2018 October 18/ 06:01: 33am

मानव सभ्यताको विकाससँगै सहकारी संस्थाहरु स्वयत्त निकायको रुपमा सञ्चालन भइरहेको ईतिहासले देखाउँछ । बिषेश गरी आर्थिक, सामाजिक अवस्था कमजोर भएका र जीवन धान्न कठिन भएकाहरुका बीचमा सहकारीले ठूलै क्रान्ति सिर्जना गरेको विस्व सहकारी आन्दोलका विभिन्न चरणहरुले देखाएका छन् । दूइृ छाक खान समेत धौ धौ भएका मजदुर तथा किसानका जीवनमा ठूलो परिवर्तन यस आन्दोलनले ल्याएको छ । बेरोजगार, गरिवी तथा आर्थिक सहजिकरण जस्ता बिषयहरुले समस्या सिर्जना गर्दै गएपछि उक्त समस्याहरुबाट पार पाउनका लागि संगठित संस्थाका रुपमा सहकारीको विकास र प्रवद्र्धन भएको हामी पाउन सक्दछौं । 
नेपालमा २०१३ सालमा तराई क्षेत्रबाट औपचारिक रुपमा सुरु भएको सहकारी यात्राले पनि ६२ बर्ष पार गरिसकेको छ । यस क्षेत्रमा तत्कालिन अवस्थामा भएको प्राकृतिक बिपत्तिका समस्या सँगै पुर्नबास, कृषि उपज, खाद्य वस्तुहरु, राशायनिक मल जस्ता बिषयको व्यवस्थापन तथा समाधान गर्नका लागि राज्यस्तरबाट भएको राहत तथा जनताहरुको व्यवस्थापनका पक्षहरुलाई सहजिकरण गर्नका लागि सहकारीको प्रयोग गरिएको थियो । ६२ बर्षको यो दौरानमा हाल सहकारी आन्दोनले विभिन्न खालका समस्याहरुसँग जुध्दै यो अवस्था सम्म आउन सकेको छ । देशैभर सहकारीका विभिन्न खालका सञ्जालहरु स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म रहेकाछन् । जसका कारण कूल ग्राहस्थ उत्पादनको ठूलै हिस्सा समेत ओगटेको यस क्षेत्रको आन्दोलनले सहकारीका क्षेत्रलाई संवैधानिक व्यवस्था गर्न समेत सकेको यथार्थ हाम्रो सामु रहेको छ । सहकारीका क्षेत्रले सिंगो आम जनताहरुसँगको सामिप्यता बढाएको छ । दुःखको साथि र भरोशााको प्रतिविम्व भएर रहन सकेको छ । बुढेसकालको सहाराको रुपमा यसले विकसित रुप लिएको छ । आफ्नै कार्यक्षेत्र भित्र रहेर विभिन्न खालका समस्या तथा त्यसका समाधानका लागि मौलिक रुपमा सबै शेयर सदस्यहरुका लागि मनपर्ने नीति निर्माण गर्दै कुना कन्दरामा रहेका आम नागरिकको लागि कार्य गर्दै आइरहेको छ । 
परम्परागत रुपमा विभिन्न स्थान र ठाउँ बिषेशमा पर्म, मेलापात, धर्म भकारी जस्ता कार्यहरु चलिनै रहेका थिए । कुनै न कूनै माध्ययमबाट एक आपसमा सहयोग सद्भाव र सहकार्यका माध्ययमबाट असहज परिस्थितीलाई सहज बनाउनका लागि भूमिका निर्बाह गर्ने त्यो बेलाको सहकार्यको विकसित रुप नै हालको सहकारी हो । सहकारीका मूल्य मान्यता तथा दर्शनका आधारमा सहकारी संस्थाहरु गठन तथा सञ्चालन हुनु पर्दछ भन्ने मान्यता अनुसार सहकारी संस्थाहरु पनि गठन भएका छन् । २०१७ सालमा पाँचखालमा बहुउद्देश्यिय प्रकृतिको सहकारी संस्था दर्ता भएको भनिएपनि त्यस सहकारीका अन्य बिषयहरु तथ्यांकका आधारमा केहि प्राप्त गर्न नसकिएको कुरा जिल्ला सहकारी संघ लि ले आफ्नो स्थापनाको ५१ औं बर्ष पुरा गरेको अवसरमा प्रकाशित काभ्रे सहकारी स्वर्ण बर्ष पुस्तक २०७४ मा उल्लेख छ । हाल आएर १५०० को संख्यामा जिल्लामा सहकारी संस्थाहरुको आंकडा देखिएतापनि हाल रहेका १३ वटा स्थानीय तहहरुमा के कति कस्तो अवस्थामा सहकारी संस्थाहरु रहेका छन् त भन्ने हेर्न कुनै आधार नै छैन । सहकारी संस्थाहरुको दर्ता तथा गठनका लागि सुरुका चरणहरुमा दुग्ध उत्पादक सहकारी संस्थाहरु मात्रात्मक रुपमा देखिए पनि हाल यस अवधिमा आएर दुग्ध उत्पादक सहकारी संस्थाहरु धेरै जसो कस्तो अवस्थामा छन भन्ने तथ्यांक पनि छैन । सुरुका समयमा जिल्लाको प्राकृतिक अवस्था तथा घाँसपात, मौसम आदिका कारणले पनि दुग्ध उत्पादनसँगै जोडेर सहकारी संस्थाहरुको बृद्धि भएको हुनसक्छ । 
हाल सञ्चालित सहकारी संस्थाहरु चाहे जुनसुकै प्रकृतिका हुन स्थापनाका उद्देश्य अनुरुप सहकारी संस्थाहरु सञ्चालन हुन सकेका छैनन । सहकारी संस्थाहरु जुनसुकै प्रकृतिका भएपनि अन्र्तराष्ट्रिय ७ सिद्धान्त भित्र रहेर सञ्चालन हुनुपर्दछ । यो सर्वमान्य सिद्धान्त हो । सहकारीमा सेवा, सुविधा उपभोग गर्न तथा सदस्यहरुको उत्तरदायित्व बहन गर्न स्विकार गर्नेहरुका लागि लैंगिंक, सामाजिक, जातीय, राजनैतिक र धार्मिक भेदभाव रहित सदस्यता हो भन्ने कुरा पनि हाल सहकारी संस्थामा देखिन गाहे भइसकेको अवस्था छ । सदस्यहरु बीच निति निर्धारण गर्ने सदस्यहरु प्रति उत्तरदायि तथा जवाफदेहि हुने समान मताधिकार प्रयोग गर्न पाउने हक तथा अधिकारका बारेमा जानकारी गारइएको धेरै संस्थामा पाईदैन । सहकारीमा विभिन्न शिर्षक मार्फत जम्मा भएको रकम सदस्यहरुको आफ्नै सम्पत्ति हो र यस्ता सम्पत्तिमा सबै सदस्यहरुको हक र अधिकार रहेको हुन्छ भन्ने धारणको विकास भएको कमै सहकारी संस्थामा देख्न पाईन्छ । सहकारी संस्थामा सदस्य केन्द्रित निति नियम भन्दा पनि संस्थागत निति हावी भएकाले पनि दिन प्रतिदिन समस्या देखिएको छ । सदस्यहरु माझ कुनै पनि प्रकारको आँच नआउने खालका सन्धि सम्झौता गर्नका लागि नेतृत्व तयार हुनुपर्ने बिषय स्वर्य नेतृत्वलाई थाहा नभै रहेको अवस्थामा सहकारीले फड्को मार्न नसकेको तितो यथार्थ हाम्रा सामु रहेको छ । समय समयमा सहकारी संस्था मार्फत हुने भनिएका क्षमता अभिबृद्धि सम्वन्धि तालिम चाहे त्यो कर्मचारीमा होस वा विभिन्न उपसमिति र सञ्चालक समितिमा यस्ता शिक्षा तालिमहरुको व्यवस्थापन सबै भन्दा पहिला शेयर सदस्यहरुका बीचमा गर्नुपर्ने अवस्थामा बार्षिक रुपमा विनियोजन भएको यस्ता शिर्षकका रकमलाई अधिकांश सहकारी संस्थामा पिकनिक, भोज तथा भतेरमा लगेर शिर्षकमा मिलान गरिएको देख्दा सहकारीको मर्म प्रष्ट देख्न सकिन्छ । अझ सहकारीका क्षेत्रमा देखिएको अर्को पाटो भनेको एक अर्काको आपसी सहयोगको पक्ष हो यो ज्यादै महत्वपूर्ण पक्ष पनि हो । एक सहकारी संस्थाले गरेको महत्वपूर्ण कार्यलाई अर्को सहकारी संस्थाले मुक्त कंठले हृदय देखि नै स्वागत गरेको कहिल्यै सहकारी क्षेत्रमा देख्न नपाउनु भनेको एक अर्कामा सहकार्यको भन्ने सिद्धान्त नै ओझेलमा परेको हो की भन्ने नै हो । एउटै स्थान, कार्य क्षेत्र भित्र रहेर पनि एक अर्कामा अस्वस्थ प्रतिष्पर्धाका रुपमा देखिएको यस्तो बेमेलले सहकारी संस्थामा गुणात्मक रुपमा बृद्धि हुन कहिल्यै सक्नेछैन । स्थानीय तहगत अवस्था देखि बिषयगत तथा जिल्ला हुदै केन्द्र र राष्ट्रियस्तर सम्म पनि एक अर्कामा भाइचाराको सम्वन्ध स्विकार गर्न अभियानले नसक्नु अर्को एउटा चूनौतीको रुपमा अभियान कर्ताहरुले स्विकार्नु पर्दछ । समुदायमा देखा परेका विभिन्न खालका क्रियाकलापहरुमा पारदर्शिता सहितको व्यवस्थापन गर्नूृपनि अर्को सहकारीको महत्वपूर्ण पाटो भित्र रहेको छ । समुदाय भित्र हुने गरेका हरेक पक्षको सहकारीमा संलग्न सदस्यहरुले सकारात्मक रुपमा वकालत गर्दै निष्कर्षमा पुर्याउने कार्य गर्न सक्नुपर्दछ ।
माथि उल्लेख गरिएका विभिन्न खालका सहकारीका मूल्य मान्यता तथा सिद्धान्तका आधारमा भएका विश्लेषणबाट के बुझिन्छ भने हामी हाम्रा सहकारी संस्थाहरु कसरी सञ्चालन गरेका छौं र कति जिम्मेवारी सहित अगाडि बढ्दै छौं भन्ने छर्लग हुन्छ । परम्परागत रुपमा हिजो सञ्चालन भएका गतिविधिहरुलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा हिजोको त्यो अनौपचारिक रुपको सहकार्यका काम सम्म पनि हामीले गर्न सकेका छैनौं । आजकल सहकारी सञ्चालन भनेको पैसामा मात्र केन्द्रित भएर सञ्चालनमा छन् । सहकारी संस्थामा रकम चाहिन्छ संकलन पनि गर्नुपर्दछ तरपनि यहाँ बर्षको एक पटक बार्षिक साधारण सभामा शेयर सदस्यहरुलाई उपस्थित गराएर यातायात खर्च वापतको रकम वितरण गर्दै हाजिरी गराउँदै पठाउँदै गर्दा शेयर सदस्यको हक र अधिकार कुंठित भएको सहकारी आन्दोलमा लागेकाहरुले बिचार गर्नुपर्दैन ? हुन त स्वयं शेयर सदस्यहरु नै जागरुक हुनुपर्दछ नी भन्ने जवाफ आउन सक्दछ तर शेयर सदस्यहरुलाई यस सम्वन्धि जानकारी गराउन सहकारी सहकारी शिक्षा सम्वन्धि जानकारी गराउने उद्देश्यले कति वटा कार्यक्रम गर्यो ? त्यो प्रश्न पनि त आउन सक्दछ नी सहकारीका सिद्धान्त अनुरुप शेयर सदस्यको अधिकारका क्षेत्रबारे जानकारी किन गराइदैन ? आजकल सहकारी क्षेत्रको बारेमा क्रिया प्रतिक्रिया हुदा यस्ता थुप्रै प्रश्नहरु उठ्ने गरेका छन् सहकारीका ब्यालेन्स सिट हेरेर सहकारीको मूल्यांकन हुने गरेको छ । धन बढाएर मात्र सहकारी उन्नती तथा प्रगती हुने भए किन चाहियो सहकारीको नाम ? शेयर सदस्यहरुको मनलाई कुंठित गराएर अधिकारलाई कुल्चिएर सहकारी संस्थाहरु सञ्चालन हुनु भनेको यो अभियानलाई चूनौती दिनु मात्र नभै भोलिका दिनहरुमा सहकारी आन्दोलन नै मास्नु पनि हो  त्यसैले आजैका दिन देखि सहकारीमा धन मात्र ले चल्ने हो कि मन देखि नै शेयर सदस्यहरुको बृद्धि विकासका लागि चल्नुपर्ने हो भन्ने हेक्का राखि सञ्चालन गर्ने अठोट लिऔं । 
जय सहकारी ।