2018 October 18/ 06:35: 37am

सादा पोशाकमा प्रहरी, ९ बजे पछि मदिरा बन्द
लक्ष्मण तिमल्सिना
धुलिखेल

    प्रशासनले जिल्लाबासीहरुको चाडपर्व तथा दैनिक जीवन सहज बनाउन शान्तिपुर्ण वातावरण बनाउन विशेष योजना तयार गरी कार्यान्वयन शुरु गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रहरी प्रमुख एसपी रविराज खड्का, नेपाली सेनाका गणपति सुवास खड्का, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख डिएस्पी हरिकृष्ण श्रेष्ठ लगायत जिल्लाको सुरक्षा समितिले समेत नागरिकहरुको सुरक्षा तथा चाडपर्वमा हुन सक्ने सम्भावित घटनाहरु रोक्ने विशेष योजना तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेका हुन् । यसको अलावा जिल्ला प्रहरी कार्यालय काभ्रेले मातहतका सबै चौकीहरु, प्रहरी जवान तथा प्रहरीका अन्य युनिटहरुले अपनाउनु पर्ने सचेतना तथा तयारीका बारेमा निर्देशन दिईसकेको प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए । 
    जिल्लाको दुई मुख्य राजमार्ग अरनिको र विपी तथा सहायक मार्गहरुमा सवारी दुर्घटना, क्षमता भन्दा बढी लोड बोक्ने उपर कारवाही, भिभिआई र भिआईपीहरुको आगमन मार्ग, मुकाम स्थल सुरक्षा, अबैध चोरी पैठारी लगायत जिल्लाका प्रमुख शहर, आर्थिक कारोवार हुने बैक वित्तिय संघ संस्था, सरकारी कार्यालयहरुको सुरक्षा, ब्यापारीक केन्द्र, बसपार्क, टिकट काउण्टर, धार्मिक मेला पर्वहरु लाग्ने स्थापन, सपिङ्ग मल तथा सुपर मार्केट जस्ता महत्वपूर्ण स्थानहरुमा हुन सक्ने चोरी लुटपाट, डकैती, तस्करी, कालोबजारी लगायत अन्य घटना हुन नदिन जिल्ला एकिकृत सुरक्षा योजना २०७५ लागु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुुर राउतले जानकारी दिए । मादक पदार्थ सेवन र लंगुरबुर्जा तथा जुवा तास नियन्त्रण, खाद्य पदार्थ तथा औषधीहरुको मुल्य बृद्धि रोक्न छड्के जाँच शुरु गरिएको छ । सवारी साधनको चेकिङ्गमा कडाई, यात्रुसँग धेरै भाडा लिने सवारी साधनलाई कारवाही, बजार अनुगमन गर्ने निर्णय गरेको छ । 
    गुण्डागर्दी गर्नेहरु विरुद्ध अप्रेसन गर्ने, दैनिक पिकेट, पैदल तथा ग्रामिण बस्तिमा पेट्रोलिङ्ग र गाडी मोवाईलका साथै सादा पोशाकमा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । आतसबाजी, पटका, भुईचम्पा जस्ता विस्फोटक पदार्थ प्रयोगमा पुर्णत रोक लगाईएको छ । जुवातास खेल्ने र खेलाउने दुबैको पहिचानका लागि प्रहरी परिचालन गरिएको छ । अबैध मदिरा उत्पादन तथा विक्री वितरण नियन्त्रण गर्न राति ९ बजे भित्र सबै पसलहरु बन्द गर्ने निर्णय गरिएको छ । 

ब्यवसायीसँग अन्र्तक्रिया
    जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयले जिल्लामा संचालनमा रहेका यातायात ब्यवसायीहरुसँग अन्र्तक्रिया गरी दशैं तथा तिहारको समयमा सवारी साधनको सहजता, दुर्घटना न्यूनिकरण, यात्रुहरुको सुविधाका लागि योजना बनाएका छन् । 
    अरनिको राजमार्ग तथा विपी राजमार्ग र आसपास हुँदै ग्रामिण भेग चल्ने काभ्रे तथा अन्य जिल्लामा जाने यात्रुहरुको सुरक्षा र सहजताका लागि यातायात ब्यवसायीहरुले नियमित भन्दा बस सेवा थप गर्नु पर्ने, यात्रु बोक्ने सवारी साधनमा सामान बोक्न नपाईने, छतमा यात्रु राख्न नपाईने, भाडा तोकिएको दर भन्दा धेरै लिन नपाईने लगायतका विषयमा ब्यवसायीहरुको ध्यानाकर्षण गराएका थिए । प्रजिअ कृष्णबहादुर राउत, प्रहरी प्रमुख एसपी रविराज खड्का, डिएस्पी दिपक गिरी, प्रहरी निरिक्षक निरञ्जन भट्टराई, निमित्त ट्राफिक प्रहरी प्रमुख सई राजेश दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले यात्रुहरुको समस्या र सहजताका बारेमा ब्यवसायीहरुको ध्यानाकर्षण गराएका थिए । 
    ब्यवसायीहरु हिमाल तराईका अध्यक्ष आत्मराम थापा, अरनिको यातायात सेवा समितिका अध्यक्ष श्यामबहादुर लामा, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, हेलम्बु यातायात सेवा समितिका कार्यालय प्रमुख मिलन श्रेष्ठ, काभ्रे बसका राजन भालु, बाग्मती ट्रिपरका कार्यालय प्रमुख प्रकाश कायश्थ, यातायात समितिका मजदुरहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । समितिहरुले अग्रिम टिकट बुकिङ्ग गरिसकेको, बस सेवा नियमित भन्दा धेरै सचालन गर्ने योजना बनाएको बताउँदै यात्रुहरुको सहजताका लागि विशेष योजना कार्यान्वयन गर्ने बताए । ग्रामिण भेगमा धेरै बस सेवा आवश्यक भए पनि सडकका कारण सबै बसहरु संचालनमा कठिनाई हुने बताए । अरनिको बसले ६ सय बस संचालन गर्ने भएको छ भने हिमाल तराईले ओखलढुंगासम्म सयौ बसहरु संचालन गर्ने बताएको छ । काभ्रे मिनिबस सेवा समिति, काभ्रे बस लगायतका छोटो दुरीका बसहरुले भने नियमित सेवामा थप गर्ने बताएका थिए । 
    यात्रुहरुको सुरक्षा र सहजताका लागि प्रहरीले २४ सै घण्टा सुरक्षा प्रदान गर्ने, २४ गते देखि ३१ गतेसम्म रुट परमिट अनिवार्य नहुने, तोकिएको भन्दा धेरै यात्रु बोक्न नपाईने लगायतका विषयमा प्रहरीले ब्यवसायीहरुलाई जानकारी गराएका थिए /