2024 April 26/ 05:38: 05am

    धुलिखेल/असार २६, २७ र २८ गते परेको अविरल बर्षातले जिल्लामा मानविय क्षति पु¥याएको थियो । क्षति रोक्न स्थानीय सरकारले धिमे गतिमा तयारी गरेका छन् । वर्षातकै कारण स्थानीय सरकारहरुको सदरमुकामसँग सम्वन्ध विच्छेद जस्तै भएको छ । 
    सदरमुकाम आउन नागरिकले सास्ति भोग्नु परेको छ । ‘स्थायी रुपमा सडक संचालनमा ल्याउन नसक्दासम्म नागरिकले भोग्नुपर्ने दुःख ज्यूँका त्यूँ रहने छ’–खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले भने–‘खोपासी ताल्ढुङ्गा सडकको स्तरोन्नती र स्थायी प्रकृतिको बनाउन पहल आवश्यक छ ।’ उक्त सडकमा विनियोजन भएको रकम सबै खर्च हुन सकेन भने बर्षातको समयमा दर्जनांै स्थानमा सडक अवरोध भएको छ । डाँडापारीको महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश सडक सदरमुकाम आउन रोकिएका छन् । महभारत गाउँपालिका पुग्न सिन्धुली पुग्नुपर्ने बाध्यता थियो । मुल सडकको ट्रयाक नखोल्दा महाभारत जान आउन नागरिकले सास्ति ब्यहार्नु परेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । ‘स्थानीय, प्रदेश र संघ सरकारले वर्षेनी प्राथमिकतामा राखेकोे भए पनि सडकका कारण नागरिकले सास्ति झेल्नु परेको छ’–अध्यक्ष जिम्बाले भने । वर्षातका कारण प्रारम्भिक तथ्याङ्क अनुसार ४७ वटा घर पूर्ण रुपमा क्षति भएका छन् भने ९५ वटा घरमा आंशिक क्षति पुगेको छ । ३९ वटा गोठ, ५ वटा सरकारी भवनमा क्षति पुगेको अध्यक्ष जिम्माले बताए । ७३ वटा गोठमा आंशिक क्षति पुगेको छ । वर्षातकै कारण ४ किलोमिटर सडकमा क्षति पुगेको महाभारत गाउँपालिकामा ११ वटा पशुको मृत्यु भएको छ । १९ वटा घाईते भएका छन् । पशुमा धेरै क्षति भएको गाउँपालिका महाभारत नै हो । 
    खानीखोला गाउँपालिकामा ४३ वटा घरमा क्षति पुगेको छ । १७ वटा गोठमा क्षति पुग्दा ३ वटा पशुको मृत्यु भएको छ । बनेपा नगरपालिकामा २ जना र रोशी गाउँपालिकामा एक जनाको मानविय क्षति पुगेको छ । जिल्लाका १३ वटै स्थानीय सरकारको प्रारम्भिक तथ्याङ्कले २ सय ६४ वटा घर पूर्ण रुपमा क्षति भएको देखाएको छ भने १ हजार २ सय ४१ वटा घरमा आंशिक क्षति भएको छ । १ सय ८२ वटा गोठमा क्षति हुँदा ४१ वटा पशु मरेका छन् । १ सय ६ वटा घाईते भएका छन् । ९४ वटा सार्वजनिक संरचनामा क्षति पुगेको छ । पक्कि सडक ८ सय ५० मिटर क्षति पुगेको छ भने ४३ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ । स्थानीय सरकारले जिल्लाको प्रकोेप ब्यवस्थापन समितिमा यथार्थ विवरण अझै बुझाएका छैनन् । नगरपालिकामा भन्दा गाउँपालिकामा रहेका घरहरु धेरै क्षति भएका छन् । तेमालमा ४१, रोशीमा ३०, खानीखोलामा ४३, महाभारतमा ४७, बेथान्चोकमा २८ रहेका छन् । बनेपा नगरपालिकामा ८, पाँचखालमा ४, धुलिखेलमा १, पनौती नगरपालिकामा ३०, मण्डन देउपुर नपमा ८, नमोबुद्ध नपामा १०, भुम्लु गापामा ३, चौरी देउरालीमा ११ घर पूर्ण रुपमा क्षति भएका छन् ।