2019 August 19/ 11:19: 59am

    धुलिखेल/धुलिखेल नगरपालिकाले सामुदायिक विद्यालयलाई सशक्त बनाई शिक्षाको गुणस्तर कायम गर्न दरबन्दी मिलानसँगै शिक्षकको ब्यवस्थापन गरेको छ । 
    सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम भई विद्यालय बन्द हुँदै गएको अवस्था एकातिर थियो भन अर्काेतिर सामुदायिक विद्यालयमा भर्ना गर्न विद्यार्थीको घुँईचो लागेको थियो । ‘कतै विद्यार्थी धेरै शिक्षक कम, कतै शिक्षक धेरै विद्यार्थी कम भएको अवस्थालाई तथ्याङ्कगत रुपमै अध्ययन गरी दरवन्दी मिलानसँगै शिक्षकको ब्यवस्थापन गरिएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘तत्कालका लागि २४ जना शिक्षकको ब्यवस्थापन गरिएको छ भने ४ वटा विद्यालयमा विद्यार्थी शुन्य भएकाले तत्कालका लागि शिक्षकको संख्या शुन्य बनाईएको छ । ५ वटा विद्यालयको तह घटाईको छ । ४ वटा विद्यालयमा बालविकास केन्द्रको कोटा र सहयोगी कार्यकर्ताको ब्यवस्थापन गरिएको छ ।’ नगर कार्यपालिका बैठकले विद्यार्थी कम भएको र शिक्षक ब्यवस्थापन समेत भएकाले छयालदेवी प्रावि, पूर्णसञ्जीवनी मावि, देविस्थान मावि र कालिदेवी प्राविलाई उपलब्ध गराउँदै आएको नगर अनुदान १ लाख रुपैया नदिने निर्णय गरेको छ । साथै उक्त रकमबाट विद्यार्थीलाई यातायात र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ । 
    धुलिखेल नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र २०७६ को तथ्याङ्कको आधार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ का दफा ११(ज) को खण्ड (११) तथा धुलिखेल नगरपालिका विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन कार्याविधि २०७४ को दफा २५(ञ)  बमोजिम नगरपालिका भित्र सञ्चालित विद्यालयको दरवन्दी मिलान गरी शिक्षकहरुको ब्यवस्थापन गरेको हो । बैठकले विद्यालयमा मौजुदा दरबन्दी मिलान, विद्यालय मर्ज, विद्यालयको तह र कक्षा  स्थगन  गर्न कक्षा १–५ सञ्चालनमा रहेको विद्यालयमा विद्यार्थी संख्या ५ जना भन्दा कम भएमा हाललाई बाल विकास केन्द्र मात्र सञ्चालन गरी वाँकी कक्षाहरु स्थगन गर्ने र कार्यरत शिक्षकहरुलाई विद्यार्थी संख्या उच्च रहेको विद्यालयमा व्यवस्थापन गर्ने, कक्षा १–५ सञ्चालनमा रहेको विद्यालयको हकमा विद्यार्थी संख्या २० भन्दा कम भएमा कक्षा घटाई शिक्षकहरुलाई विद्यार्थी संख्या उच्च रहेको विद्यालयमा व्यवस्थापन गर्ने, कक्षा वा विद्यालय नै स्थगन भै क्रमसंख्या १ र २ अनुसारका विद्यार्थीहरु धुलिखेल नपाका नजिकको अन्य विद्यालयमा भर्ना भई अध्ययन गर्न (चालू यस शैक्षिक सत्रका लागि मात्र) प्रति विद्यार्थी भाडा तथा खाजा वापत दैनिक रु ५० का दरले हाजिर भएको दिन गणना गरी विशेष छात्रवृत्ति प्रदान गर्ने मापदण्ड बनाएको थियो । उक्त छात्रवृत्ति प्रदान गर्ने प्रयोजनका लागि विद्यार्थीको अभिलेख शिक्षा युवा तथा खेलकुद शाखाले यकिन गर्नेछ ।
    विद्यालयमा विद्यार्थी संख्या न्युन भई कक्षा स्थगन वा कक्षा घटाइ शिक्षक व्यवस्थापन गर्नु पर्दा पहिलो प्राथमिकतामा प्रधानाध्यापकलाई अन्यत्र व्यवस्थापन गर्ने, विद्यालयहरुमा कुनैपनि कक्षामा ५ जना भन्दा कम विद्यार्थी संख्या भएमा वा कक्षा ४–५ मा १० भन्दा कम र कक्षा ६– ८ मा १५ जना र ९–१० मा २० जना भन्दा कम विद्यार्थी भएमा उक्त कक्षा वा तह स्थगन गरी मिलान गर्ने, विद्यार्थी संख्या न्युन भएका विद्यालयका शिक्षकहरुलाई विद्यार्थी संख्या उच्च रहेको विद्यालयमा व्यवस्थापन गरी वाँकी रहेका शिक्षकहरुको दरवन्दी धुलिखेल नगरपालिकामा पुलमा राखि विद्यालयहरुमा कामकाज गर्न व्यवस्थापन गर्ने, दरवन्दी मिलानको क्रममा अन्यत्र व्यवस्थापन गर्दा नियुक्तिको जेष्ठताका आधारमा सम्बन्धित वडा, छिमेकी वडाको क्रमशः माथिल्लो कक्षा सञ्चालन भएका विद्यालयहरुको क्रममा व्यवस्थापन गर्ने, माध्यमिक र निमावि तहको विषयक्रम कायम गर्दा क्रमशः विज्ञान, गणित, अङ्ग्रेजी, नेपाली, सामाजिक र ऐच्छिक विषयलाई प्राथमिकता दिई मिलान गर्ने, धुनपाको शिक्षा कार्याविधिको दफा ५६ को अनुसूचि १२ बमोजिमको आधारमा गर्ने, हाल रिक्त रहेका दरबन्दीलाई तहगत दरवन्दी प्राप्त नगरेका तर माथिल्लो कक्षा सञ्चालन गरिरहेका विद्यालयलाई प्राथमिकता दिई प्रदान गर्ने मापदण्ड बनाएको थियो । 
    शिक्षक व्यवस्थापन गर्दा माथिल्लो योग्यता भएका शिक्षकहरुलाई मावि वा आवासिय माविमा प्राथमिकता दिई व्यवस्थापन गर्ने, सुत्केरी (६ महिना सम्मको) महिला, अपाङ्ग (क र ख श्रेणीका), गम्भिर रोग लागेका (मेडिकल वोर्डको सिफारिस) वा निवृत्त हुन १ वर्ष वा सो भन्दा कम अवधि भएका शिक्षकहरुलाई निजहरुको सहमतिमा मात्र व्यवस्थापन गर्ने मापदण्ड तयार गरी कार्यान्वयन शुरु भएको शिक्षा शाखा प्रमुख माधव शर्माले जानकारी दिए । शैक्षिक सत्र २०७६ मा धुलिखेल नगरपालिका भित्र रहेका ३६ वटा सामुदायिक विद्यालय, १० वटा संस्थागत विद्यालय र ३७ वटा बाल विकास केन्द्र रहेका छन् । जस मध्ये माध्यमिक तह १–१२ कक्षा संचालन भएका ५, १–१० सम्म संचालन भएका ६, आधारभुत निमावी १–८ सम्म ९ वटा, प्राथमिक तह १–५ सम्म १० वटा, १–४ सम्म २ वटा र १–३ सम्म ४ वटा रहेका छन् । जसमा एउटा गुम्बा समेत रहेको छ । कक्षा १ देखि ५ सम्म २० जना भन्दा कम विद्यार्थी भएका ६ वटा विद्यालय छन् । जस मध्ये चक्रदेवी, धनकाली, नवज्योती, शान्तिपुर, भैरव र बालचेतना प्रावी रहेका छन् । १० जना भन्दा कम विद्यार्थी भएका ९ वटा विद्यालय छन् । शुन्य विद्यार्थी भएका ठाकुर प्रावि, थुछुछे छोर्ङान गुम्बा रहेका छन् । 
    ठाकुर आधारभुत विद्यालय, सेतिदेवी प्रावि र डाँफे प्राविमा बाल विकास केन्द्र संचालन गर्ने तर छयालदेवी प्राविमा बाल विकास केन्द्र समेत तत्कालका लागि संचालन नगर्ने निर्णय गरेको छ । कालिदेवी प्राविमा ६ जना, दारिमबोट प्राविमा ८ जना, मण्डलीदेवी प्राविमा ९ जना र गणेशकालिका प्राविमा ९ जना विद्यार्थी भर्ना भएका छन् । धुलिखेल नगरपालिका भित्र १ सय ८० जना प्राथमिक शिक्षक रहेका छन् । २०७६ मा १ हजार ३ सय ६५ जना विद्यार्थी भर्ना भएका छन् । 

धमाधम शिक्षक ब्यवस्थापन
    स्थानीय सरकार गठन भए लगत्तै मण्डन देउपुर नगरपालिकाले शिक्षकहरुको दरवन्दी मिलान सहित ब्यवस्थापन ग¥यो । शिक्षक ब्यवस्थापन विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामा समेत मण्डन देउपुर नगरपालिकाले विजय प्राप्त ग¥यो । ‘विद्यालयमा विद्यार्थी नहुँदा समेत अन्यत्र जान नमान्ने शिक्षकहरुको ब्यवस्थापन गर्दा शिक्षकहरुले मुद्दा दर्ता गरे’–नगर प्रमुख टोकबहादुर वाईवाले भने– ‘कानुन बनाएरै शिक्षकको ब्यवस्थापन गरिएकाले शिक्षकहरु नगरपालिकाले ब्यवस्थापन गरेकै स्थानमा जानुको विकल्प थिएन ।’ मण्डन देउपुर नगरपालिकाले शुरु गरेको शिक्षक ब्यवस्थापन नमोबुद्ध नगरपालिकामा थोरै भएको छ । 
    तेमाल गाउँपालिकाले पनि गाउँपालिका भित्र भएका सबै विद्यालयहरुमा शिक्षकहरुको ब्यवस्थापन सहित दरवन्दी मिलान गरेको छ । चौरीदेउराली गाउँपालिकाले पनि आंशिक रुपमा शिक्षकहरुको ब्यवस्थापन गरेको छ । अन्य स्थानीय सरकारले त्यसका बारेमा छलफल गरे पनि शिक्षक ब्यवस्थापन हुन सकेको छैन । शिक्षक ब्यवस्थापन हुन नसक्दा विद्यार्थी भएका विद्यालयमा शिक्षक र शिक्षक भएका विद्यालयमा विद्यार्थी छैनन । दुई वर्षसम्म स्थानीय सरकारहरु यसको तयारीमा जुटेका छैनन् । 

आफ्नै पाठ्यक्रम 
    धुलिखेल नगरपालिकाले कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रम २०७७ देखि लागु गर्ने गरी तयार गर्न शुरु गरेको छ । पाठ्यक्रमविद् पुरुषोतम घिमीरेले स्थानीय पाठ्यक्रम निर्माणका बारेमा सरोकारवालाहरुलाई प्रशिक्षित गराएका थिए । 
    नगर प्रमुख अशोक ब्याञ्जुले स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण कार्यविधि तयार गरी पाठ्यक्रम निर्माण गर्ने बताए । ‘स्थानीय पाठ्यक्रम निर्माणका लागि आधारभुत तहको ढाँचा तय, विषय क्षेत्र छनौट गरी अगाडी बढ्नु पर्छ’–नगर प्रमुख ब्याञ्जुले भने–‘अधिकार मात्रै होईन गुणस्तर र कर्तब्य निर्वाह गर्नु पर्छ ।’ १०० पुर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण शुरु गरिएको छ भने कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गर्न प्रारम्भिक पाठ्यक्रमको ढाँचा तयार गरिने नगर प्रमुख ब्याञ्जुले भने । तयार गरिएका नयाँ पाठ्यक्रम विद्यालय क्षिा पाठ्यक्रम २०७५ अनुसार हुनेछन् । कक्षा १ र ११ को २०७५ सालमा परिक्षण गरिएको थियो भने २०७७ मा कार्यान्वयन भएको छ । कक्षा २, ३, ६ र १२ कक्षाको २०७७ मा परिक्षण गरिएको छ भने २०७८ मा कार्यान्वयन हुनेछ । २०७८ सालमा कक्षा ४, ७ र ९ को परिक्षण हुनेछ भने २०७९ मा कार्यान्वयन हुनेछ । २०७९ मा कक्षा ५ र १० को पाठ्यक्रम परिक्षण गरी २०८० मा सबै कक्षाको पाठ्यक्रम लागु गरिसक्ने तयारी छ । 
    एकीकृत पाठ्यक्रम कक्षा १ देखि ३ सम्मको तयारी गर्दा भाषा, गणित, सामाजिक ब्यवहार, स्थानीय विषय र नेपाली रहेका छन् । नयाँ पाठ्यक्रम तयार भए सँगै ४५ मिनेटको कक्षालाई ६० मिनेटको पु¥याईनेछ । बार्षिक कार्य घण्टा ८३२ हुनेछ भने पाठ्य घण्टा २६ हुनेछ । सैद्धान्तिक र ब्यवहारिक विषयको कार्य सहित ५ वटा विषयक्षेत्र समेटेर पाठ्यक्रम तयार गरिनेछ । २०७६ सालमा १०३ वटा विद्यालयमा कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम परिक्षण भईरहेको छ भने २०७७ देखि सबै विद्यालयमा कार्यान्वयन हुनेछ । स्थानीय तहले कानूनको ब्यवस्था गरी उक्त पाठ्यक्रमको तयार गरी कार्यान्वयन गर्नु पर्छ । २०४९, २०६९, २०७१ मा स्थानीय पाठ्यक्रम तयार गर्ने कानून बने पनि स्थानीय निकायमा स्थानीय पाठ्यक्रम बन्न सकेको थिएन । २०७५ को कानूनले धमाधम स्थानीय पाठ्यक्रम तयार गर्न शुरु गरिएको छ । 
    धुलिखेल नगरपालिकामा आयोजित स्थानीय पाठ्यक्रम निर्माण सम्वन्धी दुई दिने छलफल कार्यक्रममा नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख माधव शर्मा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य एव) जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक एवं विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षा समितिका सदस्यहरुको सहभागिता रहेको थियो । स्थानीय आवश्यकता अनुसार पर्यटन, दिगो विकास, स्थानीय प्राकृतिक श्रोत तथा सम्पदा, वातावरण, भू संरक्षण, स्थानीय पेशा ब्यवसाय (कृषि, आयआर्जन, उद्योग, पंक्षी तथा पशुपालन, जडिबुटी, ब्यापार), विपद ब्यवस्थापन, ऐतिहासिक महत्व, जोखिम ब्यवस्थापन लगायतका विषयमा पाठ्यक्रम तयार गर्न सक्छन् । 
    रोशी गाउँपालिकाले कक्षा १ देखि ८ सम्मको प्रारम्भिक पाठ्यक्रम तयार शुरु गरेको छ । जिल्लामा अन्य स्थानीय सरकारले स्थानीय पाठ्यक्रमका बारेमा छलफल समेत शुरु गरेका छैनन ।