2024 March 28/ 02:35: 17pm

    बनेपा/बालबालिका सम्वन्धी काम गर्ने थुप्रै संघ संस्था छन् । सरकार बालमैत्री शासनको परिकल्पनामा छ । बालश्रम विरुद्ध अभियान संचालन छ । अभिभावक विहिन, अभिभावक भएर पनि सडकमै रहेका बालबालिकाहरुको दिनचर्या अस्तब्यस्त छ । 
    जब बढ्छ चिसो तब उनिहरु खोज्दै हिड्छन् न्यानो भित्तो । पाए बोरा ओढ्छन । दिउँसभरी घाम लागेकै स्थानमा हुन्छन उनिहरु । पसल पसलमा पैसा माग्ने मात्रै होईन सडकमै उभिएर बसेको ब्यक्तिको खुट्टामै ढोग्न पुग्छन उनिहरु । त्यहि पैसाले डेन्ड्राइट नामक विषाक्तको स्वाद लिन्छन् र लठ्ठ पर्छन् । त्यहि लठ्ठपनले जाडोको ख्याल नै पाउँदैनन् । बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्धका शहरी क्षेत्रमा अहिले सडक बालबालिकाहरु थपिदै गएका छन् । बालकल्याण समिति हुँदै पनि यि बालबालिकाहरुको संरक्षण हुन सकेको थिएन । अहिले स्थानीय सरकारले त्यसको जिम्मेवारी प्राप्त गरेका छन् । भर्खरै प्राप्त गरेको जिम्मेवारीलाई स्थानीय सरकारले सडकमा बालबालिका मुक्त बनाउने अभ्यासबाट शुरु गर्नु जरुरी छ । 
    पछिल्लो तथ्याङ्कले भन्छ–‘सडकमा तीन प्रकारका बालबालिका भेटिएका छन् । पहिलो जसका परिवार नै छैनन, सडकमै कष्टकर जीवन बाँच्नका लागि संघर्ष गरिरहेका छन् र सडकमै रातदिन बस्न बाध्य छन् । दोश्रो जसका परिवार छन् तर पनि सडकमा जीवनयापन गर्न संघर्ष गर्छन् र रातमा परिवारमा रहन्छन् । तेश्रो आमा बुबा अभिभावकहरु पनि सडकमै बस्छन् र बालबालिकाहरु पनि सडकम जन्मछन् र सडकमै जीवनयापन गर्छन् ।’ सडक बालबालिकाहरुले फोहोर प्लास्टिक टिप्ने र फोहोरमा फालेका खानेकुरा खाने, माग्ने, चोर्ने गर्दै आएका छन् । डेनड्राईट सुँघ्ने, अन्य लागु औषध खाने, एक आपसमै झगडा गर्ने गर्दै आएका बालबालिकाहरुलाई संरक्षण दिन नसक्दा दुब्र्यवहारको शिकार, यौन हिंसा र बलात्कार जस्ता जोखिममा पर्न थालेका छन् । सडक बालबालिकाबाटै जन्मेका बालबालिकाहरुको अवस्था झनै दयनिय छ । बनेपा नगरपालिकाको चारदोबाटो, बसपार्क, तीनदोबाटो, वकुटोल, धुलिखेल जाने बसस्टप, तरकारी बजार, गोदामचोक, उग्रेश्वर साथै पुण्यमाता पुल वरीपरीका कवाडी बेच्ने स्थानमा बालबालिकाहरु बस्ने गरेको भेटिएको छ । पनौतीमा पनौती बसपार्क, मानेश्वरी मन्दिर, पुरानो बजार, त्रिवेणी घाट एरियाका साथै पनौतीका विभिन्न स्थानमा सडक बालबालिकाहरु रहेका छन् । धुलिखेलको बसपार्क, अस्पताल चोक, पुरानो बजार लगायतका स्थानमा अनुगमन गर्दा सडक बालबालिकाहरुको अवस्था र समस्याका बारेमा जानकारी भएको थियो । 
    बनेपामा २२ जना सडक बालबालिकाहरु देखिएका छन् । सडकमा भएका मध्ये केहि बालबालिकाहरु सडकमा रातदिन विताउने र केहि बालबालिकाहरु दिनमा सडकमा र रातमा परिवारसँग बस्ने गरेका छन् । पनौतीमा ११ जना सडक बालबालिकाहरु देखा परेकोमा ३ जना सडकमै र ८ जना दिनमा सडकमा र राति सामुहिक रुपमा परिवारमा बस्ने गरेका छन् । धुलिखेल नगरपालिकामा ६ जना बालबालिका रहेकोमा सबै जना दिनमा मात्रै सडकमा बस्ने र रातमा परिवारसँगै बस्ने गरेका छन् । ६ वर्ष देखि १८ वर्षसम्मका बालबालिकाहरु सडकमा बस्ने गरेका छन् । जिल्लाबाट गरिएको अनुगमनमा पनौती नगरपालिकामा फेला परेका १३ वर्षकी झरना थापा नाम बताउने बालिका र उनका १० बर्षिय भाई मनिष थापा, बनेपामा घर बताउने १० बर्षिय जनक घिसिङ्ग पनौती वसपार्क वरपर बस्दै आएका छन् । मनिष र झरनाले बुबाले आमालाई कुटपिट गरेकाले आमा उनिहरुलाई छाडेर दोलखा माईती गएका बुबा ज्यामी काम गर्न उनिहरुलाई छाडेर सिन्धुपाल्चोक गएकाले सडकमा बसेर गुजारा गरेको बताए । 
    सडकमा बालबालिकाहरु आईपुग्नुको प्रमुख कारण अभिभावक भएको अनुगमन सहितको तथ्याङ्कले देखाएको छ । आफ्नै अभिभावक नहुँदा छिमेकी वा आफन्तले समेत बालबालिकाहरुलाई संरक्षण नगरिदिँदा सडकमा बालबालिकाहरुको संख्या घट्दै होईन बढ्दै गईरहेको छ । स्थानीय सरकारको काँधमा भविश्यका कर्णदार बालबालिकाहरुको जिम्मेवारी थपिएको छ । तत्काल समिति गठन गरी सडक बालबालिकाहरुको समस्या, बालश्रम अन्त्य गरी बालमैत्री स्थानीय शासन तर्फ उन्मुख हुनुपर्छ । सडक बालबालिकाहरुलाई पारिवारीक आर्थिक अवस्था कमजोर, बुबा आमाकोे बहुविवाह भई बालबालिकालाई हेरचाह माया ममता, उचित स्याहार, खाना, शिक्षा संरक्षणबाट बञ्चित, असुरक्षित यौन ब्यवहार, गाँस, बास, कपासको समस्या छ । सडक बालबालिकाहरु जिउनकै लागि चोरी, लुटपाट र पाकेटमार जस्ता घटनामा संलग्न हुन थालेका छन् ।