2018 November 19/ 09:22: 51am

    सुर्यविनायक/अरनिको राजमार्ग अन्तर्गतका सूर्य्विनायक–धुलिखेल सडक विस्तार कार्य अगाडी बढेको छ । सडकका लागि जापान सरकारले  ऋण उपलब्ध गराउने निर्णय गरेको छ । 
    उक्त सडकका  लागि जापान सकारले २३ अर्ब रुपैया ऋण उपलब्ध गराउने निर्णय भएको सडक विभागका वैदेशिक सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले बताए । सुर्यविनायक–धुलिखेलसम्मको १५ किलोमिटर सडकखण्ड निर्माण गर्न आगामी फागुनमा जापान सरकारसँग यो रकमको ऋण सम्झौता हुनेछ ।  बढ्दो सवारी दुर्घटना र ट्राफिकजाम न्यूनीकरण गर्ने उद्देश्यले सूर्र्य्विनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न खोजिएको हो । सडक विस्तारबारे जापानिज कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भईसकेको छ । दुई लेनको सडकलाई आठ लेनको बनाउन ऋण सहयोग लिन लागिएको हो । उक्त सडक खण्डको पालाँसे–साँगा भन्ज्याङमा दुई मुखे सुरुङमार्ग निर्माण गरिनेछ । सूर्यवनायकबाट एक दशमलव २९ किमि दूरीको सुरुङमार्ग काठमाडौंबाट बाहिरिने र सोही स्थानमा १ दशमलव २३ किमिको सुरुङ भने प्रवेशका लागि बनाइने छ । काठमाडौंबाट बाहिरिने भन्दा भित्रिने दूरी ६ मिटर छोटो हुने प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ । भक्तपुरको पलाँसेबाट धुलिखेल जाने सडकमा पर्ने घुम्तिले सडक दुर्घटना निम्त्याउने भएकाले सुरुङमार्गसहितको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको महाशाखाले बताएको छ । 
    जापान सरकारको सहयोगमै निर्माण गरिएको उक्त सडक जोड्ने कोटेश्वर–सूर्य्विनायक सडकखण्ड ६ लेनको छ ।  सडक विस्तारका लागि जापानले ०.२ प्रतिशत ब्याजमा ऋण दिने प्रतिबद्धता ब्यक्त गरेको छ । जापानसँग ऋण सम्झौता टुंगो लागेपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रिया अघि बढाइने छ । सडक विस्तारका लागि आवश्यक जग्गा अधिकरण तथा घर टहराको मुआब्जा वितरणमा जापानको सहयोग रकम खर्च हुने छैन। त्यसका लागि नेपाल सरकारले लगानी गर्नेछ । जिल्लाको साँगा देखि धुलिखेलसम्मको अतिक्रमण हटाउने कार्य शुरु भईसकेको छ ।