2019 January 19/ 08:31: 42pm

    बनेपा/लामो समय देखि जग्गा अभावका कारण कार्यालय संचालनमा कठिनाई भोग्दै आएको इलाका प्रहरी कार्यालय बनेपालाई बनेपा नगरपालिकाले आफ्नै नाममा रहेको २ रोपनी जग्गा पास गरिदिएको छ । 
    जग्गा ब्यवस्थापनसँगै इलाका प्रहरी कार्यालयको सुविधा सम्पन्न भवनको बाटो खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले बताए । इलाका प्रहरी कार्यालय बनेपालाई प्रहरी निरिक्षक तहको दरबन्दीबाट जनसंख्या तथा भौगोलिक चापका आधारमा थप गरी डिएस्पी रहने गरी ब्यवस्थापन गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट गृह मन्त्रालयमा सिफारिस गरिएको छ । नगरपालिकाको पुष ५ र पुष २० गतेको बोर्ड बैठकको निर्णय अनुसार ६ बुँदे शर्त बन्देज गरी इलाका प्रहरी कार्यालय बनेपालाई जग्गा पास गरिदिएको हो । साविक दक्षुटोल वडा नम्वर ५ हाल बनेपा नरपालिका वडा नम्वर ८ मा रहेको कित्ता नम्वर २४७, १५६ र १५५७ मध्येबाट दुई रोपनी जग्गा इलाका प्रहरी कार्यालय बनेपाको भवन निर्माण तथा संचालन गर्ने प्रयोजनका लागि उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताए । उक्त जग्गा हाल साविक गर्दा पाँचवटा कित्तामा परिणत भएको छ । १ हजार १७.५० वर्ग मिटर रहेको उक्त जग्गा दानपत्रको लिखत गरी इलाका प्रहरी कार्यालय बनेपाका नाममा हस्तान्तरण गरिएको हो । 
    उक्त जग्गामा दुई वर्ष भित्रमा भवन निर्माण कार्य प्रारम्भ नभएमा सम्झौता बमाजिम उक्त जग्गा प्रहरी कार्यालयले कसैका नाममा बेचविखन गर्न पाउने छैन । पौष २२ गते आईतबार बनेपा नगरपालिका कार्यालयमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निरञ्जन भट्टराई र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता लगत्तै जग्गा दानपत्र मार्फत मालपोत कार्यालयले इलाका प्रहरी कार्यालय बनेपाका नाममा लालपुर्जा सहित पास गरिदिएको थियो । 

फोहोर ब्यवस्थापनलाई जग्गा
    बनेपा नगरपालिकाले अस्थायी रुपमा ब्यवस्थापन गर्दै आएको आईटी पार्क अगाडीको जग्गामा स्थानीयहरुको अवरोधका कारण ब्यवस्थापन हुन नसकेको फोहोरलाई दिर्घकालिन रुपमा समाधान गर्ने उदेश्यले नगरपालिकाले विभिन्न विकल्प खोज्ने क्रममा जग्गाको ब्यवस्थापन गरेको छ । 
    १२ रोपनी जग्गा २५ वर्षलाई भाडामा लिएर काम शुरु गरिसकेको छ भने अन्य स्थानमा पनि आफै खरिद गरेर जग्गा ब्यवस्थापन गर्ने कार्य भईरहेको छ । दिर्घकालिन रुपमा फोहोरलाई मोहोर बनाउन नगरपालिकाले ठेक्का दिएको कम्पनीले मेशिन मार्फत फोहोरको प्रकृति हेरेर अलग बनाउने र त्यसलाई प्रशोधन गर्ने कार्य गर्नेछ । दुबै स्थानको जग्गा ब्यवस्थापनसँगै नगरपालिकाले दिर्घकालिन रुपमा फोहोरबाट मुक्त हुने प्रयास गरेको छ । एकिकृत खानेपानीको ब्यवस्थापन, फोहोरको ब्यवस्थापनसँगै नगरपालिकाले विकासमा गति लिने नगर प्रमुख लक्ष्मी नरसिं बादेले बताए । 

सरसफाई अभियान तिब्र
    साँगा, बनेपा चोक र विद्युत्त प्राधिकरण अगाडी अतिक्रमण गरी बनाईएका घर टहरा भत्काएसँगै नगरपालिको सरसफाई अभियानलाई तिब्र बनाएको छ । राजमार्ग र भित्री सडकहरु सरसफाई गर्ने, केहि सडकहरुमा एक तर्फि मात्रै सवारी चलाउने र पार्किङ्ग ब्यवस्थापन गर्ने तयारी गरेको छ । सबै वडाहरुमा ब्यवस्थित कार्यालय, सडक फराकिलो, करिडोर निर्माण र सार्वजनिक जग्गा ब्यवस्थापन गर्ने तयारी अनुरुप नगरपालिकाले कार्य गरिरहेको नगर उपप्रमुख रेखा सापकोटा दाहालले बताईन् ।