2019 November 13/ 06:21: 20am

    बनेपाको ब्यस्त बजारमा बाटोमा हिडिरहेकी ३४ बर्षिया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छिन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएकी हुन् । 
    राजधानी काठमाडौमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएको काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्वर ८ करुणा मार्गमा ठमेल घर भई बनेपामा २०७२ साल देखि डेरामा बस्दै आएकी युवतीलाई सिरिन्ज प्रहार गरिएको हो । ‘दिदीको घर डेराबाट केहि पर छ, राति सवा ८ बजे दिदीको घरबाट १३ बर्षिया छोरी र म फर्कर्दै थियौं’–उनले भनिन–‘बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आईन र हातमा हात जुधाएर अघि बढिन् ।’ ‘उसँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा अधबैशे उमेरकी ति युवती फटाफट आफ्नो बाटो लागिन्’–उनले थपिन्–‘म कोठामा गएँ खाना खाएर सुतें तर हात दुखेर सुत्न सकिन । छोरी र म एउटा कोठामा सुत्ने भएकाले उनलाई भनें तर उनी निद्रामा भएकाले वास्ता गरिनन् ।’ 
    ‘विहान उठ्दा समेत हात दुख्न छाडेन’–युवतीले भनिन्–‘हात मर्काउँदै एक्सरसाईज गर्दा त सुन्निएछ । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निएछ क्यार भन्दै थिएँ । किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भन्नु भयो । म आतिएँ । तत्कालै उहाँले नै टेकु जानु भन्नु भयो ।’ ‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गर्नु भयो र तत्कालै एचआईभी एड्स विरुद्धको औषधी खान दिनु भयो’–युवतीले भन्नु भयो–‘प्रहरीले पनि अनुसन्धान गर्नु भयो । काठमाडौमा यस्ता धेरै घटना भएकाले सचेत रहन र नआत्तिन सल्लाह दिनु भयो ।’ २८ दिनसम्म नियमित औषधी सेवन गर्न भन्नु भएको बताउँदै युवतीले रगत परिक्षणको प्रतिवेदन विहिबार दिउसो आउने जानकारी दिनु भयो । 
    ‘अहिले सुन्निएको हात बसेको छ तर पनि डरले काँपिरहेको छु’–उहाँले भन्नु भयो–‘औषधी नियमित खान र प्रहरीकोमा उजुरी गर्न सल्लाह दिएकाले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएँ ।’ इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निराजन भट्टराईले सिरिञ्जबाट आक्रमण भएको सम्वन्धमा उजुुरी परेको बताउनु भयो । जिल्लाकै पहिलो घटना भएकाले अनुसन्धान शुरु गरेको भट्टराईले जानकारी दिनु भयो । युवतीका श्रीमान बनेपामै मोटर पार्टस ब्यवसायी हुन् ।