2021 January 21/ 10:19: 04am

नगद १ लाख ६४ हजार प्रदान
    धुलिखेल/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट ईकाईले १५ आंै जेष्ठ मजदुर सम्मान तथा क्यान्सर पीडित मजदुरलाई नगद १ लाख ६४ हजार सहित सम्मान गरेको छ । 
    नेपाल ट्रेड युनियन महासंघका निर्वतमान उपाध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला समन्वय प्रमुख उद्धव केसीले नगद, दोसल्ला सहित सम्मान गर्नु भएको थियो । संगठनमा आबद्ध जेष्ठ मजदुर बनेपा निवासी विश्वराम कायस्थलाई सम्मान गरिएको थियो । कायस्थले २०५४ साल देखि निरन्तर बस चलाउँदै आएका थिए । कायस्थ केहि महिना अगाडी देखी क्यान्सर भएर उपचार गराईरहेका छन् । नेपालमा मजदुर संगठनबाट यति ठुलो धनराशी सहितको मजदुर सम्मान धुलिखेलमा मात्रै हो । हरेक वर्ष जेष्ठ मजदुरहरुलाई सम्मान गरिँदै आएको अध्यक्ष अर्जुन लामाले बताउनु भयो । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी केसीले जिम्मेवार मजदुर बन्ने अभियान कार्यान्वयनका लागि सुझाव दिनुभयो । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदिनँ, सवारी चलाउँदा मोबाईल फोन प्रयोग गर्दिनँ, महिला, बालबालिका, अशक्त र बृद्धबृद्धाहरुलाई सम्मान गर्छु, त्रिब गतिमा सवारी चलाउँदिन, बालश्रम प्रयोग गर्दिनँ, तोकिए भन्दा बढी भाडा लिन्नँ, सबैसँग सभ्य भाषा प्रयोग गर्छु र ट्राफिक नियमको पालना गर्छु भन्ने अभियानलाई कार्यान्वयन गर्ने मजदुरहरुलाई केसीले अनुरोध गर्नु भएको थियो । केसीले मजदुरहरुले संगठनलाई माया गरे पछि संगठनले मजदुरलाई आपत्को समयमा सहयोग गर्ने बताउनु भयो । 
कार्यक्रममा मजदुरहरुका बालबालिकाहरुलाई शिक्षा, मजदुरलाई ट्राफिक शिक्षा लयातका कार्यक्रमहरु शुरु गरिएको अध्यक्ष लामाले बताउनु भयो ।  लामाले संगठनमा हाल २ सय बस र ५ सय मजदुर आबद्ध रहेको बताउनु भयो । संगठनले क्यान्सर पीडित मजदुर विश्वराम कायस्थलाई जेष्ठ सदस्य सम्मान १ लाख ५ हजार, ५० हजार औषधि उपचार र ९ हजार राहत गरी १ लाख ६४ हजार हस्तान्तरण गरेको बताउनु भयो । 
कार्यक्रममा काभ्रे बस प्रालिका उपाध्यक्ष बालभक्त प्रधान, सगंठनका प्रमुख सल्लाहकार भिमसेन लामा, सचिव होम बहादुर श्रेष्ठ, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।