2019 December 09/ 05:50: 32am

    धुलिखेल/पर्यटन वर्ष २०२० लाई सफल बनाउन काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल देखि पनौतीसम्म पृथ्वी नारायण शाहले काभ्रे जिल्ला एकिकरण अभियानमा प्रयोग गरेको १० किलोमिटर क्षेत्रलाई ‘युनिफिकेसन ट्रेल’ ट्रेकिङ्ग रुट निर्माण गरी प्रयोगमा ल्याउने तयारी गरिएको छ । 
    विष्णु दल गण धुलिखेलले धुलिखेल र पनौती नगरपालिकाको समन्वयमा उक्त रुटलाई पर्यटकिय पदमार्गका रुपमा विकास गरिने भएको छ । गढी, किल्ला, दरवार तथा एकिकरण गर्ने दौरानमा प्रयोग गरिएका बाटोहरुको समेत अवलोकन गरिनेछ । आगामी फागुन २४ गते उक्त पदयात्रामा मन्त्री, सांसदहरु, नेपाली सेनाका विभिन्न दर्जाका ब्यक्तिहरु, जिल्लाका विशिष्ट ब्यक्तिहरु समेत पदयात्रामा १ हजार ब्यक्ति सहभागि हुनेछन् । धुलिखेल अड्डा बजारबाट शुरु हुने पदयात्रा देविस्थान काभ्रेकोट चौकोट भमरकोट हुँदै पनौती इन्द्रेश्वरमा पुगेर समापन हुनेछ । उक्त पदयात्रा सफल बनाउन विष्णु दल गण धुलिखेलले सरोकारवालासँग छलफल गरेको छ । धुलिखेलमा आयोजित छलफल कार्यक्रममा विष्णु दल गणका गणपति प्रमुख सेनानी सुबास खड्काले ट्रेकिङ्ग रुटका बारेमा जानकारी गराउँदै त्यसलाई अझै भब्य र सभ्य बनाउन स्थानीय सरकार, सरोकारवाला निकायहरुको भूमिकाका बारेमा जानकारी गराएका थिए । 
    छलफल कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल देखि पनौतीसम्मको उक्त रुटको मापदण्ड तयार गरी साईक्लिङ्ग रुट बनाउन नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताए । रुटको बीच बीचमा शौचालय निर्माण गर्ने र शौचालय निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख ब्याञ्जुले बताए । युनिफिकेसन ट्रेलको आसपास कुनै कुनै स्थानमा पार्क निर्माण गर्ने, विश्राम स्थल निर्माण गर्ने, इतिहासको उजागार गर्दै संस्कृतिको पुस्ता हस्तान्तरण गर्नु पर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले जिल्लाकै आर्कषक पर्यटक रुट बनाउन स्थानीय सरकारको तर्फबाट सहयोग हुने बताए । छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, एसपी जयराज सापकोटा, शशस्त्र प्रहरीका डिएस्पी, अनुसनधानका डिएस्पी सरोज निरौला, धुलिखेल र पनौती नगरपालिकाका वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु, स्थानीय मनिष यगोल लगायतले उक्त अभियानमा सक्रिय सहभागिता रहने बताएका थिए ।