धुलिखेल/धुलिखेल नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सडक चोकमा निर्माण गरि दिएको प्रहरी विट हस्तान्तरण गरेको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्कालाई तीनवटा प्रहरी विट हस्तान्तरण गरेका हुन् ।
धुलिखेल नगरपालिकाले विपी राजमार्ग जाने धुलिखेल चोक, अरनिको राजमार्ग स्थित धुलिखेल बसपार्क र विपी राजमार्गकै काभ्रे भन्ज्याङ्गमा प्रहरी विट निर्माण गरिदिएको थियो । वातावरण अनुकुलित आरपी प्यानलबाट निर्माण गरिएका प्रहरी विट ७÷७ फिटको छ । साढे ७ लाख रुपैयामा निर्माण गरिएको उक्त विटहरुलाई एक कार्यक्रमका साथ हस्तान्तरण गरिएको हो । ‘सडकमा ड्युटीमा बसिरहेका बेला प्रहरीलाई घाम र पानीबाट बच्न तथा सडकमा हुने विभिन्न खालका गतिविधिहरुलाई नियन्त्रण गर्न विट उपयोगी हुनेछ’–जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन–‘प्रहरी विट नहुँदा त्रिपाल मुनी बसेर प्रहरीले ड्युटी गरिरहेको थियो । स्थानीय सरकार र प्रहरी बीचको समन्वयले समुदायमा आधारित सेवालाई अझै प्रभावकारी बनाउन सहज हुनेछ ।’
नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल पर्यटकिय शहर भएकाले शान्ति सुरक्षा तथा दुई प्रमुख मार्ग विपी र अरनिको राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुहरुको सुरक्षाका लागि खटिएका प्रहरीलाई गस्ति तथा ड्युटीमा सहजताका लागि प्रहरी विट निर्माण गरिदिएको बताए । सोहि प्यानलबाट धुलिखेल नगरपालिका वडा नम्वर ३ को भवन पनि निर्माण गरिएको छ ।