2025 February 10/ 02:18: 34am

लक्ष्मण तिमल्सिना
धुलिखेल

    धुलिखेल नगरपालिका नेपालको पहिलो स्वस्थ शहर घोषणा सँगै विश्व स्वास्थ्य संगठनले पुरस्कार प्रदान गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा.सुभाजी गुडद्वारा २०८१ भदौ महिनामा  धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ शहर घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय स्तरमा चिनिएको धुलिखेलका बारेमा लोक सेवा आयोगले प्रश्नावलीमा समेत समावेश गरेको छ ।      
    स्वस्थ शहर घोषणा सँगै धुलिखेल नगरपालिकालाई विश्व स्वास्थ्य संगठनका तर्फबाट पाँच हजार अमेरिकी डलर सहित प्रमाणपत्र हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग टेकुमा प्रमाण पत्र र ट्रफी सहित नगद पुरस्कार विश्व स्वास्थ्य सगंठन नेपालका प्रमुख राजेश साम्भाजिराव पाण्डबले धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुलाई हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रम स्वास्थ्य सेवा विभागका महानिर्देशक विकास देवकोटाको अध्यक्षतामा भएको थियो । महानिर्देशक देवकोटाले स्वास्थ्य विभागले देशभरका पालिकाहरुलाई स्वस्थ शहर बनाउन खोजेको बताए । धुलिखेल नगरपालिकाले प्राप्त गरेको अवार्डले नेपालका पालिकाहरुमा उपलब्ध स्वास्थ्य सेवाको गुणस्तर तथा उपलब्धता जाँच भएकाले क्रमशः अन्य पालिकाहरुलाई यसतर्फ उन्मुख गराउन सरकार प्रयत्नशिल रहेको बताए । 
    धुलिखेल नगरपालिका नेपालकै नमुना भएकाले अन्य पालिकाहरुले समेत धुलिखेल नगरपालिका बाट सिक्नु पर्ने बताए । कार्यक्रममा धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्यान्जुले  नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको बताए । दिगो विकासका १७ सुचक मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरिसकेको बताउँदै नगर प्रमुख ब्याञ्जुले स्वस्थ शहरमा विकास भनेको पूर्वाधार निर्माण मात्रै हो भन्ने बुझाई भएका आम नागरिक र जनप्रतिनिधीहरुलाई विश्वका सुचक, मापदण्ड र नागरिकहरुका साना साना विषयलाई ध्यान दिएर काम गर्नु पर्ने पाठ समेत सिकाएको बताए । ‘विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिका स्वस्थ शहर घोषणा गरी पुरस्कार समेत प्रदान गरेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने– ‘यो निर्णयले सिंगो नेपाल र काभ्रेपलाञ्चोक जिल्लाबासीका साथै धुलिखेल नगरबासी खुशी छौ । खुशीसँगै अवसर र चुनौती दुबै प्राप्त भएको महसुस गरेका छौं ।’ 
    लगातार २ वर्ष देखि धुलिखेल नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवालाई प्रभावकारी अनुगमन र मुल्यांकन गर्दै विश्व स्वास्थ्य संगठनले ६२.४८ अंक प्रदान गरी दक्षिण पुर्व एशियाको दोश्रो तहको स्वस्थ शहर घोषणा गर्ने निर्णय सार्वजनिक गरेको थियो । विस्व स्वास्थ्य संगठनको मापडण्द पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकहरुको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोगको नियमित उपचार, सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतिलाई आधार मानेको छ । धुलिखेल नगरपालिकाले विश्व स्वास्थ्य संगठन मार्फत सर्ने र नसर्ने रोग, जेष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब समुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य लगायत शहरी स्वास्थ्य सुशासनमा काम गर्ने नगर प्रमुख ब्याञ्जुले बताए । अपाङ्गता, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्युनीकरण, सुरक्षित र पूर्ण खोप, सामुदायिक स्वास्थ्य लगायतका क्षेत्रमा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी कार्य गरिरहेको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताए । धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले निरन्तरको प्रयासले धुलिखेल नगरपालिकालाई स्वस्थ शहर घोषणा गर्ने महत्वकांक्षी योजनामा सफल भएको बताए । ‘अब यसको निरन्तरता र थप सफलताको लागि कार्य प्रारम्भ गरिएको छ’–स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले भने– ‘धुलिखेल, काभ्रेपलाञ्चोक जिल्ला र नेपालकै लागि गौरवको विषय भएकाले यसको निरन्तरता चुनौती बनेको छ ।’ प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासीनीले नगरपालिकाले प्राप्त गरेको अवार्डले नागरिकहरुमा उत्साह र जनप्रतिनिधि तथा कर्मचारीहरुलाई थप दायित्वबोध बनाएको बताए । 
    कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठ, धुलिखेल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य, धुलिखेल नगरपालिका लेखा अधिकृत भवानीप्रसाद मिश्र, शाखा प्रमुख सन्दिप केसी, स्वास्थ्य शाखाका सरदचन्द्र थापा, स्वस्थ शहर कार्यक्रमका योजनाकार तथा समाजसेवी दिर्घराज बरुण लगाएतको उपस्थिती रहेको थियो ।