2021 October 19/ 04:39: 39pm

    बनेपा/नेकपा एमालेका युवा नेता एवं पुर्व मन्त्री गोकुल बास्कोटाले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काभ्रेमा आफुसँग निर्वाचनमा प्रतिस्पर्धा गरी विजयी हुन चुनौती दिनु भएको छ । ‘२०६४ साल गै सके अध्यक्ष प्रचण्ड, सक्नुहुन्छ भने संघीय निर्वाचनमा क्षेत्र नम्वर २ मा म सँग प्रतिस्पर्धा गर्नुस’–पुर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘आरोप लगाउँदैमा हुँदैन तपाई र म दुबैको निश्पक्ष छानविन गर्न तयार हुनुस् ।’ 
    शिक्षक संगठन काभ्रेले आयोजना गरेको बृहत्त जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्व मन्त्री बास्कोटाले माओवादी पार्टीले आत्महत्या गरिसकेको बताउनु भयो । ‘भौतिक रुपमा हिटलरले आत्महत्या गरे जस्तो अध्यक्ष प्रचण्ड तपाई नगर्नुस तर तपाईको पार्टीले आत्महत्या गरिसकेको छ’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘काँग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोज्दैमा समाजबाद आउन सक्दैन ।’ ‘श्रीमान् प्रचण्ड काभ्रेमा चुनाव लड्न आउनुस्, तथ्यमा बहस गर्नुस्, बैंक लुट्नेहरु, विद्यालय, स्वास्थ्यचौकी, पुल पड्काउनेहरुले लगाएको आरोपका सन्र्दभमा फेस टु फेस बहस गर्न तयार छु’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘तथ्य र आधारहीन आरोप लगाउँदै नहिड्नुस् ।’ केहि दिन एकीकृत माओवादीले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले गोकुल बास्कोटाको नाम नलिई बास्कोटाका बारेमा आलोचना गरेका थिए । 
    पूर्व मन्त्री बास्कोटाले नेकपा एमाले राष्ट्रियताका सवालमा प्रष्ट भएकाले गठबन्धनमा रहेका दलहरुलाई एमसिसी पास गरेर देखाउन चुनौती दिनुभयो । ‘प्रचण्ड, शेरबहादुर देउवा र तिनै ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता गरेका हैनन्’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘जय सिं धामी मर्दा चुँ सम्म गर्न नसक्ने गठबन्धनले राष्ट्रियताको कुरा गर्ने ? कम्फरटेबल सरकार लम्पसरबादी भईसकेको छ ।’ कार्यक्रममा मन्त्री बास्कोटाले नेपालमा विकास सहितको रुपान्तरण केपी ओली नेतृत्वको सरकारले शुरु गरेको बताउँदै काभ्रेपलाञ्चोक जिल्लामा विद्यालय, स्वास्थ्य संस्था, सडक, खानेपानी, संचार तथा अन्य पूर्वाधारको काममा फड्को मारिसकेको बताउँदै तीनवटा विश्वविद्यालय निर्माणको प्रकृया आरम्भ हुनु जिल्लाको समृद्धिको महत्वपूर्ण कार्य भएको बताउनु भयो । सरकारी विद्यालयको र शिक्षकहरुको गुणस्तर बृद्धी गर्न असहज भएका विषयमा पत्ता लगाई तत्काल समाधान गर्नुपर्ने बताउँदै सबै प्रकारका शिक्षकहरुको समान हैसियतका लागि शिक्षा ऐन तत्काल जारी गर्न पहल गर्ने बताउनु भयो । 
    कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण कार्कीले शिक्षकहरुका तमाम समस्या ऐन जारी हुन नसक्दा रोकिएको बताउनु भयो । सरकारले शिक्षा ऐनलाई ढिलाई गरेकाले शिक्षकहरुको बृत्ति विकास तथा अन्य समस्या कायम रहेको उहाँले बताउनु भयो । अध्यक्ष श्यामप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाभरका शिक्षकहरुको सहभागिता रहेको थियो । सोहि कार्यक्रममा संगठनका पुर्व केन्द्रिय अध्यक्ष माधव अधिकारी, बागमती प्रदेश सदस्यहरु सुभद्रा अधिकारी, गोविन्द रेग्मी, शिक्षक महासंघ काभ्रेका उपाध्यक्ष साधुराम दाहाल, शिक्षक हित सहकारीका अध्यक्ष ओम थपलिया, बनेपा नगर समितिका अध्यक्ष जीवन भण्डारी, महाभारत गाउँ समिति अध्यक्ष हिराबहादुर राना, प्रधानाध्यापकहरु शिवकुमार पौड्याल, लक्ष्मी अधिकारी, रामचन्द्र थापा लगायतका शिक्षकहरुले ऐन नहुँदा शिक्षकहरुमाथी विभेद भएको, स्थानीय सरकारले शिक्षा सम्वन्धी कार्याविधि बनाएर अन्याय गरिरहेको बताएका थिए । सोहि कार्यक्रममा संगठनले शिक्षकहरुलाई आजिवन सदस्यता वितरण गरेको थियो ।