2021 January 21/ 10:06: 46am

    धुलिखेल/साहसिक खेलको एउटा विधा मोटर अटोस्पोर्ट्स नेपालमा व्यावसायिक सञ्चालन र मूलधारको खेलका रूपमा स्थापित हुन प्रयासरत रहेको बेला धुलिखेलमा त्यसको ब्यवसायीक शुरुवात गरिएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुुले ब्यवसायीक रुपमा साहसिक खेलको धुलिखेलमा उद्घाटन गर्नु भएको छ । 
    महँगो खेल भएका कारण सरकारी र निजी क्षेत्रले यो खेलमा लगानीको जोखिम उठाउन सकेका थिएनन् । टेलिभिजन फर्मुला वान, टू लगायतका प्रतियोगिता हेरेर यस खेलमा आकर्षित भएका केही खेलाडीलाई समेट्ने गरी नेपाल अटोमोबाइल्स संघ (नासा) ले पहिलोपल्ट मोटर स्पोर्ट्सको सर्किट निर्माण गरेको छ । खेल विधाको सोख भएकाका लागि कम्तिमा मैदान तयार भएको सहभागिहरुले बताएका छन् । 
    हिमालयन मोटरल्यान्डले वर्षमा ६ वटा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने घोषणा गरेको छ । स्थानीय र प्रदेशस्तरको छनोट प्रतियोगिता गरी राष्ट्रिय स्तरको प्रतियोगिता गरिने अध्यक्ष अनिल बरालले बताउनु भयो । रेसमान्डु, क्रसमान्डु, युथ कार्ट च्याम्पियनसिप, राष्ट्रिय कार्ट च्याम्पियनसिप, राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप लगायतका प्रतियोगिताहरू यो वर्ष आयोजना गरिने छ । ‘हामीले यो खेल खेलेर अन्तर्राष्ट्रिय रूपमा स्थापित हुन सक्छौं भन्ने आत्मविश्वास युवामा जगाउने कामको सुरुआत गरेका हौं । अब यो खेलको व्यवसायिक स्वरुप देखिने छ । मोटरस्पोर्ट्सबाट कोही पनि वञ्चित नहोउन् र सबैको सहभागिता निश्चित होस् भनेर एकेडेमी नै सञ्चालन गरी यसको विकासको योजना बनेको छ’– अध्यक्ष बरालले भन्नुभयो । रेसकोर्सको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जुले गर्नु भएको थियो । प्रदेश तहमा पनि मोटरस्पोर्ट्सको पूर्वाधार विस्तार गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । ‘धुलिखेल पर्यटकीय क्षेत्र त हुँदै हो, त्यसमाथि साहसिक खेलकुदको मुख्य पूर्वाधार बनाउन तपाईंहरूले यो ठाउँ रोजिदिनु भएकोमा धन्यबाद दिन्छु’–नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका ब्याञ्जुले भन्नुभयो – ‘यो खेलको पूर्वाधार अरू छ वटै प्रदेशमा विस्तार गर्न योजना बनाउनुस् म सहयोग गर्छ ।’ ‘नगरपालिकाहरूसँग सहकार्य गरेर मोटरस्पोर्ट्सलाई देशभर पु¥याउन म मेरो तर्फबाट प्रतिबद्धता जनाउँछु’–उहाँले भन्नुभयो । 
    धुलिखेल बजारदेखि करिब १ किलोमिटर पश्चिममा बिपी राजमार्गको छेवैमा ३५ रोपनीभन्दा बढी क्षेत्रमा सर्किट निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी निर्माण गरिएको नेपालकै पहिलो रेस सर्किट हो । फेडेरेसन इन्टरनेसनल डेल अटोमोबाइल्स (एफआईए) को ग्रासरुट मोटरस्पोर्ट्स र क्लब डेभलपमेन्ट कार्यक्रमको आर्थिक सहयोगमा निर्माण भएको यो रेसकोर्सले नेपाली अटो र मोटर स्पोर्ट्सको व्यवसायिकीकरण गर्न कोसेढुंगाको भूमिका खेल्ने विश्वास नेपाल अटोमोबाइल्स संघले लिएको छ ।
    साहसिक तथा पर्वतीय खेलहरूको संगठन नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले खेल र पर्यटनलाई एकैसाथ माथि उठाउन र मोटरस्पोर्ट्समा अन्तर्राष्ट्रिय सफलताका लागि यो सर्किट सफल हुने विश्वास व्यक्त गर्नु भयो । ‘साहसिक र पर्यटकीय खेलकुदलाई मुख्य खेल विधाका रूपमा स्थापित गर्न र अन्तर्राष्ट्रिय सफलता सहितको विकास गर्ने दिन अब धेरै टाढा छैन’– नासाका पूर्व महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य समेत रहेका भट्टराईले भने–‘नेपाली खेलमा अबको पहिचान साहसिक खेलकुद हो । त्यस मध्ये मोटरस्पोर्ट्स मुख्य विधाका रूपमा स्थापित हुने प्रक्रियामा छ ।’ यो सर्किट ३ करोडभन्दा बढीको लगानीमा ४ वर्ष लगाएर निर्माण गरिएको हो । त्यसमध्ये एफआईएले ६० प्रतिशतभन्दा बढी सहयोग गरेको छ । त्यसबाहेक नासाका पदाधिकारी र अन्य शुभचिन्तकबाट संकलन गरिएको रकमबाट निर्माण सम्पन्न भएको हो । एसियाली स्तरमै अटोमोबाइल्स संघले निर्माण गरी सञ्चालनमा ल्याएको यो पहिलो रेस सर्किट हो । सर्किटमा ३ सय मिटर पिच गरिएको छ । त्यहाँ अटो जिमखाना, ड्रिफ्टिङ, मोटो जिमखाना, कार्टिङ र स्लालोम कार्टिङलगायतका इभेन्ट सञ्चालन गर्न सकिनेछ । १ हजार मिटरको अफरोड सर्किटमा मोटरक्रस, अटोक्रस, ¥यालीक्रस र अफरोड रेसिङका इभेन्ट गर्न मिल्नेछ । 
    सर्किटको सम्पूर्ण व्यवस्थापनको जिम्मा अल्टिमेट हिमालयन मोटरल्यान्डले लिएको छ । नासाका सचिव अनिलकुमार बराल अल्टिमेट हिमालयनका अध्यक्ष हुन । उहाँका अनुसार आफू खेलाडी हुँदा भोग्नुपरेको समस्या निराकरण गर्न व्यावसायिक सर्किट निर्माण गरिएको हो । ‘हाम्रो मुख्य उद्देश्य भनेकै नेपाली खेलाडीको उत्पादन र व्यावसायिकीकरण नै हो । यो खेल महँगो छ र सबैको पहुँचमा पनि छैन’– अध्यक्ष बरालले भन्नुभयो– ‘हाम्रोमा व्यावसायिक रेसकोर्स नभएको अवस्थामा यसले आधारभूत पूर्वाधारको आवश्यकतालाई निराकरण गर्नेछ ।’ कार्यक्रममा स्वागत मन्तब्य धुलिखेल रेस ट्रयाकका प्रबन्ध निर्देशक दिप्रश शाक्यले राख्नु भएको थियो । नगर प्रमुख ब्याञ्जुले मोटर ल्याण्ड धुलिखेलको शान रहेको बताउनु भयो । सोहि अवसरमा अन्तराष्ट्रिय खेलाडी रोनी भारतीले अटो जिमखाना प्रर्दशन गरेका थिए भने अध्यक्ष बराल र उनको टिमले कार्टस् डेमोस्ट्रेशन गरेका थिए ।