
चौरीदेउराली/चौरीदेउराली गाउँपालिकाले वातावरणीय अधिकार र जलवायु संरक्षण सम्वन्धि अन्र्तक्रिया आयोजना गरिएको छ ।
जर्मन सरकारको सहयोगमा सिविसद्वारा संचालित वातावरणीय अधिकार र जलवायु संरक्षणमा युवा तथा स्थानीय सरोकारवालाहरुसँगको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले वातावरण संरक्षणमा गाउँपालिकाले चासो र सक्रियताका साथ कार्य प्रारम्भ गरेको बताईन् । ‘वातावरण मैत्री कानून निर्माण गर्न आवश्यक छलफल प्रारम्भ गरेका छौं । जलवायु परिवर्तनका असरहरु देखिन थालेका छन् । वातावरणमैत्री गुरुयोजना निर्माण गरिएको छ । वातावरण बचाई राख्न र जलवायु अनुकुलन कार्यक्रमहरु संचालनका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहकार्य गर्नेछ’– अध्यक्ष रेणुका चौलागाईले भनिन–‘विगतमा देखिएका ढुंङ्गेधारा, पोखरी, आहाल, खानेपानीका मुहानहरु सुकेका छन् । आवश्यक हुँदा पानी नपर्ने, नचाहिने र धेरै भएका समयमा पानीले क्षति पु¥याउने गरी बर्षात हुने गरेको छ । हिउँदमा डंडेलो लागेर हैरान हुन थालेको छ ।’ नागरिकहरुलाई वातावरणीय अधिकार र जलवायु संरक्षणका सन्र्दभमा सचेतना फैलाउने, जलवायु मैत्री खेतिपाती गर्ने, जीवनयापन सहज बनाउने नीति तथा कार्यक्रम तयार गरी बजेट विनियोजनमा ध्यान दिने गाउँपालिका अध्यक्ष चौलागाईले बताईन् ।
‘चौरीदेउराली गाउँपालिकामा दुतिको पहिरोका रुपमा चिनिएको दक्षिण एशियाको सबै भन्दा ठुलो पहिरो छ । जसले बस्ति विस्थापित गरिरहेको छ । सुरक्षित स्थानमा स्थानान्तरणका लागि भएका प्रयत्नहरु असफल हुने गरेका छन्’–अध्यक्ष चौलागाईले भनिन–‘वाढी पहिरो, आगलागी, लम्पि स्किन लगायतका अनेक विपदबाट नागरिकहरुलाई राहत, पुर्नस्थापना तथा रोकथामका लागि प्रयास गरिएको छ ।’ अध्यक्ष चौलागाईले भनिन– ‘खानेपानीका मुहान सुकेर कतै लिफ्ट, कतै डिप बोरिङ्ग गरेर काकाकुल हुनबाट जोगाउने प्रयत्न पनि पूर्ण सफल हुन सकेको छैन । सिंचाई गर्न कठिन छ । पशुपालन गर्न सम्भव छैन । जलवायु परिवर्तनका असरबाट बच्न जन्म दिनमा बृक्षारोपण गरौ । घर परिवारमा भएका महिला दिदी बहिनीहरुलाई यसको असरका बारेमा बुझाउँ । प्लास्टिकजन्य फोहोरलाई सहि ब्यवस्थापन गरौ ।’
अध्यक्ष चौलागाईले जलवायु परिवर्तनले इतिहास बोकेका स्थानीय स्तरका पुरातात्विक महत्वका संरचनाहरु ध्वस्त हुँदै गएको बताईन् । ‘चौरीदेउरालीमा देउपोखरी जस्तो ऐतिहासिक स्थल थियो । जहाँ तत्कालिन समयमा राजारानीले पौडी खेल्ने गरेको इतिहास छ । अझै उनिहरुले पौडी खेलि सकेर प्रयोग गरेको तौलिया सुकाउने गरेको ढुंगा पनि छ’–अध्यक्ष चौलागाईले भनिन–‘यस्ता संरचनाहरु जोगाउन कठिन छ । पानी छैन । पोखरी मासिए । कुवा छैनन । धारा छैनन ।’ असरल्ल सडक खनिएका छन् । विकाससँगै जोखिम बढेको अध्यक्ष चौलागाईले बताईन् । गाउँपालिका अध्यक्ष चौलागाईले सबै वडामा बृक्षारोपण गर्ने, वातावरण मैत्री कार्यक्रमहरुलाई प्रभावकारी बनाउने, जलवायु संरक्षणमा जोड दिन आवश्यक कानून, बजेट र कार्यक्रम तयार गर्ने प्रतिवद्धता ब्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महानदास लामाले वातावरण संरक्षण अभियानमा सिविससँगको सहकार्यमा प्रारम्भ भएका कार्यक्रमहरुका अलावा गाउँपालिका आफैले पनि वातावरणीय गुरुयोजना मार्फत थप कानून निर्माण गर्ने बताए । ‘वातावरण संरक्षण गर्न, जलवायु परिवर्तनका कारण भईरहेको भुक्षय, आगलागी, बाढि पहिरो जस्ता विपद न्यूनिकरण गरी नागरिकहरुको दैनिक जीवनयापनमा सहजिकरण गरिनेछ’–प्रमुख प्रशासकिय अधिकृत महानदास लामाले भने–‘स्थानीय कृषक तथा युवाहरु, अन्य सरोकारवाला निकायहरुको समन्वयमा जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न संगठित रुपमा जुध्ने गरी गाउँपालिकाले आवश्यक नीति, कानून र कार्यक्रम तय गर्नेछ ।’ ‘विकास गरौ, वातावरण नविगारौं, विकास एक्लै हिड्दैन, विकासलाई विनाशले पछ्याई रहेको छ’–प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले भने–‘नागरिकहरु जलवायु परिवर्तनका कारण चरम संकटमा छन् । नागरिकहरुलाई वातावरणमैत्री कानून निर्माण गरेर सहज जीवनयापनका लागि गाउँपालिकाले भूमिका खेल्नेछ ।’
कार्यक्रममा वडा अध्यक्षहरु वडा नम्वर १ का सुशिल लामा, वडा नम्वर ३ का चित्रप्रसाद चौलागाई, वडा नम्वर ४ का रामप्रसाद चौलागाई, वडा नम्वर ५ का कृष्णप्रसाद गौतम, वडा नम्वर ८ का अध्यक्ष धनबहादुर तामाङ, वडा नम्वर ९ का अध्यक्ष रामबहादुर लामाले स्थानीय सरकारले भोगिरहेका समस्या, नागरिकहरुलाई उपलब्ध गराईरहेको सेवा तथा अवस्थाका बारेमा जानकारी गराएका थिए । वडा अध्यक्षहरुले गाउँपालिका, प्रदेश र संघ सरकार संवेदनशिल विषयमा गम्भिर हुन, नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिन, विकाससँगै वातावरण शुल्क ब्यवस्थापन गर्न, जलवायु अनुकूलन कार्यक्रम र ब्यवसायका लागि प्राथमिकता दिन सबै पक्षको सक्रियता आवश्यक रहेको बताएका थिए । जलवायु अनुकूलन विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न, विकास, विनाश पछि बुद्धि आउने विषयलाई कम गर्न, वातावरण मैत्री संरचनामा स्थानीय सरकार एक्लैले प्रयत्न गर्न सम्भव नभएको बताए । वातावरण जोगाउन बृक्षारोपण गर्ने, आगलागी नियन्त्रणका लागि युवा सहितको सहभागितामा दक्ष जनशक्ति र श्रोत साधनको ब्यवस्थापन गर्न, वातावरण मैत्री संरचना निर्माण गर्न, खण्डबृष्टि, अतिबृष्टि र अनाबृष्टिमा ध्यान दिन अनुरोध गरेका थिए ।
अन्र्तक्रिया कार्यक्रममा जनप्रतिनिधिहरु, सामुदायिक वनका प्रतिनिधि कुमार चौलागाई, स्थानीय युवाहरु निश्चल तामाङ, जिलेट तामाङ, मुस्कान लामा, सुशिल लामा, केदारबहादुर गौतम लगायतले युवाहरुको सहभागिता र सक्रियतामा जलवायु संरक्षण अभियानमा गाउँपालिकाले आवश्यक नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्नेमा जोड दिए । प्राईम एफएम १०४.५ मेगाहर्जले संयोजन गरेको कार्यक्रमलाई चौरीदेउराली गाउँपालिकाको ब्यवस्थापन रहेको थियो । सिविस नेपाललाई जर्मन सरकारको सहयोग रहेको उक्त कार्यक्रम जिल्लाको चौरीदेउराली गाउँपालिकामा संचालन भएको छ ।
कार्यक्रमका बारेमा सिविसका कार्यक्रम संयोजक छिरिङ्ग डोल्मा लामा, युवा पैरवी संयोजक पवन खरेल, सञ्जीव न्यौपाने लगायतको सहभागिता रहेको थियो । प्राईम एफएमका कार्यक्रम प्रस्तोता तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले संचालन गरेको कार्यक्रममा प्राईम एफएमका प्रस्तोता विकास तिमल्सिनाले सहजीकरण गरेका थिए ।