2021 June 13/ 01:35: 19am

    पनौती/बैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै रोजगारमा भौतारिएका एक युवा पशुपालनमा केन्द्रित भएका छन् । दुई वर्षको बीचमा २२ वटा भैंसी पालिरहेका उनको फार्ममा भएको आगलागीबाट १० भंैसी र पाडापाडी जलेर नष्ट भयो । तर पनि उनले हार खाएनन् पुनः १२ वटा भैंसी खरिद गरे अनि ब्यवसायीक पशुपालन शुरुवात गरे । 
    सरकारले घोषणा गरेको सहुलियत ऋणको उपयोग गर्दै उनले प्राईम बैंकबाट २५ लाख रुपैयाँ ४ प्रतिशत ब्याजमा ऋण प्राप्त गरे । आफ्नै साँढे २ रोपनी जमिनमा विन्धबासिनी पशु फार्मको स्थापना गरी पशुपालन शुरुवात गरे । ‘४ वर्ष दुबई नेपालमै केहि गरौं भन्ने उद्देश्यले फर्किए, शुरुमा किराना पसल राखें । किरानासँगै तरकारी पसल राखें । दैनिक ४ बजे उठेर बनेपा आउँदा जाँदा टिपर चढ्नु पर्ने भएकाले त्यहि टिपरकै चालकसँगको सहकार्यमा टिपर खरिद गरें । एकपछि अर्काे टिपर किन्दा किन्दै तीनवटा भए तर पनि सन्तुष्ट भएन’–पनौती ८ मल्पि घर भएका सन्तोष राउतले भन्नुभयो–‘घरमा कसैलाई नभनी शुरुमा एउटा भैंसी किनें । त्यसपछि थप्दा थप्दै तीनवटा, चारवटा गराउँदै १० वटा पु¥याएँ । घरको पछाडी अस्थायी टहरा बनाएँ र यसलाई ब्यवसायीक रुप दिएँ ।’ 
    ‘नालामा एकजना कृषकले पशुपालन गरेको हेर्न साथीसँग पुगेको थिए त्यहाँको अनुभवले मलाई फार्म खोलेरै पशुपालन गर्न उत्साह भरियो’–राउतले भन्नुभयो–‘दुई वर्ष अघि आफ्नै जमिनमा टहरा खोलेर ब्यवसायीक भैसी पालन शुरु गरें ।’ शुरुमा भैसीको ९० हजार रुपैयाँ पर्दथ्यो । अहिले १ लाख ५० हजार पुगिसकेको राउतले बताउनु भयो । दैनिक ९० लिटर दुग्ध विक्री गर्दै आएका राउतलाई लकडाउनले छोएन । जिल्ला प्रशासन कार्यालय काभ्रेको निषेधाज्ञा र स्थानीय सरकार पनौतीका शिलका कारण केहि दिन दुध बन्द भयो तर राउतले खुवा घोटेर फेसबुकमा राखे लगत्तै खुवा लिन आउनेहरुको संख्या धेरै भयो । आफ्नै डेरीमा दुग्ध विक्री गर्दै आएका राउतले दैनिक ४ हजार रुपैयाँ बचत गर्न सफल भएको बताउनु भयो । 
    ‘तराईबाट पराल ल्याएर दाना, ढुटो र ज्याला सहित दैनिक ७ हजार भन्दा धेरै खर्च हुन्छ’–राउतले भन्नुभयो–‘लकडाउनका कारण ३ सय ५० रुपैयाँ बोरा पर्ने पराल ६ सय रुपैया पर्न थालेको छ । सबै चिजको भाउ बढेकाले कृषकहरुलाई पशुपालनमा कम फाईदा हुन थालेको छ । सधै यस्तो अवस्था आउँदैन ।’ २०७७ मसिंर १५ गते मध्यराति १२ बजे विजुली सर्ट हुँदा टहरामा आगलागी भयो । भैंसी र पाडापाडी सबै जलेर नष्ट भए पछि राउतको होसहवास नै उड्यो । स्थानीय सरकारका प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, पशुपक्षिं तथा कृषि शाखाका प्रमुख मणि सापकोटा लगायतको टोलीले विषम परिस्थितिमा अभिभावकत्व प्रदान ग¥यो । जलेका भैंसीहरु खाडल खनेर गाड्न, प्रति भैसी १० हजारका दरले राहत उपलब्ध गराउन र अन्य प्राविधिक सहयोगमा नगरपालिकाले सहयोग पु-याएको राउतले बताउनु भयो । ‘नगरपालिकाको सिफारिसकै आधारमा विमा समितिले प्रति भैसी ९० हजारका दरले ९ लाख रुपैयाँ क्षतिपूर्ति समेत उपलब्ध गरायो’–राउतले भन्नुभयो–‘टहराको समेत केहि रकम प्राप्त भए पछि पुनः ब्यवसाय संचालन गर्न सहज भयो ।’ 
    ‘शुरुमा मलाई भैंसीको गोबरमा जानु फोहोरमा खेल्नु अनुदानका लागि हो भनेर आक्षेप लाग्यो’–राउतले भन्नुभयो–‘अनुदान लिन यसले फार्म दर्ता गरेर ब्यवसायीक फार्मको नाटक ग¥यो । अझ फार्ममा आगलागी भएर भैसी जलेपछि त केहि ब्यक्तिहरुले सामाजिक सञ्जालमा वीमाका लागि भनेर कमेन्ट गरे । पैसाका लागि आफ्नै सन्तान जलाएर क्षतिपूर्ति लिन्छन् होला र ?’ तर पनि हार नमानी राउतले पुनः नगरपालिकाले दिएको साहस र उत्साहबाट भैसी फार्म शुरु गरेको बताउनु भयो । भंैसी फार्मलाई विस्तार गरी २५ वटा पु¥याउने, हरियो घाँसका लागि नगरपालिकासँगको समन्वयमा घाँस खेति गर्ने त्यसका लागि जग्गाको ब्यवस्थापन र आवश्यक प्रकृया शुरु गरिसकेको उहाँले बताउनु भयो । ‘फोहोरमा मोहोर फल्छ भन्ने विश्वास छ, यो आत्मविश्वास भरिदिने नगर पिता भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा र प्राविधिक सल्लाह दिने मणि सापकोटा भगवान जस्तै ठानेको छु’–उहाँले भन्नुभयो–‘त्यसको अलावा बेदप्रसाद बञ्जारा, विष्णु हुमागाई लगायतप्रति विशेष आभारी छु । केहि गरौ भन्ने सोच भएका हामी जस्ता युवाहरुलाई यो प्रेरणा फलदायी छ ।’ 
    ‘बुबाले जेटिए अध्ययन गरे पनि ब्यवसायी फार्म थिएन । सामुदायिक साकोसबाट ९० हजार ऋण लिएर केहि काम गरें तर तिर्न सकिनँ । जग्गा राखेर निकालेको ऋण तिर्न नसके पछि जग्गा लिलामी हुने डरले दुबई पुगें । चार वर्षको बसाई पछि ऋण तिरेर घर खर्च समेत पु¥याए पछि फर्किएको थिएँ’–उहाँले भन्नुभयो–‘अहिले मेरो छोरा, श्रीमती, म र एक जना काम गर्ने भाई छौं । चारजनाले १ घण्टामा विहानको धन्दा सबै सकिन्छ । भकारो सोहोर्न पनि सहज छ । दुग्ध दुहुन पनि सहज छ । सबै जनाले एकै पटक गर्दा धेरै समय पनि लाग्दैन ।’ दुई वर्ष देखि भैसीको फार्म छाडेर कतै घुम्न र आफन्तकोमा समेत नगएको उहाँले बताउनु भयो । मैले भैसी छाडेर हिडें भने के भयो ? कसो भयो ? भन्ने जस्तो लाग्छ । भैसी प्रतिको अगाध प्रेमले ब्यवसायीक बनाउँदै लगेको राउतले बताउनु भयो । गोठ पट्टि आँखा नै नहेर्ने राउतको छोराको दैनिकी पनि अहिले फार्ममै वित्छ । कक्षा १२ को अध्ययन सकेर बसेका राउतका छोराको योजना पनि ब्यवसायीक फार्मलाई विस्तार गर्नु नै छ । युवाहरुले श्रम गर्ने हो भने नेपालमै वातावरण, अवसर र पैसा सबैथोक रहेको राउतको बुझाई छ ।