुन्छ । कृषिसँग सम्वन्धित औजार (सामग्री) सुपथ मूल्यमा सहजै प्राप्त हुनजान्छ । कृषि क्षेत्रलाई प्रोत्साहनका साथ अगाडि बढाउँदा वास्तविक किसानको व्यवसायिकरण हुनुका साथै आर्थिक पक्षको बृद्धि हुन जान्छ । अनि हामीले साचेको सहकारी बल्ल वास्तविक किसानसँगको पहुँचमा बृद्धि भई सिंगो देशले काँचुली फेर्नेछ ।
जय सहकारी .