2021 January 21/ 10:34: 37am

    बनेपा/नेकपा काभ्रे जिल्ला कमिटीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा जिल्ला कमिटी पुर्नगठन कार्यक्रम पौष २५ गते शनिबार बनेपामा हुने भएको छ । अगुवा कार्यकर्ता भेलाको तयारी सम्पन्न भएको नेताहरुले बताएका छन् । 
    यसअघि जिल्ला कमिटीको पूर्ण बैठकले नेकपा काभ्रेको अध्यक्ष पदमा अशोक ब्याञ्जु र सचिव पदमा नारायण पाण्डेलाई चयन गर्दै पूर्व संयोजक रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई कारवाही गरी पद मुक्त गरेको थियो । अगुवा कार्यकर्ता भेलालाई मन्त्री एवं नेकपा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सोहि दिन अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै जिल्ला कमिटी पुर्नगठनको घोषणा हुने अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । जिल्ला कमिटीको बैठक पछि धुलिखेलमा पूर्वी जिल्ला स्तरीय केन्द्रिय सदस्यहरुको बैठक पनि धुलिखेलमा सम्पन्न भएको छ । जिल्ला इन्चार्ज एवं पूर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रिय सदस्यहरु लगायतले जिल्ला कमिटीको कृयाशीलतासँगै कमिटीहरुको पुर्नगठन गर्ने अभियानलाई अगाडी बढाउने निर्णय गरेका थिए । 
    भेलासँगै संघीय र प्रदेश स्तरीय निर्वाचन क्षेत्रिय कमिटीको पुर्नगठन हुनेछ । अध्यक्ष र सचिव सहित सदस्यहरुको घोषणासँगै १३ वटै पालिकामा कमिटीहरु गठन हुनेछन् । सोहि अभियानका लागि २ हजार ५ सय भन्दा धेरै नेता कार्यकर्ताहरुको सूची तय भएको छ । जनवर्गीय संगठनहरुको पुर्नगठन, भेला तथा प्रशिक्षण कार्यक्रम पनि सँगसँगै हुने सचिव नारायण पाण्डेले जानकारी दिनुभयो । बनेपामा हुने उक्त अगुवा स्तरको कार्यकर्ता भेलामा जिल्लाका सबै तहका कार्यकर्ताहरुको सहभागिता रहनेछ । उक्त भेलाले निर्वाचनको तयारी तथा अगामी निर्वाचनमा सबै पदहरुमा नेकपा विजयीको तयारी घोषणा गर्नेछ । 
    ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियानलाई सार्थक बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवरोध गर्ने पार्टी भित्रकै नेताहरुलाई समेत पार्टी अध्यक्ष समेत रहेका ओलीले मुलुक र जनतालाई धोका नदिई निर्वाचनमा सहभागी हुन आब्हान गर्नु भएको छ । पौष २५ गतेको भेलाको पूर्व तयारी स्वरुप बनेपा, धुलिखेल, पनौती तथा विभिन्न पालिकाहरुमा भेला भईरहेको छ । अघिल्लो साता पत्रकारहरुको भेला सम्पन्न भएको छ । 

‘धोकेबाज प्रचण्ड’– पोखरेल
    नेकपा नेता एवं उपप्रधान मन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहालले एकता गरिरहँदा नै छलछाम र षड्यन्त्रको तानाबुना शुरु गरेको बताउनु भएको छ । ‘निर्वाचनताका साझा उम्मेदवार, साझा घोषणा पत्र र साझा निर्वाचन चिन्ह बनाएर जाने निर्णयको मसी नसुक्दै प्रचण्डले चुनाव चिन्ह एउटै हुँदैन भन्नुभयो’–उप–प्रधानमन्त्री ईश्वर पोखरेलले बताउनु भयो । 
    नेकपा ओली समुहको पूर्वी बागमती जिल्लाका केन्द्रिय सदस्यहरुको धुलिखेलमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले पार्टी एकीकरण प्रस्तावमा हामी खुशी हुँदा प्रचण्डले शुरुमै दाँतमा ढुंगा लगाएको बताउनु भयो । ‘चुनाव चिन्हको गडबढीका कारण १० लाख मत बदर भयो’–नेता पोखरेलले भन्नुभयो–‘निर्वाचन अगावै एकता भाड्न लाग्नु भएका प्रचण्डले २०७४ फागुन ३ गते सरकार गठनमा अवरोध गरेर दोश्रो पटक एकतामा आँच पु¥याउनु भयो ।’ निर्वाचनमा साझा उम्मेदवार, घोषणा पत्र र उम्मेदवार उठाएर अघि बढेको पार्टी काँग्रेस, मधेशवादी दल र अन्य साना पार्टीसँग मिलेर ५ वर्ष प्रधानमन्त्री बन्ने योजनाका साथ प्रचण्डजीले सम्झौता गर्नु भएको नेता पोखरेलले बताउनु भयो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डजीको धुत्र्याई थाहा पाएर एकताका लागि २०७४ फागुन ७ गते गठबन्धन टुट्नु हुँदैन भनेर सम्झौता गरेको उहाँले बताउनु भयो । 
    भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले जनताको चाहना, कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा थुप्रै असहमतिका बाबजुत पनि पार्टी एकिकरण गरेको बताउनु भयो । ‘संकटको बीचमा पनि आशावादी छांै’–नेता पोखरेलले भन्नुभयो–‘आशावादी भएरै बस्तुस्थितिको वास्तविकताका आधारमा ठिक ढंगले योजना बनाउन बागमती प्रदेशका पूर्वी जिल्लाका नेताहरुको भेला धुलिखेलमा राखिएको हो ।’ काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लाबाट केन्द्रिय सदस्यमा प्रतिनिधित्व गर्ने नेताहरुका साथै संघ र प्रदेश सरकारमा मन्त्री भएका नेताहरु भेलामा सहभागी छन् । नेता आनन्द पोखरेलको अध्यक्षतामा बसेको भेलामा बागमती प्रदेशका पाँचवटा जिल्लाको अवस्था, नेता तथा कार्यकर्ताहरुको संलग्नता र आगामी दिनको रणनीतिका बारेमा कार्ययोजना तयार गरिएको छ । 
    पूर्वमन्त्री एवं केन्द्रिय सदस्य गोकुल बास्कोटाको संचालनमा सम्पन्न भएको भेलामा केन्द्रिय सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल, मन्त्रीहरु पार्वत गुरुङ्ग, दावा तामाङ, बागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुंङ्गेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । 

पत्रकारहरुको भेला
    नेकपा निकट पत्रकारहरुको भेला धुलिखेलमा सम्पन्न भएको छ । पूर्व प्रेस चौतारी निकट पत्रकारहरु प्रेस संगठनका नाममा भेला भएका थिए । अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न भेलालाई केन्द्रिय सदस्य एवं गोकुल बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डेले निर्देशन दिनु भएको थियो । 
    केन्द्रिय सदस्य गोकुल बास्कोटाले पदमा सिद्धान्त साट्नेहरु, घुक्र्याएर पद लिनेहरुलाई कार्यकर्ताले हिसाब गर्ने बताउनु भयो । १५ वर्षसम्म माधव नेपाललाई पार्टी महासचिवमा सहयोग गर्ने ओलीलाई माधव नेपालले ५ दिन पनि सहयोग नगरेको बास्कोटाले बताउनु भयो । ‘माधव नेपाल नक्कली जबजबादी हुन्’–नेता बास्कोटाले भन्नुभयो–‘माधव नेपालको मनमा मदन भण्डारीका बारेमा मैलो छ ।’ नेता बास्कोटाले पार्टीको विधान विपरीत पुष्पकमल दाहाल र माधव नेपालले कार्य गरेको बताउनु भयो । पूर्व एमाले निकट सबै पत्रकारहरु केपी ओलीले नेतृत्व गरेको नेकपाकै पक्षमा रहेको घोषणा गरेका थिए ।