2018 November 19/ 09:07: 49am

    धुलिखेल/गुम्बामा बहुमुल्य सामान भएको शंकामा पुजारीलाई हतियार देखाएर डाँका गर्ने समुहलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । प्रहरीको अनुसन्धानले उक्त समुहको पहिचान भएको थियो । 
    खानीखोला गाउँपालिका वडा नम्वर ७ मा रहेको छोईफेल कुन्देलिङ्ग गुम्बामा रहेको बहुमुल्य सामान लुट्न गएको समुहलाई प्रहरीले सार्वजनिक गरेको थियो । आधुनिक पेस्तोल सहित गुम्बामा ५ जना पुगेका थिए भने उक्त समुहमा ८ जना सहभागी भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । संलग्न मध्ये एक अझै फरार छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाका बारेमा जानकारी दिदै गुम्बा लुट्न पुगेको समुहलाई पक्राउ गरी हतियार सहित फेला परेपछि अनुसन्धान गरी संगठित अपराध निवारण ऐन २०७० को दफा ८ को कसुर अपराधमा मुद्दा दर्ता गरेको बताए । गुम्बामा ८४ बर्षिय तिलकबहादुर मोक्तान पुरोहितको काम गर्दै आएका थिए । २०७५ भदौ १९ गते मध्यरातको १२ बजे बा ५६ प ७०८३ र बा ६७ प ३७३३ नम्वरको मोटरासाईकलमा खानीखोला गाउँपालिका वडा नम्वर ७ का २५ बर्षीय अनिल घिसिङ्ग, खानीखोला २ का २५ बर्षिय रमेश थोकर, खानीखोला १ का ३० बर्षीय जगतबहादुर गोले र पनौती नगरपालिका ८ घर भएका २२ बर्षिय विकास बञ्जारा गुम्बामा पुगी पुरोहित तिलकबहादुरको मुख थुनी पेस्तोल छातिमा राखी पुजा गर्ने शंख, कचौरा, बुद्धको मूर्ती र नगद ३ लाख ५० हजार रुपैयाँ डाँका गरी लगेका थिए । 
    प्रहरीले उनिहरुको साथबाट उनिहरु चढेर गएको २ थान मोटरसाईकल, कचौरा, पेस्तोल र नगद २४ सय ९० रुपैया मात्रै बरामद गरेको जानकारी दिएको छ । शंख र मूर्ति अझै फेला नपरेको प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए । गुम्बामा ३ वर्ष अघि बहुमुल्य ढुंगा रहेको हल्ला चलेको थियो । स्थानीय समेत भएकाले बेथान्चोक गाउँपालिका वडा नम्वर १ बस्ने २७ बर्षका निशान गोलेले जगत गोलेलाई बताएका थिए । जगत गोलेले त्यस्तो हो भने उक्त बस्तु चोरी गर्नु पर्छ भन्दै हतियारको खोजी गरेका थिए । जगत गोलेले हतियारको ब्यवस्थापन आफु गर्ने र हतियार देखाएर तर्साउने र बुढाबाट जसरी भए पनि सामान फुत्काउनु पर्ने बताएका थिए । जगत गोलेले रमेश थोकरलाई हतियारको ब्यवस्था मिलाउन भनेका थिए । भदौ १९ गते गाउँ जान बा ५६ प ७०८३ र बा ६७ प ३७३३ नम्वरको दुईवटा मोटरसाईकल रमेश थोकर र विकास बञ्जाराले ब्यवस्था गरेका थिए । 
    रमेश थोकरलाई भक्तपुर स्थित सुर्यविनायकबाट रिसिव गरी निशान गोले, जगतबहादुर गोले, विकास बञ्जारा र रमेश थोकर गुम्बामा पुगेका थिए । रमेश थोकर जग्गाको कारोवार गर्दै आएका थिए । चाँडै धेरै पैसा कमाउने प्रलोभनमा उनिहरुले डाँका गरेको बयानमा बताएका छन् । उनिहरुको समुहले दिउँसोको चार बजे देउता खोलाको थोकरडाँडामा रहेको चिया पसलमा अनिल घिसिङ्गसँग भेट ग¥यो । सोहि योजना अनुसार रातको १२ बजे पाँचजनाको समुह उक्त गुफामा प्रवेश गरी निशान गोलेले ढोका ढकढक्याए । गुम्बाका गुरु तिलकबहादुर मोक्तानले तिमीहरु को हौ ? प्रश्न सोध्दा उनिहरु सबैले आफुलाई मिल्चेकै भएकाले बास खोज्न आएको बताएका थिए । तिलकबहादुरले कति जना छौं ? धेरैलाई त सम्भव छैन भनेपछि निशानले दुईजना मात्रै भएको बताएका थिए । तिलकबहादुरले ढोका खोलिदिए पछि माक्स लगाई नचिनिने गरी निशान गोले र विकास बञ्जारा भित्र पसी केहि कुरा गरी पुनः जगतबहादुर गोले र रमेश थोकर मुखमा माक्स लगाई भित्र केहि गरी गुम्बामा बल्ने ढुंगा रहेछ हामीलाई दिनु प¥यो भने । गुरु मोक्तानले उक्त ढुंगा गुम्बामा नभएको बताए पछि रमेश थोकरले हातमा समातेर मुखमा मफलरले थुनिदिएर विकास बञ्जाराले हात समातिरहेको अवस्थामा पेस्तोल समेत तेस्र्याई धम्क्याएका थिए । ढुंगा फेला नपरेपश्चात दराज तथा कन्तुरको चावी समेत दिएपछि पेस्तोल तेस्र्याउन छाडेर उनिहरुले गुम्बामा रहेको २ वटा झोलामा बुद्धको मूर्ति, एक कचौरा, शंख र तामाको पुरानो पैसा समेत झोलामा राखेर लगेका थिए । 
    पनौती नगरपालिका वडा नम्वर २ घर भई हाल वडा नम्वर ५ बस्ने २२ बर्षिय सुमन श्रेष्ठलाई समेत असोज ११ गते प्रहरीले पक्राउ गरेको थियो । सुमन बनेपामा रहेको टिभी पसलमा काम गर्दै आएका थिए । त्यस्तै खानीखोला गा.पा. वडा २ का ३६ बर्षीय देशबहादुर भ्लोनलाई समेत प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न राजु लामा अझै फरार छन् । पक्राउ परेकाहरुलाई ७ देखि १४ वर्षसम्म कैद र ७० हजार देखि १ लाख ४० हजारसम्म जरिवाना हुनेछ । निशान गोलेले देशबहादुर गोलेलाई घटना पछि सम्धि मिशन फेल भनेर एसएमएस गरेका थिए । 

कानपुरबासी त्रसित
    दशैंको अघिल्लो रात नमोबुद्ध नगरपालिका ५ कानपुर डुँडीचौरमा दशैको नवमीको दिन घरमा सुतिरहेको अवस्थामा ७६ बर्षिय  ज्ञानध्वज तामाङलाई ढुंगाले हानेर हत्या गरिएको छ ।  
    तामाङको हत्या पछि उनी बस्दै आएको घरमा आगो लगाईएको छ भने उनका तीनवटा ट्याङ्कामा भएका नगद लुटिएको र कागजपत्रमा समेत आगो लगाईएको छ । दशैंको समयमा बेचिएका तीनवटा खसी र जेष्ठ नागरिक सुरक्षा भत्ताको रकम बाहेक उनीसँग अरु रकम नभएको आंशका गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख एसपी रविराज खड्काका अनुसार हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । विजया दशमीको दिन विहान उनको घर हुँदै जाने ब्यक्तिले घर जलेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । २०७५ बैशाख ६ गते श्रीमतीको निधन भएपछि ज्ञानध्वज एक्लै बस्दै आएका थिए । तीन छोराहरु मध्ये जेठो गाउँमै शिक्षक छन् भने माईलो युएनमा काठमाडौमा काम गर्दै आएका छन् । बुढानिलकण्ठ स्कुलमा  अध्ययन गर्ने अवसर पाएका माईलो छोरा तिर्थ लामा पारस शाहका सहपाठी  हुन् । पारस र उनी एउटै कक्षामा अध्ययन गरेका थिए । कान्छो बैदेशिक रोजगारको क्रममा बाहिर छन् । ज्ञानध्वज छोरा बुहारी भएको स्थानमा समेत नबसी एक्लै बस्दै आएका थिए । एउटा भैसी, गाई, बाख्रा समेत पालेर दैनिक चार लिटर दुध विक्री गर्दै आएका ज्ञानध्वजको एउटा गोठ, एउटा भुकम्पले भत्काएको घर र भुकम्प पछि बनाएको टहरा थियो । 
    गोठमा गाई बस्तु बाँध्ने, भत्किएको खरको छानो भएको घरमा खाना पकाएर खाने र त्यहि घरमा जमरा सहितको पुजाआजा गर्ने गरेका ज्ञानध्वज टहरामा सुत्दै आएका थिए ।  घटनाको प्रकृति  केहि बेर ज्ञानध्वज र हत्या गर्ने ब्यक्तिहरु बीच घम्साघम्सी परेको  देखिन्छ ।  उनको ट्याङ्का  फुटाईएको छ भने ट्याङ्कामा भएका सामानहरु लुटिएका छन् । त्यहिनिर कागजपत्रमा आगलागी गरिएको छ । प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीका अनुसार ज्ञानध्वजको कञ्चटमा दुईवटा ढुंगाले बजारिएको छ । टाउकोमा गिदी निस्किएको छ । उनी घर बाहिर  घरको सुर निर ढलेका छन् । उनी ढलेको स्थाननिर उनको हातसँगै खुकुरी छ । उनले खुकुरीले प्रहार गर्ने प्रयास गरेको घटनास्थलको प्रकृतिबाट देखिन्छ । केहि महिना अघि कान्छी बुहारीको घरमा गाउँकै चिनेजानेको ब्यक्तिले लुटपाट गरेका थिए । 
    प्रहरीले तत्कालै केन्द्रिय  अनुसन्धान टोली झिकाएर कुकुर मार्फत अपराधी पत्ता लगाउने प्रयास गरेको थियो । हत्याराहरु कुन उद्देश्यले ज्ञानध्वज बसेको घरमा पुगे ? कतिको संख्यामा थिए ? ज्ञानध्वजको हत्या समेत गरेर किन घरमा र कागजमा आगो लगाए ? प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रमुख रविराज खड्काले बताए । टोली नै बनाएर अनुसन्धान शुरु गरिएको एसपी खड्काले बताए । ज्ञानध्वजको घर गाउँबाट एकान्त कसैले देख्न नसक्ने स्थानमा थियो । प्रहरीले त्यस स्थानमा सुरक्षा ब्यवस्था कडा बनाएको छ भने ब्यक्तिहरुको निगरानी र चेकजाँच तिब्र पारेको छ ।