2021 October 19/ 06:57: 53pm

– वडा नम्वर १० मा शुन्य, सबैभन्दा धेरै वडा नम्वर ३ मा ५४ घर परिवार
    धुलिखेल/धुलिखेल नगरपालिका भित्र २ सय ४१ घर परिवार गरिबीको रेखामुनी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जनप्रतिनिधि निर्वाचित हुनुअघि उक्त संख्या झण्डै एक हजारको हाराहारीमा थियो । धुलिखेल वडा नम्वर १० मा एकजना पनि गरिबीको रेखामुनी छैनन् भने सबैभन्दा धेरै वडा नम्वर ३ मा ५४ घर परिवार गरिवीको रेखामुनि छन् । धुलिखेल ३ पछि धुलिखेल ८ दोश्रो धेरै गरिबीको रेखामुनि भएको वडा हो । जसमा ५२ घर परिवार गरिबीको रेखामुनि छन् । 
    धुलिखेल नगरपालिकाको १२ वटै वडाका २ सय ४१ जना अथार्त कुल घर परिवारको ४.३६ प्रतिशत गरिबीको रेखामुनी रहेका छन् । ५ हजार २ सय ८२ घर परिवार अर्थात ९५.६४ प्रतिशत घर परिवार सम्पन्न भएका छन् । आफ्नै श्रोत र साधनबाट परिवार धान्न सक्ने परिवारको संख्या ५ हजार २ सय ८२ पुगेको हो । नगर प्रमुख अशोक ब्याञ्जुले निर्वाचित भए लगत्तै गरिबी निवारणका लागि मेयर गरिबी निवारण कोष खडा गरी नागरिकहरुलाई आत्मनिर्भर हुने खालका सिप तथा ब्यवसायीक प्रर्बद्धनका लागि सहुलियत रकमको ब्यवस्थापन गरेको बताउनु भयो । ‘झण्डै ३ हजार नागरिकहरुले चार वर्षको अवधीमा विभिन्न खालका तालिम प्राप्त गरेका छन्’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘निरन्तरको सिप सिकाई, प्रविधि हस्तान्तरणका कारण नागरिकहरु आत्मनिर्भर तर्फ उन्मुख भएका छन् । जसका कारण गरिबी न्युनिकरणमा सहयोग पुग्यो ।’
    धुलिखेल नगरपालिका वडा नम्वर १ मा १२ घर परिवार गरिबीको रेखामुनी छन् । उक्त वडामा ४ सय १८ घर परिवार छन् । वडा नम्वर २ मा ११ घर परिवार, वडा नम्वर ३ मा ५४ घर परिवार, वडा नम्वर ४ मा १३ घर परिवार, वडा नम्वर ५ मा ९, वडा नम्वर ६ मा १६, वडा नम्वर ७ मा १९, वडा नम्वर ८ मा ५२, वडा नम्वर ९ मा ३८ घर परिवार गरिबीको रेखामुनी छन् । वडा नम्वर १० मा एउटा परिवार पनि गरिबीको रेखामुनी छैन । उक्त वडा जिल्लाको दोश्रो, प्रदेशको चौथो र नगरको पहिलो बालमैत्री वडा घोषणा भएको थियो । हरेक हिसाबले सम्पन्न हुँदै आएको धुलिखेल १० मा शतप्रतिशत नागरिक गरिबीको रेखा भन्दा माथि छन् । त्यस्तै धुलिखेल ११ मा १० घर परिवार र वडा नम्वर १२ मा ७ घर परिवार गरिबीको रेखामुनी छन् । 
    धुलिखेल नगरपालिकाले केहि वर्ष भित्रै गरिबी मुक्त नगरपालिका घोषणाको तयारी गरेको छ । गरिबीको रेखामुनी भएको घर परिवारलाई आय आर्जन गर्न सक्ने खालका सिप र आयआर्जन गर्ने प्रविधि तथा श्रोतको ब्यवस्थापन गर्ने तयारी गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले नगरपालिका भित्रका सबै नागरिकहरुलाई गरिबीको रेखाबाट हटाउन विभिन्न कार्यक्रम भईरहेको बताउनु भयो । नगरपालिकाले अर्काे महत्वपूर्ण कार्य भनेको गरिबीको रेखामुनी रहेका घर परिवारको घरमा जस्ताको छाना राख्न शुरु गरेको छ । फुसको छानो उल्मुलन गरी जस्ताको छानो राख्ने अभियान अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले जानकारी दिनुभयो ।