2019 August 19/ 11:34: 56am

तीन वर्षमा १ सय ४६ को मृत्यु
    बनेपा/टिपरबाट हुने दुर्घटना न्यूनीकरण गर्न प्रहरी र ब्यवसायीहरुले गत साता झण्डै ५ सय चालक र सह–चालकहरुलाई प्रशिक्षण दिए । सवारी दुर्घटनामा चालकको लार्पवाहि प्रमुख कारण भएको तथ्यले देखाएपछि प्रहरी र ब्यवसायीहरुले चालक केन्द्रित अभियान शुरु गरेको बताए । 
    आर्थिक वर्ष २०७५/०७६ मा टिपरबाट भएका १५ वटा दुर्घटनामा ७ वटा घटना चालक लार्पवाहिबाट भएका छन् । तिब्र गतिका कारण ५ वटा र यान्त्रिक गडबडीबाट ३ वटा मात्रै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक दामोदर सिलवालले बताए । ‘अधिकांश दुर्घटनामा चालकको लार्पवाहि र तिब्र गति देखिएकाले सचेत गराउन चालकलाई प्रशिक्षण दिईएको हो’–प्रहरी निरिक्षक सिलवालले भने–‘साउन महिना भर सचेत गराउँछौं र भाद्र महिना देखि थप कारवाही शुरु गर्नेर्छाै ।’ दुर्घटनामा ८ पुरुष र ३ महिलाको निधन भएको छ । ७ जना सख्त घाईते भएका थिए भने ४ जना सामान्य घाईते भएका थिए । 
    २०७५ साउन देखि २०७६ असारसम्म जिल्लामा ७० वटा दुर्घटना भएका छन् । ट्रक र टिपरबाट ३४ वटा दुर्घटना भए भने ९ वटा बसबाट दुर्घटना भएका छन् । अब्यवस्थित सडक, कम अनुभव भएका चालक र अस्वस्थ प्रतिस्पर्धासँगै तिब्र गति दुर्घटनाका कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका सई राजेश दाहालले बताए । १६ वटा कार र जिपबाट दुर्घटना भएका छन् भने ३३ वटा घटना मोटरसाईकलबाट भएका छन् । दुर्घटनामा ९४ वटा सवारी साधन संलग्न भएका थिए । दुर्घटनाबाट जिल्लामा एक वर्षको अवधीमा ३७ जनाले ज्यान गुमाउन पुगेका छन् । मृत्यु हुनेमा २९ पुरुष छन् भने १० महिला, १ बालक र १ बालिका छन् । ६१ जना सख्त घाईते भए भने ४० जना समान्य घाईते भएका छन् । 
    तीन वर्षको अवधीमा जिल्लामा भएका १ सय ९६ वटा दुर्घटनाबाट १ सय ४६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको संख्या बर्षेनी बृद्धि भएको छ । २०७३÷०७४ मा ६५ जनाले ज्यान गुमाएकोमा पछिल्लो वर्ष ६१ जनाले ज्यान गुमाए पनि गतवर्ष ७० जनाले ज्यान गुमाएका छन् । २ सय ७९ वटा सवारी दुर्घटनामा संलग्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख दामोदर सिलवालले बताए । दुर्घटना न्युनिकरण गर्ने अभिप्रायले सरोकारवालाको उपस्थितिमा चालकहरुलाई प्रशिक्षण दिएको उनले बताए ।