2021 June 13/ 02:06: 21am

मोतीराम तिमल्सिना
काभ्रे

    सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा निर्माण हुन लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि १ अर्ब ५५ करोड रकम विनियोजन गरेको छ । विस्तृत अध्ययन गर्न तथा पूर्वाधार निर्माणको कार्य शुरुवात गर्न आगामी वर्षमा उक्त बजेट विनियोजन गरिएको हो । 
    ‘काभ्रेपलाञ्चोक जिल्लालाई शैक्षिक हबका रुपमा विकास गर्न मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकतामा राखिएको हो’–पूर्व मन्त्री एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का पूर्व सांसद गोकुल बास्कोटाले भन्नुभयो–‘विश्वविद्यालयमा विज्ञान प्रविधिका सबै विषयको अध्ययन गर्ने गरी जग्गा ब्यवस्थापन गरी पूर्वाधार निर्माणको विस्तृत अध्ययन शुरु गर्न बजेट विनियोजन गरिएको हो ।’ पाँचखाल र नमोबुद्ध नगरपालिका केही वडामा निर्माण हुने विश्वविद्यालयका लागि ११ हजार ६१ रोपनी जग्गा विश्वविद्यालयको पूर्वाधार विकास समितिको नाममा नामसारी भइसकेको छ । पाँचखालमा केन्द्रीय संरचना रहने विश्वविद्यालयको मकवानपुरको चित्लाङमा इन्जिनियरिङ संकायको पूर्वाधार निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ । 
    बजेट वक्तव्यमा पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) को पूर्वाधार निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख छ । विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकासको लागि ५२ करोड रुपैयाँ विनियोजन भएको छ । पाँचखालस्थित सेजको जग्गामा प्रशासनिक भवन निर्माण मात्र सुरु भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले २०६८ सालमै सरकारी जमिन (वन क्षेत्र) प्राप्त गरेको भए पनि काम सुरु हुन सकेको थिएन । सेजका लागि ५० हेक्टर (एक हजार रोपनी) वन क्षेत्र खरिद गरिएको थियो । पाँचखालको देवीस्थान पाँडुल्ला सुवर्णेश्वरी सामुदायिक वनको ६ सय रोपनी र शिखरपुरको ४ सय गरी १ हजार रोपनी जग्गा वन मन्त्रालयले २० करोड रुपैयाँमा उद्योग मन्त्रालयलाई प्रदान गरेको थियो । निर्यातमूलक उद्योग प्रर्वद्र्धनका लागि पाँचखालमा सेज स्थापना गरिएको हो । सेजमा ५२ वटा निर्यातमूलक उद्योग स्थापना हुनेछन् । पाँचखालमा काष्ठजन्य उद्योगको सम्भाव्यता भएको समितिको गुरु योजनामा उल्लेख छ ।
    पाँचखाल नगरपालिका वडा नम्वर ७, १० र १२, नमोबुद्ध नगरपालिका वडा नम्वर २ र ३ नम्वर वडामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि निजी तथा सरकारी ११ हजार ६१ रोपनी जमिन ब्यवस्थापन गरिएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिका नाममा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गा हस्तान्तरण गरिसकेको छ । ब्यक्तिका नाममा रहेको ७ सय १४ रोपनी जमिन अधिग्रहणको तयारी भएको छ । साविक बालुवा गाविस वडा नम्वर ६ र ८, होक्से गाविस वडा नम्वर २, मेथिन्कोट गाविस वडा नम्वर ७, फुलबारी गाविस वडा नम्वर ५ र ६ नम्वर वडाका जग्गाहरु विश्वविद्यालयका नाममा दर्ता गरिएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति (गठन) आदेश २०७५ नेपाल राजपत्रमा २०७६ असार ९ गते प्रकाशति भए पछि नेपाल सरकारले २०७६ मसिंर २३ गते विकास समितिका नाममा जग्गा भोगाधिकार दिने निर्णय गरेको थियो । 
    ‘सरकारले विश्वविद्यालयका लागि उपयुक्त स्थान र जग्गा खोज्ने क्रममा काभ्रेको पाँचखाल र नमोबुद्ध नगरपालिकामा रहेको ११ हजार ६१ रोपनी उपयुक्त देखिएको हो’– सरकारका तत्कालिन प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भन्नुभयो–‘काभ्रेमा केन्द्रिय कार्यालय रहने विश्वविद्यालयको मकवानपुरको चित्लाङ्गमा एउटा विभाग रहनेछ ।’ बास्कोटाकै पहलमा काभ्रेमा उक्त विश्वविद्यालय निर्माण हुने भएको हो । अन्र्तराष्ट्रिय स्तरको उक्त विश्वविद्यालयका लागि आवश्यक पर्ने जग्गा समितिका नाममा हक हस्तान्तरण भईसकेको छ । ब्यक्तिका नाममा रहेको ७ सय १४ थान अधिग्रहणको प्रकृया शुरु भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने समितिले अधिग्रहणको निर्णय गर्नेछ । मालपोत कार्यालय काभ्रेले सबै जग्गाको पुर्जा तयार गरिसकेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय नेपाल भ्रमणका क्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि सम्झौता भएको थियो । नेपाल सरकारले नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएको उक्त विश्वविद्यालयको पूर्वाधार विकासका लागि चिनियाँ पक्षले प्रारम्भिक रुपमा छलफल र अध्ययन गरी सहमती भएको थियो । 
    विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीले चिनियाँ पक्षले अध्ययन गरिरहेको र सहयोगको सम्झौता भएकाले प्रकृया अगाडी बढेको जानकारी दिनु भयो । डा.जोशी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन हुन । पूर्वाधार विकास समितिले विश्वविद्यालयको भौतिक, संस्थागत तथा कानुनी संरचना तयार गर्ने जिम्मेवारी पाएको छ । गठन आदेशमा भनिएको छ–‘विश्वविद्यालय स्थापना गर्न आवश्यक सम्भाब्यता अध्ययन गर्ने वा गराउने र विश्वविद्यालय स्थापना सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, विश्वविद्यालय संचालनका लागि कार्यालय, प्रयोगशाला, छात्राबास, शिक्षक तथा कर्मचारी निवास, पुस्तकालय भवन, अतिथी सदन, कार्यशाला, खुल्ला क्षेत्र, क्रिडास्थल र फोहार मैला ब्यवस्थापन स्थल जस्ता भौतिक संरचनाका लागि दफा १६ को अधिनमा रही आवश्यक जग्गा खरिद गर्ने वा जग्गा प्राप्त गर्न नेपाल सरकारसँग समन्वय गर्ने छ ।’ सोहि दफामा टेकेर समितिले आवश्यक जग्गा अधिग्रहण तथा ब्यवस्थापनको कार्य सम्पन्न गरेको हो । जग्गाको माटो परिक्षणको कार्य समेत सम्पन्न गरिसकेको छ । 
    समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले भन्नुभयो –‘हामीले विश्वस्तरको अनुसन्धानमूलक विश्वविद्यालय बनाउन खोजेका छौँ । यसका लागि विभिन्न चरणमा गरी कूल ४३ अर्ब लागत लाग्ने अनुमान छ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्र्माण गर्न चीनले सहयोग गर्ने प्रतिबद्धता हुनु उल्लेखनीय हो ।’ विश्वविद्यालयमा चार हजारसम्म विद्यार्थी रहने छन । समितिले ललितपुरको सैँबुमा सम्पर्क कार्यालय स्थापना गरी काम गरिरहेको छ । मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान जनशक्ति, वैज्ञानिक तथा विचारकहरुको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले उक्त विश्वविद्यालय खुल्न लागेको हो । यसका अतिरिक्त मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पनि खोल्ने सरकारको नीति छ । सरकारले विश्वविद्यालय स्थापना सम्बन्धी विधेयकलाई सघीय संसद्को अधिवेशनमा पेश गरिसकेको छ । विधेयकका बारेमा सहमति जुटिसकेको छ । विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यस्थापन, कानून र न्याय लगायतका विषय र क्षेत्रमा केन्द्रित हुनेछ । विधेयकमा अन्य विश्वविद्यालयको भन्दा पृथक रुपमा सञ्चालनका लागि संरक्षक समिति गठनको प्रबन्ध गरिएको छ । त्यसको मातहतमा कार्यकारी परिषद् हुनेछ । कार्यकारी प्रमुखको हैसियतमा विश्वविद्यालयमा एक अध्यक्ष हुनेछन । यो विश्वविद्यालयमा कुलपति र उपकुलपति हुँदैनन । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको राजकीय भ्रमण २०७६ असोज २५ र २६ गते भएको थियो ।
    तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा ‘जनताको बहुदलीय जनवाद’ को विचारको प्रतिपादन गरेपछि ‘जननेता’का रुपमा स्थापित हुनुभएको थियो । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । जननेता भण्डारीको सम्मानमा सरकारले सो विश्वविद्यालय स्थापनाको पहल लिएको हो । नेपालमा कम्युनिस्ट पार्टीको सरकार रहेको समयमा चीन सरकारले जननेता भण्डारीको नाममा खुल्ने विश्वविद्यिलायलाई सहयोग गर्ने तयारी गरेको हो । २०७५ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको पूर्वाधार तयारी विकास समिति (गठन) आदेश २०७५ स्वीकृत गरेकाले सोहि समितिले कार्य गरिरहेको थियो । 
    काठमाडौ विश्वविद्यालयको सफलतासँगै काभ्रेपलाञ्चोक जिल्लामा विश्वविद्यालय स्थापना गर्ने क्रम शुरु भएको छ । सिद्धार्थ विश्वविद्यालय नालामा स्थापना गर्ने अभ्यास भईरहे पनि सफल भएको छैन । तर पनि निरन्तर कार्य भईरहेको छ । नेपाल सरकारले केहि महिना अघि मात्रै काभ्रेको बनेपा नगरपालिका साँगामा प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने निर्णय अनुसार विद्यालय निर्माण कार्य शुरु भएको छ । त्यस्तै पाँचखाल र नमोबुद्ध नगरपालिकामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको शुरुवात भएको छ । काभ्रेको पनौती स्थित रयालेमा प्रोऔधोधिक विश्वविद्यालय निर्माणको तयारी गरिएको छ ।