बनेपा/बनेपाको शिर मेमोरियल अस्पताल बनेपाले निरन्तर पाठेघर सम्वन्धी समस्या भएका महिलाहरुको निशुल्क उपचार गरिरहेको छ । एक वर्षको अवधीमा अस्पतालबाट १ सय ८० जना महिलाले निशुल्क सेवा पाएका छन् ।
‘बनेपामा रहेको शिर मेमोरियल अस्पतालले उपलब्ध गराएको उक्त सेवाबाट हामी अत्यन्तै खुशी छौं’– रावा बेशी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले भने–‘खोटाङ्ग जिल्लाका ६० जना महिलाहरुले उक्त सेवा प्राप्त गरिरहँदा हाम्रो गाउँपालिकाका १० जना महिलाहरुले सेवा प्राप्त गरेका छन् ।’ रावा बेशी गाउँपालिकामा रहेका केहि महिलाहरुले ३० वर्ष देखि उक्त समस्या लाजले कसैलाई नभनी उपचार नगराईरहेको प्रतिक्रिया दिएका छन् । उपचार गराएर खुशी भएकी ८८ बर्षिया जेष्ठ नागरिक महिलाले यो उमेरमा आएर रोगबाट मुक्त हुन पाएकोमा खुशी ब्यक्त गरिन् । ‘३० वर्ष अघि मेरो आङ खसेको थियो । मैले घरमा पनि भन्न सकिन । कुनै अस्पतालमा पनि उपचार गराउन गईन । उपचार गराउन जान सम्भव पनि थिएन’–उनले भनिन–‘आङ खसेको ३० वर्ष पछि उपचार पाएँ । यो अवधीमा मैले भोगेका कयन समस्या भनि साध्य छैन ।’ अस्पताल, अस्पतालमा संलग्न सबै डाक्टरहरु र अस्पतालसम्म उपचारका लागि ल्याई पु¥याउने सबैलाई उनले धन्यवाद दिएकी छिन् ।
उनी जस्तै २५ वर्ष भन्दा लामो समय देखि आङ खस्ने समस्याबाट पिडित ८५ बर्षिया महिलाले पनि गाउँपालिका, अस्पताल र सहयोगिहरुलाई धन्यवाद दिईन् । बनेपामा रहेको शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल, सामुदायिक सेवा प्रतिष्ठान र स्थानीय पालिकाहरुको समन्वयमा देशका विभिन्न स्थानमा रहेका विशेष गरी ग्रामिण भेगमा रहेका महिलाहरुमा देखिएको पाठेघर सम्वन्धी समस्याको पहिचान, परिक्षण र उपचार गराउने उदेश्यले अस्पतालले निरन्तर सेवा उपलब्ध गराईरहेको मेडिकल डाईरेक्टर डा.एन्जेला बस्नेतले बताईन् । ‘पहिला हामी स्थानीय सरकारसँग समन्वय गर्छाै । उक्त पालिका भित्र यस्तो समस्या रहेका महिलाहरुको पहिचान गर्छाै । पहिचान गरिएका महिलाहरुको उपचारका लागि अस्पतालसम्म ल्याउने, लैजाने र अस्पताल रहँदा खाने बस्ने र निशुल्क उपचारको ब्यवस्था गरिएको छ’–डा.एन्जेला बस्नेतले भनिन–‘अस्पतालले महिलाहरुको पाठेघर सम्बन्धी समस्याको हरेक बर्ष निशुल्क शल्यक्रिया गरिरहेको छ । गत आर्थिक बर्ष २०८०÷२०८१ मा १ सय ८० जना भन्दा धेरै महिलाहरुकोे पाठेघर सम्बन्धी समस्याको निःशुल्क अप्रेशन गरिएको छ । अस्पतालले उक्त सेवालाई अहिले पनि निरन्तरता दिईरहेकाले महिलाहरुमा पाठेघरसँग सम्वन्धित समस्या भए तत्काल अस्पताल आउन अनुरोध छ ।’
अस्पतालमा अहिले निशुल्क अप्रेशन भईरहेको हुँदा पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुलाई उक्त सेवा प्राप्त गर्न हौसला मिलिरहेको छ । डा.बस्नेतले निरन्तर विरामीहरुको सेवामा अस्पतालले विभिन्न खालका रोगहरुको निशुल्क उपचारमा प्रयत्न गरिरहेको बताईन् । अघिल्लो आर्थिक वर्ष खोटाङ्गका सबै पालिकामा रहेका यस्ता समस्याका महिलाहरुको उपचार शुरु गरिएको छ । महिलाहरुमा हुने आङ्ग खस्ने समस्या समयमै पहिचान गरी उपचारमा ध्यान दिन सके सहज जीवन निर्वाह हुने चिकित्सकहरुले बताएका छन् ।