2019 February 23/ 12:52: 00pm

धुलिखेल/काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप समेत हेर्ने गरी करदाता सेवा कार्यालयबाट आन्तरिक राजश्व कार्यालय भए पछि लक्ष्य अनुसारको राजश्व संकलन भए पनि करदाताहरुले आय कर लुकाउन थालेका छन् ।
    वित्तिय क्षेत्रलाई प्रमुख करको श्रोत मानेका आन्तरिक राजश्व कार्यालय धुलिखेलमा पहिलो किस्ता आय कर बुझाउने करदाताहरु मध्ये ५ लाख रुपैयाँ भन्दा धेरै कर बुझाउनेको संख्या ९९ मात्रै छ । कारोवारको हिसाबले काभ्रेपलाञ्चोक र अन्य बाँकी तीन जिल्लामा सहकारीका नाममा भएका कारोवारका हिसाबले आयकर बुझाउने करदाताहरुको संख्या न्यून हो । बनेपा र आसपासकै क्षेत्रमा रहेका दर्जनौ सहकारीहरुले बुझाएको आयकरको दर हेर्ने हो भने पनि सहकारी कर बुझाउन भन्दा छल्न उद्यत छन् । बार्षिक प्रतिवेदनका आधारमा मात्रै पनि थुप्रै सहकारी तथा वित्तिय क्षेत्रमा काम गर्ने करदाताहरुले पहिलो किस्ताको आयकरमा बुझाएको रकम न्युन छ । आन्तरिक राजश्व कार्यालयको पौष मसान्तसम्मको तथ्याङ्कमा ४० हजार ३ सय ४२ करदाताहरु समावेश भएका छन् । जसमध्ये भ्याटमा ४ हजार ९ सय ७५ करदाता छन् भने प्यानमा ३० हजार ५ सय ८९ करदाता समावेश भएका छन् । त्यस्तै ब्यक्तिगत करदाता ३ हजार ४ सय ८५ जना छन् भने अन्त शुल्कमा १ हजार १ सय ५२ जना रहेका छन् । शिक्षामा ९४ र स्वास्थ्यमा ४५ जना करदाता रहेका छन् ।
    पौष मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने ५ लाख भन्दा माथी पहिलो किस्ताको आय कर बुझाउने करदाताहरु ९९ जना मात्रै छन् । आयकर तीन कस्तिामा बुझाउन सकिने ब्यवस्था छ । पहिलो किस्ता आय कर बुझाउनेहरु करदाताहरुमा जति उत्साह हुनुपर्ने हो त्यति हुन सकेको छैन । आर्थिक वर्ष २०७५÷०७६ देखि सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको कर हटाएको छ भने घर बहालकर स्थानीय तहमा तिर्नुपर्ने बनाएको छ । स्थानीय तहको आम्दानीको प्रमुख श्रोत मध्ये घर बहाल करलाई पनि राखेको छ । तर स्थानीय सरकारहरुले त्यसको असुली शुरु गरेका छैनन् । पहिलो किस्तामा सबैभन्दा धेरै आयकर बनेपा नगरपालिका १३ साँगामा रहेको रोयल काठमाडौ वेभरेज प्रालिले १ करोड १२ लाख बुझाएको छ । त्यस्तै स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड, बनेपा ५ ले ९१ लाख ११ हजार राजश्व बुझाएको छ । जिल्लाकै नमुना सामुदायिक अस्पताल धुलिखेलले पहिलो किस्ता बापत ८९ लाख रुपैयाँ आय कर बुझाएको छ । नेपालकै नमुना विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७६ लाख ८२ हजार रुपैयाँ पहिलो किस्ता बापतको आय कर बुझाएको छ ।
    ३० लाख भन्दा धेरै आयकर बुझाउने करदाताहरुमा मिर्मिरे लघु वित्तिय संस्था ७५ लाख ८५ हजार, सामुदायिक वित्तिय संस्था ५७ लाख, नाङशाल रोडा ढुंगा उद्योग प्रालि ५५ लाख, सामुदायिक बचत तथा ऋण सहकारी ३७ लाख ९१ हजार र एमके स्वर्ण जेभीले ३३ लाख ५० हजार बुझाएको छ । विद्या सागर एजुकेशन फाउण्डेशन प्रालि बनेपाले २१ लाख रुपैयाँ आयकर पहिलो किस्ता बापत बुझाएको छ । त्यस्तै उग्रचण्डी आयल स्टोर, बनेपा ९ लाख ६१ हजार, श्री उग्रचण्डी हार्डवेयर बनेपा ८ लाख ९४ हजार काभ्रे इलेक्ट्रोनिक्स ५ लाख र ग्लेसियर एजुकेशसन फाउण्डेशन प्राली, बनेपा ७ गोदामचोकले ५ लाख ९८ हजार रुपैया पहिलो किस्ता बापतको आयकर बुझाएका छन् । आयकर नबुझाउने वित्तिय संस्था वा धेरै कारोवार गरी मुनाफा कमाउने तर लुकाउने करदाताहरुको पहिचान गरी कारवाही गर्ने गरी आन्तरिक राजश्व कार्यालयले अभियान शुरु गर्ने भएको छ ।
    चालु वर्षको ६ महिनाको आँकडामा आन्तरिक राजश्व कार्यालय लक्ष्यमा पुगेको छ । १ अर्ब ९९ करोड बार्षिक लक्ष्य रहेकोमा साउन देखि पौष मसान्तसम्म ९४ करोड ८५ लाख ५ हजार रुपैया संकलन गर्नुपर्नेमा ९४ करोड ६५ लाख रुपैया संकलन गरेको छ । ९९.७९ प्रतिशत लक्ष्य पूरा गरेको कार्यालयले गत वर्ष करदाता सेवा कार्यालयको रुपमा काभ्रेपलाञ्चोक जिल्लाबाट मात्रै एक वर्षमा ९६ करोड रकम संकलन गरेको थियो । करदाता सेवा कार्यालयबाट आन्तरिक राजश्व कार्यालय भए लगत्तै राजश्व संकलनमा लक्ष्य दोब्बर रहेको र असुली पनि लक्ष्यकै हाराहारीमा पुगेको सूचना अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए । मंसिर र पौष महिनामा लक्ष्य भन्दा धेरै असुली भएकाले करदाता सेवा कार्यालयकै रुपमा कार्तिकसम्म काम गर्दा पनि आन्तरिक राजश्व कार्यालयको लक्ष्यमा पुग्न सफल भएको हो ।
    कर संकलन भएको मध्ये सबैभन्दा धेरै आयकर छ । ५३ करोड ५१ लाख आयकर संकलन भएकोमा पौष महिनामा मात्रै २१ करोड ९० लाख आयकर संकलन भएको छ । घर बहाल कर ९ करोड ९३ लाख संकलन भएको छ । पौष महिनामा १ करोड ७६ लाख रुपैयाँ सकलन भएको थियो । मूल्य अभिबृद्धि कर २१ करोड ७० लाख, अन्तःशुल्क ९ करोड २१ लाख र स्वास्थ्य शिक्षा २८ लाख रुपैयाँ संकलन भएको छ । पौष महिनामा मात्रै मूल्य अभिबृद्धि कर ७ करोड २६ लाख संकलन भएको थियो भने अन्तःशुल्क १ करोड ४९ लाख र स्वास्थ्य शिक्षामा ६ लाख राजश्व संकलन भएको थियो ।

१० लाख भन्दा धेरै आय कर बुझाउने करदाताहरु
रोयल काठमाडौ वेभरेज प्रालि, नासिका, बनेपा, १३ – १ करोड १२ लाख
स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड, बनेपा ५– ९१ लाख ११ हजार
धुलिखेल अस्पताल– ८९ लाख
विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड– ७६ लाख ८२ हजार
मिर्मिरे लघु वित्तिय संस्था– ७५ लाख ८५ हजार
सामुदायिक वित्तिय संस्था– ५७ लाख
नाङशाल रोडा ढुंगा उद्योग प्राली– ५५ लाख
सामुदायिक बचत तथा ऋण सहकारी– ३७ लाख ९१ हजार
एमके स्वर्ण जेभी– ३३ लाख ५० हजार
बुडोल सामुायिक साकोस, बनेपा – २८ लाख ३३ हजार
जाल्पा इन्फास्ट्रक्चर प्राली– २७ लाख ८७ हजार
सुर्य महादेव जेभी– २३ लाख
आत्रेय निर्माण सेवा प्राली– २२ लाख ५२ हजार
होटल कन्ट्रि भिल्ला नगरकोट– २२ लाख २६ हजार
विद्या सागर एजुकेशन फाउण्डेशन प्राली– २१ लाख
मन्थली बचत तथा ऋण सहकारी– २० लाख ६५ हजार
पाल्चोकी माई रोडा ढुंगा उद्योग – २० लाख ५८ हजार
दोलखा श्री एकता रोडा ढुंगा उद्योग– २० लाख
लुम्बिनी कुशेश्वर धुलिखेल जेभी– १८ लाख ७५ हजार
श्री एकिकृत फ्रेण्डशिप बचत तथा ऋण सहकारी– १८ लाख ६३ हजार
चण्डेश्वरी बचत तथा ऋण सहकारी– १७ लाख २४ हजार
हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी– १६ लाख ४१ हजार
सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी– १६ लाख
श्री देवी ट्रेड एण्ड सप्लायर्स– १५ लाख ७८ हजार
विकलाङ्ग मित्र समुह (अपाङ्ग बाल अस्पताल) – १५ लाख ५० हजार
महिला लघ्ु वित्तिय संस्था– १५ लाख १८ हजार