
‘ठुलो समस्या छैन, मिल्छ र मिल्नुपर्छ’
धुलिखेल/केहि वर्ष देखि काठमाडौ विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको द्वन्द्व भाद्र महिना भित्र समाधान गर्ने गरी प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सिनेट बैठकमा गरेको प्रतिबद्धता अनुसार धमाधम प्रयत्नका छलफलहरु प्रारम्भ भएका छन् ।
संयोग पनि त्यस्तै परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर मार्फत काठमाडौ विश्वविद्यालयको दीक्षान्त सभामा शुक्रबार धुलिखेल आएका थिए । फर्कने क्रममा आएको हेलिकप्टरमा प्राविधिक समस्या देखाउँदै प्रधानमन्त्री लिन नेपाली सेनाको हेलिकप्टर आउनु पर्ने भयो । उक्त हेलिकप्टर ल्याण्ड गर्ने उपयुक्त स्थान भनेको धुलिखेल अस्पताल भित्रको प्राङ्गगण थियो । जहाँको हेलिप्याड नेपाली सेनाको सहयोगमा अस्पतालले निर्माण गरेको थियो । विश्वविद्यालयको दीक्षान्त सभामा मन्तब्य राखेर फर्कने क्रममा प्रधानमन्त्री ओलीलाई धुलिखेल अस्पतालका संस्थापक प्रमुख एवं काठमाडौ विश्वविद्यालयका दुई कार्यकाल उपकुलपति समेत रहेका प्रा.डा.रामकण्ठ माकजु लगायतले स्वागत गरे । दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भनेका थिए –‘केहि समय अघि देखि शैक्षिक संस्था र मेडिकल क्षेत्रको संस्था बीच देखिएका समस्या ठुला छैनन्, होईनन् । ति समस्या मिल्छन् र मिलाउनु पर्छ ।’ प्रधानमन्त्री ओलीले सिनेटमा सदस्य समेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले दुई संस्था बीच देखिका मतभेदहरुलाई अन्त्य गर्न आवश्यक रहेको जानकारी गराएका थिए । सोहि विषयलाई लिएर प्रधानमन्त्री ओलीले दुबै संस्थाका प्रतिनिधीहरुलाई बालुवाटर बोलाएर पहिलो चरणको छलफल गरिसकिएको छ । अस्पताल र विश्वविद्यालय बीचको प्रारम्भिक छलफल भएको छ । विश्वविद्यालयका डिन र अस्पतालका प्रतिनिधिहरु बीच पटक–पटक छलफल भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न सहजीकरण समिति गठन गरेको छ । समितिमा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्मा, पूर्व मन्त्री एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटा, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठ, प्रा.डा. सिताराम अधिकारी, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु रहेका छन । विश्वविद्यालय र धुलिखेल अस्पतालबीच उत्पन्न असमझदारीका कारण दुवै संस्थाको कार्य सम्पादनमा गम्भिर असर परिरहेको समेत मन्त्रालयले जनाएको छ । सोहि अवस्थाको अन्त्य गरी विश्वविद्यालय र अस्पतालको सु–संचालनका लागि दुवै संस्थाबीच विगतमा झैं सौहार्द सम्बन्ध विकासका लागि आवश्यक सहजीकरणका लागि समिति गठन गरिएको हो । समितिलाई दुवैं सस्थाहरु पूर्ववत् अवस्थामा जस्तै सौहार्दपूर्ण अवस्थामा सञ्चालनका लागि आवश्यक व्यवस्थापनको खाका पेश गर्न भनिएको छ । अस्पताल र विश्वविद्यालय दुबै संस्था समन्वय र साझेदारमा संचालन हुँदा मात्रै दुबैको अस्तित्व रहने, नागरिकले सेवा प्राप्त गर्ने र गुणस्तर कायम रहनेमा सबै ढुक्क भए पनि विश्वविद्यालयले गरेका पछिल्ला केहि विवादित निर्णयका कारण दुबै संस्थाको अस्तित्व संकटमा पर्ने चिन्ता ब्यक्त हुन थालेको हो । विश्वविद्यालय आफैले नियुक्ति गरेका कर्मचारीको राजिनामा ७ महिना देखि लुकाएर धमाधम सोहि समिति मार्फत निर्णय गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक प्रयोगमा ल्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन । विश्वविद्यालयको २९ औं दीक्षान्त अघि सोहि हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो । हेलिकप्टरबाट ओर्लिएर प्रधानमन्त्री ओलीले सोहि कारमा राखेर उद्घाटन स्थलसम्म लगिएको थियो । कोरियामा बनेको हुण्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको हो । प्रधानमन्त्री ओलीले हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए ।
लगत्तै आयोजना गरिएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी एसइई परीक्षामा सहभागि विद्यार्थीहरु ७० प्रतिशत उत्तिर्ण हुने गरी ब्यवस्थापकीय कार्य थालेको बताए । अंग्रेजी, गणित, विज्ञान लगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई निर्देशन सहितको ब्यवस्थापन गर्न शुरु गरिएको बताए । ‘पचास प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तिर्ण हुनुु विद्यार्थी माथिको चरम अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छुु । बढी नम्बर दिएर नभई विद्यार्थीले आफै राम्रो लेखेर धेरै उत्तिर्ण गराउने गरी काम थालिसकेका छौँ । अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी काम गर्नेछौँ’– प्रधानमनन्त्री ओलीले भने – ‘सरकार देशको समृद्धी र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने छौं । प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न संकायमा दीक्षित विद्यार्थीलाई आफूूले प्राप्त गरेको ज्ञान सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गर्दछु ।’
समारोहमा प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्स्बाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे भने स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरको, रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेकिडल साइन्सेजमा अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र स्कुल अफ एजुकेशनकी रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईलगायत उपस्थित कार्यक्रममा समारोहमा विदेशी विद्यार्थीसहित दुई हजार तीन सय १४ विद्यार्थी दीक्षित भएका थिए । कार्यक्रममा संस्कृतविद डा. जगमान गुरुङ, उपकुलपति भोला थापा, रजिस्ट्रार डा.अच्युत वाग्ले लगायतले दीक्षान्त समारोह र विद्यार्थीहरुले आगामी दिनमा खेल्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।