2021 June 13/ 02:52: 37am

    बनेपा/सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको टोलीले अत्यावश्यक बाहेक अन्य पसल खोलेर बस्ने ब्यवसायीहरुलाई तत्काल बन्द गर्न र अटेर गरे संक्रमक रोग ऐन अन्र्तगत कारवाही गर्ने चेतावनी दिएको छ । 
    अत्यावश्यक सेवा खोल्ने अवधीमा बनेपामा सबै खालका पसल खोल्दा भिडभाड बढ्न गई संक्रमण फैलन सक्ने भएकाले त्यसको रोकथामका लागि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । अनुगमनका क्रममा बजार मुल्य बृद्धि भएका सम्बन्धमा नागरिकहरुको गुनासोलाई समेत टोलीले अनुगमन गरेको थियो । तत्काल मुल्य बृद्धि भएको गेडागुडी, दाल, चामल, तेल, चिनी लगायतका बस्तुहरुमा भएको कृत्रिम मुल्य बृद्धिका सम्बन्धमा अनुगमन टोलीले दर रेट संकलन गरेको छ । ‘एउटै स्थानबाट आउने सामाग्रीहरुको मुल्य पनि पसल नै पिच्छे फरक फरक पाईयो’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘हामी त्यसको अध्ययन पछि कारवाहीको प्रकृया शुरु गर्छाैं । मुल्यबृद्धि हुनुको कारण के हो ? कसरी बढ्यो ? त्यसको बारेमा थप अध्ययन पछि कारवाही हुन्छ ।’ चामलमा होलसेल मुल्यमा २५ केजी बराबर १ सय ८० रुपैयासम्म मुल्य बृद्धि भएको उपभोक्ताहरुको गुनासो छ । 
    अनुगमनका क्रममा ब्यवसायीहरुले कसैले मुल्यबृद्धि नभएको, कसैले एकसय रुपैयाँसम्म बृद्धि भएको र कसैकसैले ५० रुपैयाँसम्म बढेको बताएका थिए । ढुवानी महङ्गो भएको, उद्योगले पनि मुल्य बृद्धि गरेको, धान तथा अन्य कच्चा पदार्थको मुल्य बृद्धिका कारण समस्या भएको ब्यवसायीहरुले बताएका छन् । मुल्य बृद्धि नरोके संक्रमण रोग ऐन अन्र्तगत कालोबजारी गरेको अभियोगमा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ । भैरहवाबाट बनेपासम्म आउने १२ चक्के १० टन बोक्ने गाडीको भाडा २५ हजार भन्दा धेरै नभएको चालकहरुले बताएका छन् । गाडी भाडा बढेको देखाएर मुल्य बृद्धि गर्न नहुने चालकहरुले बताएका छन् । अनुगमन टोलीमा डिएस्पी हरि खतिवडा, सशस्त्र प्रहरी बलको टोली, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख डिएस्पी अरुण कार्की, जिल्ला प्रशासन कार्यालयका अधिकृत रामप्रसाद भट्टराई, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईराला, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेश थापा, बनेपा नगरपालिकाका अधिकृत धु्रर्व नेपाल, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदार लगायतको सहभागिता रहेको थियो । 
    काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षे र महासचिव रविन्द्र बैदारले विज्ञप्ती जारी गर्दै संकटको बेला अत्यावश्यक सामाग्रीको मुल्य बृद्धि नगर्न ब्यवसायीहरुलाई अनुरोध गरेका छन् ।