2021 March 05/ 10:44: 44pm

धुलिखेल जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा
लक्ष्मण तिमल्सिना
धुलिखेल

    बालमैत्री नगरका रुपमा धुलिखेल पहिलो भएको छ । जिल्लाकै पहिलो बालमैत्री नगरका रुपमा धुलिखेल नगरपालिकालाई बुधबार घोषणा गरिएको हो । बालमैत्री सम्बन्धी ३९ वटा सुचकहरु पूरा गरेपछि बालमैत्री नगर घोषणा भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले धुलिखेल नगरपालिकाको ३५ औं स्थापना दिवसको अवसरमा धुलिखेललाई बालमैत्री नगर घोषणा गर्नु भएको हो । 
    धुलिखेल नगरपालिकाले वडा नम्वर १० लाई पहिलो वडाका रुपमा बालमैत्री घोषणा गरेको थियो । तत्कालिन महिला तथा बालबालिका मन्त्री थममाया थापा मगरले जिल्लाको दोश्रो बालमैत्री वडाका रुपमा  वडा नम्वर १० शारदा बतासेलाई घोषणा गर्नु भएको थियो । वडा नम्बर ३, ४, ५, ६ र ७ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन ५ गते बालमैत्री वडा घोषणा गर्नु भएको थियो । सोहि कार्यक्रममा नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सन् २०२१ भित्रै धुलिखेललाई बालमैत्री नगर घोषणा गरिसक्ने प्रतिबद्धता गर्नु भएको थियो । सोहि प्रतिबद्धता अनुसार २०२१ भित्रै बालमैत्री नगर घोषणाका लागि सुचकांकहरु तयार गरिएको थियो । नगरपालिकाको स्थापना दिवसको अवसर पारी धुलिखेललाई बालमैत्री नगर घोषणा गरिएको हो । 
    बालमैत्री नगर घोषणाका लागि नगरपालिकाको पहिलो नगर सभाबाट १ करोड रकम विनियोजन गरेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो । ‘समाजको विकासको लागि त्यस क्षेत्रका बालबालिकाहरुको चौतर्फी विकास हुन जरुरी छ, जब बालबालिकाहरुको विकासमा हामी लगानी गर्छाँै त्यसको गुणात्मक प्रतिफल प्राप्त गर्दछौँ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘हामीलाई विश्वास छ जहिलेसम्म बालबालिकाहरुलाई अनुशासित र सक्षम बनाउन सक्दैनौं त्यसबेलासम्म हामी हाम्रो नगरको विकासको परिकल्पना गर्न सक्दैनांै । यही कुरालाई मध्यनजर गरी बालमैत्री स्थानीय शासनलाई अबलम्वन गरी सोही बमोजिमका विभिन्न कृयाकलापहरु सञ्चालन गरी बालमैत्री नगर घोषणा गर्न सकेका हौं ।’ 
    नेपाल सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ तथा कार्यान्वयन कार्यविधि, २०६८ जारी गरी बालमैत्री स्थानीय शासन प्रणाली प्रबद्र्धन गरिरहेको छ । यसले स्थानीय निकायहरुले अबलम्वन गर्ने योजना तर्जुमा, बालबालिकासँग सम्बन्धीत नीति निर्माण, र निर्णय प्रक्रियामा बालबालिका तथा बालबालिकासँग सरोकार राख्ने संघ संस्थाहरुको सहभागिता र भूमिका सुनिश्चित गरी बालमैत्री लगानी प्रणाली स्थापित गर्ने लक्ष्य लिएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ को दफा २१ मा तोकिएका ३९ वटा न्यूनतम् सूचकहरु प्राप्त गर्ने स्थानीय तहले आपूmलाई बालमैत्री स्थानीय सरकार घोषणा गर्न सक्ने अधिकार प्रदान गरेको छ । 
    बालमैत्री स्थानीय शासन बालअधिकार सम्बन्धी समग्र पक्षको प्रबद्र्धन गरी स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारण हो । बालमैत्री स्थानीय शासनलाई सवै वडाहरुमा अवलम्बन गरी प्रत्येक वडाहरुमा बालमैत्री पार्क निर्माण, एकघर एकधाराको अभियान, प्रारम्भिक बालविकास केन्द्रको सुधार, प्रत्येक बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालय भर्ना अभियान, विद्यालय व्यवस्थापन समिति र स्वास्थ्य ब्यवस्थापन समितिमा बाल क्लबका प्रतिनिधिको अनिवार्य प्रतिनिधित्व हुने कानुनी व्यवस्था, जन्मदर्ताको अभियान, विद्यालयमा छात्र र छात्राहरुको लागि अलग अलग शौचालय निर्माण, बालश्रम न्यूनीकरण, बालविवाह निषेध लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका थिए । 
    बालबालिकाहरुको हेरचाह तथा अनाथ बालबालिकाको सहयोगका लागि ३९ लाख बाराबरको रकमबाट १२ वटै वडामा बाल कोष स्थापना गर्नुका साथै बालमैत्री घोषणा गर्ने वडाहरुलाई पुरस्कार स्वरुप प्रति वडा ५ लाखका दरले पुरस्कार वितरण गरेको छ । बालमैत्री स्थानीय शासनले तोकेका ३९ वटा सूचकहरुलाई स्थानीयकरण गर्नुका साथै सूचकहरुको अन्तिम मान्यता दिई बालमैत्री पार्क, पोषण सुधार लगायतका स्थानीय सूचकहरुलाई थप गरी नगर कार्यपालिकाबाट सबै वडाहरुमा प्रभावकारी कार्यान्वयन गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । बालमैत्री नगर घोषणाका लागि नगरपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी तथा नगरमा स्थापना भएका ५५ वटा बाल क्लब, नगर तथा १२ वटै वडाहरुमा रहेका वडा बाल सञ्जाल, नगरस्तरीय बालमैत्री स्थानीय शासन समिति, वडा समन्वय समिति र बाल संरक्षण तथा सम्बद्र्वन उप–समितिको सकृयता रहेको सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले जानकारी दिनु भयो । 
    फागुन ५ गते वडा नम्बर १, २, ८, ९, ११ र १२ लाई बालमैत्री वडा घोषण गरी समग्र नगरपालिकालाई नै बालमैत्री नगर घोषणा गरिएको हो । प्रत्येक वडा तथा नगरको प्रोफाईल, बालबालिकाको स्थिति पत्र, बालवालिकाहरुको लगानी योजना, रणनीतिक योजना, वडा तथा नगरपालिकाको घोषणा पूर्वको सूचक मापनका साथै सूचकहरुको अन्तिम मापन समेत सम्पन्न गरे पश्चात् बालमैत्री वडा तथा नगर घोषणाका लागि जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोक र बागमती प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत अनुगमन गरिएको थियो । जिल्ला समन्वय समितिबाट अनुगमन सम्पन्न भए पश्चात बालमैत्री स्थानीय शासन नगर घोषणा गरिएको हो । जिल्लाको पनौती नगरपालिका वडा नम्वर १२ पहिलो बालमैत्री वडा घोषणा भएको थियो । त्यससँगै पनौतीका अन्य वडाहरु बालमैत्री घोषणा भएका थिए ।