2018 December 15/ 10:40: 21pm

सहकारीमा स्व नियमन गर्ने कि अरुको भरपर्ने ? शेयर सदस्यहरुको हितमा काम गर्ने कि सहकारीको हितमा संस्था अगाडि बढाउने ? भन्ने बिषय हाम्रा अगाडि छलफलका बिषय बन्नुपर्दछ । डिभिजन सहकारी कार्यालयले काभ्रेपलाञ्चोक जिल्लामा हस्तान्तरण गरेको १५०० वटा सहकारीहरु मध्ये कति सहकारीहरु सञ्चालनमा छन् वा छैनन् भन्ने तथ्यांक हेर्नका लागि अध्ययन अनुसन्धान नै गर्नुपर्ने भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला बहुउद्देश्यिय सहकारी संघ, जिल्ला कृषि सहकारी संघ, जिल्ला उपभोक्ता सहकारी संघ, जिल्ला तरकारी उत्पादक सहकारी संघ लि., जिल्ला दुग्ध उत्पादक सहकारी संघ जिल्ला कफि उत्पादक सहकारी संघ गरी ७ वटा जिल्ला सहकारी संघ लि रहेको यस जिल्लामा सरसर्ती हेर्दा सहकारी आन्दोलनले ठूलै फड्को मारेको जस्तो देखिन्छ । जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थाहरुमा गहिरिएर हेर्दा सहकारी मूल्य मान्यता तथा दर्शनका आधारमा कति सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् त भन्ने बिषय पनि उत्तिकै खोजपूर्ण रहेको छ । सहकारीलाई आर्थिक क्रियाकलाप सञ्चालन गर्नका लागि वा आफ्नो गर्जो टार्ने माध्ययमका रुपमा वा आइपरेका समस्या समाधान गर्नका लागि सजिलो माध्यमका रुपमा लिइरहेको पाईन्छ । बैक तथा बित्तीय संस्था भन्दा सहकारी समुदायमा आधारित भएकोले नै सहकारी प्रतिको विस्वास तथा भरोसा आम मानिसहरुमा बृद्धि भैरहेको पाईन्छ ।
संघीय संरचना अनुसार सहकारी ऐन २०७४ तथा स्थानीय कानूनहरुको निर्माणसँगै सहकारीमा संक्रमणकालिन अवस्थामा देखिएको छ । हाल जिल्लाभर कुनैपनि स्थानीय तहहरुले नयाँ सहकारीहरु दर्ता लगायतका कार्यहरु सुरु गर्न सकेका छैनन् । बढ्दो सहकारी प्रतिको आकर्षणले गर्दा आम मानिसहरुलाई सहकारीमा शेयर सदस्यता लिनका लागि आकर्षण बढाइरहेको पाईन्छ । शहर बजार तिर ग्रामीण समुदयमा भन्दा सहकारीको आकर्षण बढ्दो रहेको समेत देखिएको छ । किनभने शहर बजारमा स साना उद्योग व्वयसाय तथा आय आर्जनका कार्य सञ्चालन गर्नका लागि पूँजीको आवश्यक पर्ने र उक्त रकम सजिलै प्राप्त गर्नका लागि सहकारी सजिलो माध्यमको रुपमा उपयोग भइरहेको देखिएको छ । 
पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल लगायत धेरै स्थानमा सहकारीको बारेमा विभिन्न प्रकारका टिक्का टिप्पणी भैरहेको देखिएको छ । किन यस्ता खालका टिप्पणीहरु आइरहेका छन् त भन्ने बुझ्नैपर्ने अवस्था रहेको छ । सहकारी आन्दोलनले यस्ता पक्षको खुलेर नै लाग्नुपर्ने पो हो की भन्ने बिचारहरु समेत सार्वजनिक भइरहेका छन् । आम मानिसको धारणामा एकरुपता ल्याउनका लागि वा सहकारीका बारेमा सामान्य जानकारी गराउनका लागि सहकारीका बिषयहरुलाई सार्वजनिक रुपमा सचेत बनाइनु पर्दछ । यसका लागि निम्न अनुसारका बिषयमा सहकारीमा आबद्ध हुनुभन्दा अगाडि र सदस्य भइसकिएको छ भने सहकारी प्रतिका नीतिगत तथा कानूनी कुराहरुका बारेमा निम्न अनुसारका बिषयमा जानकारी लिएमा धेरै हद सम्म समस्याहरु समाधान हुने कुरामा ढुक्क हुन सकिन्छ 

१. ऋण र ब्याजदर सम्वन्धि जानकारी लिने
   हाम्रा वरपर धेरै सहकारी संस्थहरु स्थापना भइ सञ्चालामा रहेका छन् । सबै सहकारीहरुको मूख्य उद्देश्य भनेको समुदायमा केन्द्रित भई आफ्ना सदस्यहरुको हितमा काम गर्ने नै हो । यहाँ सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई ऋण लगानी गर्दा वा बचतमा ब्याज प्रदान गर्दा के कस्तो अवस्थामा नीतिगत व्यवस्था छ ? वा कानूनी रुपमा के गर्न पाईन्छ वा के गर्न पाइदैन भन्ने आधार तथा व्यवस्थाका कुराहरुलाइ नजर अन्दाज गर्दै कार्य भइरहेको सबै तिरबाट गुनासो आइरहेको हुनाले यस्ता ऋण तथा व्याज सम्वन्धि व्यवस्थालाई सदस्य आफैले वा नयाँ शेयर सदस्य लिन ईच्छुक ब्यक्तिहरुले एकपटक संस्थामा गएर राम्ररी बुझ्ने कार्य गर्नुपर्दछ । ऋण तथा बचतमा अन्तरका बारेमा कानूनी आधारहरु खोजी गर्नुपर्ने नै शेयर सदस्यको दायित्व हो ।

२. विभिन्न खालका नीती तथा कार्यविधि तयारी 
   कुनैपनि संघ संस्थाहरु निति, विधि तथा कार्यविधि अनुसार नै चल्नुपर्दछ । सहकारीमा पनि ब्यक्ति प्रधान कहिल्यै हुन सक्दैन संस्थामा भएको निति नियमावली अनुरुप नै सहकारी ऐन र नियमावली अनुसार नै सहकारी संस्थाहरु चल्नुपर्दछ । समय समयमा निर्देशन भएका वा परिपत्र भएका सहकारीका कानूनी बिषयहरुमा आधारित भएर संस्था चलेका छन् वा छैनन भन्ने कुरालाई शेयर सदस्य तथा आम सहकारीमा चासो राख्ने ब्यक्तित्वहरु चनाखो हुनु नै बुद्धिमानी हुन्छ । सञ्चालक समिति तथा संस्था भित्र रहेका अन्य समितिको आदेशका भरमा संस्था चलेका छन् वा नीति भित्र छन् भन्ने कुरामा सदस्य तथा कार्य क्षेत्र भित्रका ब्यक्तिहरु सजग हुनु राम्रो हुन्छ । सदस्यहरु चनाखो भएमा मात्र संस्था सुद्धिकरण हुन्छ र सहकारी संस्थाहरु पारदर्शी, जवाफदेहि तथा सुशासनयूक्त भई अगाडि बढ्न सक्दछ ।

३. संस्था भित्रको समावेशिकरणको अवस्था
  सहकारीका अस्तित्व त्यतीवेलासम्म रहन्छ जतिवेला सहकारी संस्थामा निष्पक्षता आउँदछ भनेको अर्थ सहकारी संस्थामा निष्पक्ष निर्बाचन र सबै पक्षहरुबाट सहभागिता खोजिनुपर्दछ । मानिस सबै एकै हैसियतका अवस्य हुदैनन । आर्थिक रुपमा, जातिगत रुपमा, लैंगिक आधार तथा सामाजिक रुपमा सदस्यहरुको विश्लेषण गर्दा फरक फरक अवस्था पाउन सकिन्छ । नेतृत्वले यी र यस्ता प्रकारका सदस्यहरुको प्रतिनीधित्व हुने गरी सञ्चालक तथा लेखा तथा सुपरिवेक्षण समितिमा सबैको सहभागिताको सुनिश्चितताको प्रत्याभूतिगर्न सक्नुपर्दछ । यस्तो कार्यले सहकारीमा सहभागिताको बृद्धि हुन गई सिंगो सहकारीको अभियान नै पारदर्शीता कायम हुनजान्छ । यस्ता सहकारीले सबैको मन जित्न सफल हुन्छ । 

४. सञ्चालकको संस्था प्रतिको धारणा
सहकारी संस्था सञ्चालन गर्ने कुशल चालक सहकारीको अभिभावक बन्नु पर्दछ । संस्थाका पदाधिकारीहरुको त यो जिम्मा हुन्छ नै तर सदस्यका रुपमा रहेका अन्य सदस्यहरु पनि उत्तिकै जिम्मेवार रुपमा संस्था प्रति जवाफदेहि बन्नु नै उत्तम हुन्छ । संस्था सञ्चालन गर्ने पुरै टिम सहकारीका आधारभूत बिषयमा जानकारी भएका ब्यक्तिहरु पक्कै रहनुपर्दछ । सहकारीका मूल्य, मान्यता तथा दर्शनका आधारमा सहकारीलाई सामूदायिक अस्तित्व कायम गराउनु राम्रो मानिन्छ र सहकारीका मूल्य मान्यताले पनि यहि बिषयमा पृष्ठपोषण गर्दछ । मेरो संस्था होइन हाम्रो संस्था र हाम्रा शेयर सदस्य भन्ने सोचका साथ संस्थामा जिम्मेवारी सम्हाल्दा संस्था छोटो समयमा नै उचाइमा पुग्न कसैले रोक्नसक्ने छैन । संस्थामा समय समयमा जाने, संस्था विकासका बारेमा छलफल गराउने, बुझ्ने र बुझाउने जस्ता क्रियाकलापहरुले संस्थामा दीगोपना आउँदछ । सबै शेयर सदस्यहरुले संस्थामा यस्ता क्रियाकलापहरु भएका छन् वा छैनन भन्ने बारेमा समय समयमा जानकारी राख्नुपर्दछ ।

५. कर्मचारीको अवस्था
  सहकारी संस्था सञ्चालनमा कर्मचारीहरु भनेका मेरुदण्ड नै हुन किनभने दैनिक कार्यहरु सञ्चालनको जिम्मा कर्मचारीहरुबाटै हुने गर्दछ । सहकारीमा साधारण सभाबाट पारित गरेका नीति, नियमावली, तथा विभिन्न खालका कार्यविधिहरु अनुसार कामहरु सम्पादन गर्ने काम कर्मचारीहरुबाट हुनुपर्दछ । यस्ता कार्यहरु भएका छन् वा छैनन भन्ने बारे सबैले चासो ब्यक्त गर्नुपर्दछ । आफ्नो मनोमानी ढंगले भएको कामहरु सहकारीमा दीगो हुन सक्दैन । सहकारी आर्थिक कारोवारहरुको मूख्य काम गर्ने स्वायत्त निकाय समेत भएकाले सानो कमि कमजोरी तथा गल्तिले सिंगो सहकारी संस्था तथा सहकारीको सिंगो आन्दोलन नै धरापमा पर्नसक्दछ । हामीले देखेर भोगेका धेरै सहकारीहरु यो र यस्तै खालका समस्याहरुबाट गुज्रिरहेका पनि धेरै छन् । यस्ता सहकारीहरुलाई शेयर सदस्यहरुले बुझेर मात्र शेयर सदस्य बन्ने र नियमित आर्थिक कार्यहरु गर्ने कार्यहरुमा लाग्नु बुद्धिमानी हुन्छ ।

६. नियमित बैठक तथा बार्षिक साधारण सभा
सहकारी मूख्य काम तथा अभिनन पक्ष भनेको यसका नियमित बैठक तथा बार्षिक साधारण सभा नै हो । नियमित बैठकले संस्थाको नियमित संस्थामा भैरहेका कार्यहरुको कमि कमजोरहिरुलाई समाधान गर्न सहयोग गर्छ भने बार्षिक साधारण सभाले संस्थाका नीति, नियम , विनियम लगायतका बिषयमा आवश्यक निर्णय लिने र दिने कार्य गर्दछ । सहकारीहरुले प्राय सञ्चालक समिति मार्फत नै धेरै भन्दा धेरै निर्णयहरु कार्यान्वयन तहमा लैजाने अभ्यासहरु गर्दै गरेका कैयौं उदाहरणहरु हुन्छन् । यस्ता कार्य कानूनी होइनन् सहकारी ऐनमा नै व्यवस्था भएको बिषय भनेको कुनैपनि निर्णयहरु साधारण सभाबाट नगरी लागु गर्न पाइदैन भन्ने उल्लेख भएका कारण पनि शेयर सदस्यहरुले यस्ता बिषयहरु बार्षिक साधारण सभामा गम्भििर ढंगले उठाउन सकिन्छ । 

सहकारी संस्थामा शेयर सदस्यहरुमा एउटा गहिरो मनोबैज्ञानिक समस्याका रुपमा देखिन्छ त्यो के हो भने आफु आबद्ध भएको सहकारी संस्थामा केहि त्रुटि, कमिकमजोरीहरु देख्दा त्यस्ता कमी कमजोरीहरुलाई सहजै सबैका अगाडि राख्न नसक्नु नै हो । यस्ता कार्यहरुले नेतृत्व तहमा नियमन वा चनाखोपन घट्न जान्छ । जे गरेपनि भइहाल्छ नी भन्ने हल्का रुपमा बिषयवस्तुलाई लिने बानीको विकासका कारण सच्चिने र सुध्रिने अवसर नै आउँदैन । शेयर सदस्यहरुका पनि आफ्ना समस्या त होलान भनेको बेलामा ऋण नपाइएला, सबैको सामु हेला भएर बस्नुपर्ला भन्ने मनोबैज्ञानिक समस्या देखिन सक्दछन तर यदि संस्था सुशासन कायम गर्दै पारदर्शी रुपले अगाडि बढाउने हो भने सहकारी मूल्य, मान्यता, दर्शन तथा नियमावलीका आधारमा छन् वा छैनन भन्ने कुरा बिषेश रुपले सबैको सामु उजागर गर्दै समृद्ध सहकारी निर्माणका कसिमा लाग्नु नै उपयूक्त हुन्छ ।