
बनेपामा शुरु भएको यातायात ब्यवस्था कार्यालयबाट सवारी जाँचपास, लाईसेन्स नविकरण र नयाँ लाईसेन्स प्रदान गर्ने कार्य अझै शुरु हुन सकेको छैन ।
विकास तिमल्सिना
बनेपा
२०८१ असार १६ गते देखि बनेपा नगरपालिका वडा नम्वर ६ मा रहेको नगरपालिकाको सपिङ्ग कम्प्लेक्सका लागि निर्माण गरिएको भवनमा १० वर्षका लागि नगरपालिकाले निःशुल्क उपलब्ध गराएको भवनबाट सेवा शुरु गरेको यातायात ब्यवस्था कार्यालयले हिजो बुधबारसम्म करिब ३ हजार सेवाग्राहिलाई सेवा उपलब्ध गराएको छ ।
‘असार १६ देखि साउन १० गते दिउँसोसम्म २४ सय ५ जना सेवागा्रहिलाई सेवा उपलब्ध गराएका थियौं’– प्रशासन प्रमुख एवं सूचना अधिकारी पवन बजगाईले भने–‘शुरुका केहि दिन सेवाग्राहिको संख्या कम थियो । अहिले सेवाग्राहिको संख्या बढिरहेको छ । हिजो बुधबारसम्म करिब ३ हजार भन्दा धेरैले सेवा लिईसकेका छन् ।’ यातायात ब्यवस्था कार्यालय बनेपाबाट ब्लु बुक नविकरण, रुट परमिट नविकरण, रुट परमिट जारी, रुट परमिट पटके, पञ्जिकरण र सवारी साधन कर सम्वन्धी सेवा उपलब्ध गराईरहेको छ । सवारी प्रदूषण जाँचपास, लाईसेन्स नवीकरण र नयाँ प्रदान गर्ने कार्य शुरु हुन सकेको छैन । ‘जनशक्तिको ब्यवस्थापन र केहि प्राविधिक कारणबाट रोकिएका सेवाहरु तत्कालै संचालन गर्ने गरी कार्य भईरहेको छ’–सूचना अधिकारी पवन बजगाईले भने–‘सेवा लिन आएका नागरिकहरुलाई १५ मिनेट भित्र सेवा पाउने गरी ब्यवस्थापन गरेका छौं ।’ कार्यालयले २ करोड भन्दा धेरै राजश्व संकलन गरिसकेको छ । साउनको दोश्रो साताबाट दैनिक १५ लाख भन्दा धेरै राजश्व संकलन भईरहेको छ । सेवाग्राहिहरुको सहजताका लागि कार्यालयले राष्ट्रिय बाणिज्य बंैकको काउन्टर सोहि स्थानमा राख्ने तयारी गरेको छ । नयाँ लाईसेन्सका लागि कार्यालयले ट्रायल सेन्टर, त्यसका लागि आवश्यक पर्ने मापदण्ड अनुसार निजी क्षेत्रलाई आव्हान गर्ने तयारी गरेको छ ।