८ उद्योगलाई मुद्दा
लक्ष्मण तिमल्सिना
बनेपा
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य कार्यालय, जिल्ला प्रशासन लगायतका सरोकारवाला निकायहरुले पछिल्ला दिनमा गरेको बजार अनुगमनमा होटलहरुमा प्रयोग गरिने अधिकांश खाद्य बस्तुहरुको गुणस्तर तथा तयारी खाद्य सामाग्रीमा प्रयोग गरिएका बस्तुहरु अखाद्य भएको पुष्टि भएको छ ।
विशेषगरी धेरै खपत हुने समयमा ब्यवसायीहरुले उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्दै अखाद्य बस्तुहरुको मिसावट गर्ने गरेको खुलासा भएको छ । ‘होटल पसलहरुमा खाना तथा खाजा, खाद्य बस्तुको प्रयोग गर्दा उपभोक्ता आफै पनि सचेत हुन आवश्यक छ’– डिभिजन प्रमुख मनिषा चापागाईले भनिन्–‘हाम्रो अभियान उपभोक्ता सचेत गराउँदै ब्यवसायीहरुलाई पनि जागरुक गर्ने र पटक–पटक गरिएको अनुरोधलाई वेवास्ता गर्ने ब्यवसायीहरुलाई कानूनी कारवाही गर्ने छौं ।’ उपभोक्ताहरु बेवास्ता गर्ने र ब्यवसायीहरुले अटेर गर्दा बजारमा गुणस्तर र खान मिल्ने सामाग्री कम हुँदै जान थालेका छन् । बुबाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा तयार गरिएका मिठाईहरुमा गरिएको परिक्षणमा मिठा मिठा खाद्य बस्तुहरुमा अमिला र स्वास्थ्यका लागि हानि गर्ने अखाद्य बस्तुहरु फेला परेका छन् ।
मिठाईहरुमा अखाद्य केमिकल, रङ प्रयोग गरी विक्री वितरण गरिएको फेला परेकाले नष्ट गरिएको चापागाईले बताईन् । अनुगमनका क्रममा पनौतीका अधिकांश मिठाई पसलमा अखाद्य केमिकल प्रयोग गरिएको, अत्याधिक रङ, सरसफाईमा ध्यान नदिएकाले ब्यवसायीहरुलाई सचेत र सजग गराउँदै कानूनी प्रकृया समेत शुरु गरिएको छ । मिठाईमा अखाद्य बस्तुहरु प्रयोग गर्ने ब्यवसायीहरुलाई कानून अनुसार मुद्दा दर्ता गर्ने गरी प्रकृया अघि बढाईएको छ । अनुगमन गरेका पसलहरुमा अब उप्रान्त त्यस्ता अखाद्य केमिकल र रङ प्रयोग नर्गन निर्देशन दिएको उनले बताईन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेले आर्थिक वर्ष २०८०÷०८१ मा भएका गतिविधिहरु पूर्ण रुपमा कार्यान्वयन गरिएको डिभिजन प्रमुख मनिषा चापागाईले बताईन् ।
डिभिजन कार्यालयले खाद्य गुणस्तर तथा होटल तथा रेस्टुरेन्टहरुमा गुणस्तर सुधारका लागि होमस्टे, होटल रेस्टुरेन्ट, क्यान्टिन संचालकहरुलाई खाद्य स्वच्छता सम्वन्धी दुई पटक तालिम प्रदान गरिएको छ । खाद्य स्वच्छता तथा पोषण सचेतना अभिबृद्धी सम्वन्धी अन्र्तक्रिया दुई पटक गरिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धी सरोकारवालाहरुसँग दुई पटक अन्र्तक्रिया गरिएको छ । ऐन बमोजिम १ सय वटा खाद्य नमुना संकलन गरिएको छ । खाद्य स्वच्छता सर्भिलेन्सका लागी ६० वटा नमुना संकलन गरिएको छ । अनुगमन निरीक्षण एवं नमुना संकलनका सामाग्री खरिद, खाद्य सुरक्षा आपतकालिन सम्बोधन, कार्यालयको कार्यक्षेत्रमा रहेका खाद्य तथा दाना उद्योगहरुको प्रोफाईल तयारी गरिएको छ ।
स्थानीय तहको समन्वयमा स्ट्रिटफुडको खाद्य स्वच्छता अभिबृद्धि कार्यक्रम, फलफुल बजार÷गोदाममा रिपेनिङ्ग एजेन्टको प्रयोगको सर्भिलेन्स तथा नियमन, खाद्य बजार अनुगमन गरिएको छ । १ सय पटक बजार खाद्य बजार अनुगमन गरिएको छ । ८ पटक दाना बजार अनुगमन गरिएको छ । ५३ पटक होटल तथा रेस्टुरेन्टहरु अनुगमन गरिएको छ । ७६ वटा खाद्य उद्योग अनुगमन गरिएको छ । हाटबजार, मेला महोत्सव ८ पटक अनुगमन गरिएको छ । संवेदनशील खाद्य पर्दाथ अन्र्तगत दुध, तेल, पानी लगायत उत्पादन गर्ने उद्योगहरुको ४३ पटक अनुगमन गरिएको छ ।
न्यूनस्तरको खाद्य पदार्थ १२ वटा नमुना संकलन गरिएको छ । दुषित खाद्य पदार्थ ४ वटा संकलन गरिएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा ८ वटा उद्योगलाई मुद्दा दायर गरिएको छ । डिभिजन कार्यालयले प्रशोधित पानी र मसला उद्योगका लागि अनुज्ञापत्र नलिई उत्पादन एवं विक्री वितरण गरेको अभियोग जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको छ । दुषित खाद्य पदार्थ उत्पादन एवं विक्री वितरण गरेको र अनुज्ञापत्र नलिई उत्पादन एवं विक्री गरेको अभियोगमा दुद्य तथा दुग्ध पदार्थ, मह, दुईवटा पाउँ पसल, सानो केराउ र सिन्के चाउचाउ उद्योगलाई जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको डिभिजन प्रमुख मनिषा चापागाईले बताईन् ।