2024 December 06/ 08:09: 10am

विश्वमा जतिसुकै औषधी जगतको विकास भएता पनि भाइरसको औषधी बन्न सकेको छैन । कोरोना भाइरस भनेको भाइरसहरुको एउटा ठूलो समूह हो, जसले रुघाखोकी लगायत श्वासप्रश्वास सम्बन्धी समस्याहरु गराउने गर्दछ । कोरोना भाइरस मानिसमा रुघाखोकी लगाउने सयौं भाइरसहरुको समूहमध्येका एक भाइरस समूह हो । कोरोनाको अर्थ मुकुट जस्तै आकारको हुन्छ र त्यसैको आधारमा यो भाइरसको नाम पनि कोरोनाभाइरस रहेको हो । अहिलेसम्म ज्ञात भएअनुसार, कोरोनाभाइरसका ६ वटा प्रजातिले मानिसलाई संक्रमण गर्ने गर्छ । अहिलेको यो नयाँ कोरोना भाइरस यसअघि नदेखिएको नयाँ प्रजातिको भएको पक्का भएबाट यो मानिसलाई संक्रमण गर्ने सातौं प्रजातिको कोरोना भाइरस भएको छ । सो भाइरसलाई २०१९–एनकोभी  (द्दण्ज्ञढ(लऋयख्)  नाम दिइएको छ ।
     अहिले देखापरेको कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिन्छ । अधिकांश मानिसहरु आफ्नो जीवनकालमा कुनै न कुनैबेला यो भाइरसबाट संक्रमित हुने गर्छ । यसका लक्षणहरु सामान्यतः रुघाखोकीकै जस्तो हुने गर्छ तर कहिले काहीँ यो जटील भएर तल्लो श्वासप्रश्वास नलीमा संक्रमण गर्ने निमोनिया र बोङकाइटिस जस्ता अली जटील खालको संक्रमण पनि बन्न पुग्छ । तर यो  नयाँ कोरोना भाइरस पनि अन्य कोरोना भाइरस जस्तै मानिसबाट मानिसमा पनि सर्न सक्छ । मानिसमा लाग्ने कोरोना भाइरस संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा सर्ने माध्यमहरु संक्रमितले खोक्दा वा हाँच्छिउ गर्दा हावामा गएका किटाणुहरुबाट छुँदा, हात मिलाउँदा, अंगालो मार्दा कोरोना भाइरस रहेका वस्तुहरु छोएको हात नघोइएको अवस्थामा मुख, नाक, आँखाहरु छुँदा, कोट्याउँदा वा मिच्दा सर्ने गरेका छन् ।
नयाँ कोरोना भाइरसको प्रकृति र किसिमका बारेमा तथा यो कसरी सर्छ भन्ने बारेमा पूर्णतः अध्ययन भइनसकेको अवस्थामा ‘भाइरस भनेको भाइरसनै हो र यो पनि अन्य भाइरस जस्तै मानिसबाट मानिसमा सजिलै सर्न सक्ने’ चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । कदाचित त्यस्तो परिणाम आयो भने यो नयाँ कोरोना भाइरसको संक्रमण झनै खतरनाक हुन सक्ने देखिन्छ । यो कोरोना भाइरसले मूलतः शरीरको रोग प्रतिरोधी क्षमता (इम्यून सिस्टम) कमजोर भएका तथा पहिले नै निमोनिया भएका व्यक्तिलाई चाँडै संक्रमण गर्ने गरेको देखिएको छ । तर अहिलेसम्मको स्थितिमा यो संक्रमण प्रारम्भिक रुपमा एउटा मानिसबाट अर्को मानिसमा चाहिँ तीब्र रुपमा नसरेको पाइएको छ । खासगरी, यो भाइरसको संक्रमणको गम्भीरता मुटुको रोग, उच्चरक्तचाप, डाइबिटिज, निमानिया जस्ता समस्या भएका बुढापाकामा बढी देखिएको छ । यो भाइरसको संक्रमणमा परेकाहरुमध्ये एक चौथाइ जतिमा गम्भीर लक्षणहरु देखापरेका छन् । अहिलेसम्म यसको घातकताको दर ४ प्रतिशत देखिएको छ । यो नयाँ प्रजातिको कोरोना भाइरसका विरुद्धमा कुनै खोप उपलब्ध छैन ।
यो भाइरसबाट जोगिने सबैभन्दा प्रमुख उपाय भनेकै संक्रमित क्षेत्रमा नजाने, संक्रमणबाट जोगिने उपायहरुको पालना गर्ने तथा संक्रमित क्षेत्र तथा त्यस वरपरका मानिसहरुले पनि अन्यत्र जाने कार्यमा रोक लगाउनुपर्छ । संक्रमण मूलतः हावाबाट तथा छोइछिटोबाट सर्ने भएकोले संक्रमण भएका वा संक्रमण हुने सम्भावना रहेका ठाउँको भीडभाडयुक्त ठाउँ वा सार्वजनिक स्थानहरुमा यथासक्य जानै हुँदैन र जानै परेमा पनि मास्क पञ्जा लगाउने गर्नुपर्छ ।यसो गरेमा संक्रमण फैलिने सम्भावना कम हुन्छ । सकेसम्म संक्रमित क्षेत्रमा माछामासुजन्य पदार्थ नखाने र खानेपरेमा पनि राम्ररी पकाएर मात्रै खानुपर्छ । संक्रमण छोइछिटोबाट पनि सर्ने भएकोले कुनै पनि वस्तुहरु छोइसके पछि अनिवार्य रुपमा कम्तिमा २० सेकेन्डसम्म साबुन पानीले हात धुने गर्नुपर्छ । त्यसैगरी, संक्रमण देखापरेको वा संक्रमण हुने सम्भावना रहेको क्षेत्रका मानिसहरुले पनि सकेसम्म पशुपंक्षीहरुको सम्पर्कबाट टाढा रहनुपर्छ र सम्पर्कमा जानै परे पनि मास्क पञ्जा लगाउने गर्नुपर्छ । 
संक्रमणको उत्पत्ति थलो चीनको वुहान क्षेत्रमा यात्रा गरेर फर्केकाहरुमा दुई हप्ता भित्र ज्वरो, खोकी र सास फेर्ने समस्या देखापरेमा त्यो नयाँ कोरोना भाइरसको संक्रमणको लक्षण हुन सक्छ । संक्रमित वा स्वस्थ मानिसले पनि खोक्दा, हाँच्छिउ गर्दा नाकमुख छोप्ने तथा साबुनपानीले हात धुने गर्नुपर्छ । संक्रमणका लक्षण देखापर्नासाथ संक्रमणको किसिमलाई यकिन गर्नको लागि रक्त परीक्षण गराइहाल्ने र चिकित्सकको सहायता लिइहाल्नुपर्छ । आफूलाई संक्रमण भइहाल्यो भने पनि आफूबाट अरुलाई संक्रमण नसरोस् भन्नाका लागि विशेष सावधानी अपनाउनुपर्छ । संक्रमित व्यक्तिसँग लसपस नगर्ने, उनको नजिक नपर्ने, जानुपर्दा मास्क पञ्जा लगाउने, निजको नजिक जाँदा वा निजले प्रयोग गरेका चिजबस्तुहरु छुँदा पटकै पिच्छे साबुनपानीले हात धुने गर्दा पनि संक्रमण सर्ने सम्भावना न्यून हुन्छ । यसो गरेमा आफ्नो ज्यानको सुरक्षा त हुन्छ नै, त्यो संक्रमण फैलिने सम्भावना पनि रहँदैन । त्यस्तो संक्रमणाको अवस्थामा तुरुन्तै चिकित्सकको सहायता लिनुपर्छ ।