2019 April 21/ 11:48: 57pm

- बैज्ञानिक बन ब्यवस्थापन -
धुलिखेल/ब्यवस्थित बनबाट जीवीकोपार्जनमा सुधार कार्यक्रमका बारेमा सरोकारवालासँग परिचयात्मक गोष्ठी आयोजना गरिएको छ । जिल्ला बन कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा सामुदायिक बनमा शुरु गर्न लागिएको दिगो बन बैज्ञानिक ब्यवस्थापनका बारेमा जानकारी गराईएको थियो । 
डिभिजन बन कार्यालयका प्रमुख बद्रि कार्कीले जिल्लामा बन ब्यवस्थापनमा भएका प्रयास र विगतका अभ्यासहरुको सिकाईका आधारमा आगामी वर्ष गरिने कार्यका बारेमा जानकारी दिएका थिए । जिल्लामा २०७३ सालमा बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम शुरु गरिएको थियो । जिल्लाका ९ वटा सामुदायिक बनमा उक्त कार्यक्रम लागु गर्ने कार्य योजना पास भए पनि गत आर्थिक वर्षमा चार वटा सामुदायिक बनले मात्रै उक्त कार्यक्रम कार्यान्वयन गरेको प्रमुख कार्कीले जानकारी दिए । भुम्लु गाउँपालिकाको चौबासमा कार्यान्वयन भएको कार्यक्रमबाट समुदायलाई खासै उपलब्धी हुन नसकेको बताईएको थियो । त्यस्तै बेथान्चोक गाउँपाकिाको कालापानी सामुदायिक बनमा पनि बैज्ञानिक बन ब्यवस्थापनका लागि खर्च धेरै गर्नु परेको गुनासो ब्यक्त गरिएको थियो ।
बनेपाको भगवानथुम्की सामुदायिक बनको बैज्ञानिक बन ब्यवस्थापनबाट समुदायलाई ४० लाख रुपैयाँ आम्दानी भएको बताईएको थियो । जिल्लामा बन ब्यवस्थापन भएका चार वटा सामुदायिक बनहरुको खातामा २ करोड भन्दा धेरै रुपैया जम्मा भएको प्रमुख कार्कीले जानकारी दिए । ६ हजार ब्यक्तिहरुले रोजगार प्राप्त गरेको तथा ३८ हजार क्यु फिट काठ उत्पादन गरी काठकै लागि विदेशिने रकम नेपालमा रोकिएको बताईएको छ । ३७ हेक्टर बन क्षेत्रको बैज्ञानिक बन ब्यवस्थापन भई सकेको छ । सामुदायिक बनहरुमा सुशासन कायम गराउन, जम्मा भएको रकम जीवीकोपार्जन क्षेत्रमा खर्च गर्न र सदुपयोग गरी सम्वृद्धि हासिल गर्न उक्त कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने सरोकारवालाहरुले बताएका छन् । 
नयाँ कार्यक्रमका लागि पहिलो खण्डमा जिल्लाको भुम्लु गाउँपालिकामा ६ वटा, बेथान्चोक गाउँपालिकामा ५ वटा र बनेपा नगरपालिकामा ५ वटा सामुदायिक बनमा उक्त कार्यक्रम लागु हुनेछ । अघिल्लो आर्थिक वर्ष तय भएका बाँकी ५ वटा सामुदायिक बनमा पनि उक्त कार्यक्रम लागु हुनेछ । पाँच वर्ष भित्र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक क्षेत्रका बनहरुमा उक्त कार्यक्रम लागु गर्न अष्ट्रेलियन सहयोग ११ करोड प्राप्त भएको छ । उपभोक्ताहरुले उक्त रकमको सदुपयोग र लगानी गर्ने क्षेत्रको कार्ययोजना बनाउन सहयोग गर्न अनुरोध गरेका थिए । उपभोक्ताहरुमा जीवीकोपार्जन क्षेत्रमा पनि आर्कषण नभएको उनिहरुको ठम्याई छ । 
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बन क्षेत्रको संरक्षण र सदुपयोग गर्दै आर्थिक सम्वृद्धि गर्नुपर्ने बताए । सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश नम्वर ३ का अध्यक्ष विनोद सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्षहरु चन्द्र खड्का, लालबहादुर श्रेष्ठ, नीजि बन पैदावार ब्यवसायी संघका अध्यक्ष माधवमणी हुमागाई, सामुदायिक बनका उपभोक्ता एवं अध्यक्षहरु, जिल्ला बनका अधिकृतहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।