2024 April 26/ 01:04: 54am

    धुलिखेल/प्रहरीको सक्रियताका कारण विप्लब समुहका गतिविधि निश्क्रिय भएका छन् । लुटपाट तथा चन्दा आतंकमा विप्लब समुहका कार्यकर्ताहरुको संलग्नता देखिन थाले पछि प्रहरीले जनप्रतिनिधि तथा स्थानीय सरकारको सहयोगमा विप्लब समुहका गतिविधि निश्क्रिय बनाउन शुरु गरेको हो । 
    केहि समय अघि लकडाउनकै अवधीमा प्रहरीले रोशी गाउँपालिकामा लुटपाट गरिएको बोधिचित्तको घटनामा संलग्न भएका केहि युवाहरुलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । सोहि घटनामा संलग्न भनिएका मुख्य नाईकेहरु अझै फmरार सूचीमा छन् । प्रहरीको निगरानी बढ्दा २०७७ साउन २२ गते रोशी ७ कटुञ्जेबेशीबाट साविक सिसाखानी गाबिस वडा ५ घर भई भक्तपुर सुर्यबिनायक लक्ष्मीमार्गमा बस्दै आएका ३३ बर्षिय प्रेम लामा भन्ने प्रशान्त कुमार मोक्तान पक्राउ परेका थिए । प्रहरीले उनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसूर शिर्षकमा मुद्दा दर्ता गरी कारवाही गरेको थियो । त्यस्तै विप्लव समुहमा आवद्ध भई प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरु समेतलाई फोन समेतबाट धाकधम्की दिई चन्दा माग गर्ने गरे धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौर एक्लेखेत घर भएका ५४ बर्षिय मधुसुधन बजगाईलाई कार्तिक २६ गते प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ । विप्लब समुहका जिल्ला कमिटी सदस्य समेत रहेका बजगाईलाई अभद्र ब्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएको छ । डिएस्पी कुमार विक्रम थापाका अनुसार प्रहरीले गोप्य सूचनाका आधारमा बजगाईलाई पक्राउ गरेको हो । 
    एसपी रवि पौडेलले विप्लब समुह लगायत अन्य कुनै ब्यक्ति तथा समुहको अराजक गतिविधि हुन नदिन प्रहरीको सक्रियता बढाईएको छ । सोहि अभियान अन्र्तगत विभिन्न मितिमा विभिन्न स्थानबाट प्रहरी युनिटहरुले विप्लब समुह तथा अन्य अपराधीक कृयाकलापमा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको छ । काभ्रेपलाञ्चोक जिल्लाले विव्लब समुहका केन्द्रिय तह देखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरी अनुसन्धान गरिसकेको छ ।